images
images
  • रास्वपा महाधिवेशनको चर्को शुल्कले घाँटी ऐठ्याएपछि उम्मेदवार र प्रतिनिधि रवि–बालेनप्रति आक्रोशित

    भरतपुर– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पहिलो महाधिवेशनमा उम्मेदवारी शुल्क र प्रस्तावक–समर्थक सम्बन्धी नियमलाई लिएर महाधिवेशन प्रतिनिधिहरूले असन्तुष्टि जनाएका छन् ।

    निर्वाचन आयोगले सभापति पदका लागि ५१ हजार रुपैयाँ तथा पदाधिकारी र केन्द्रीय सदस्यका लागि २१ हजार रुपैयाँ उम्मेदवारी शुल्क तोकेको छ ।

    प्रतिनिधिहरूले यस्तो शुल्कले आकांक्षीहरूलाई उम्मेदवारी दिन हतोत्साहित गर्ने बताएका छन् ।

    त्यस्तै, कुनै उम्मेदवारका प्रस्तावक र समर्थक स्वयं उम्मेदवार बन्न नपाउने व्यवस्थाप्रति पनि असन्तुष्टि देखिएको छ ।

    केन्द्रीय सदस्यका लागि एक प्रस्तावक र २१ समर्थक आवश्यक पर्ने भएकाले एक उम्मेदवारका लागि २२ जना प्रतिनिधिको उम्मेदवारी स्वतः रोकिने अवस्था रहेको प्रतिनिधिहरूको भनाइ छ ।

    रास्वपाका निर्वाचन आयोग उपप्रमुख राम गुरुङले भने पार्टीले बाह्य चन्दा नलिने भएकाले सदस्यहरूको सामूहिक लगानी र अपनत्व बढाउन यस्तो शुल्क तथा व्यवस्था गरिएको बताएका छन् ।

    महाधिवेशनमा ४३ सयभन्दा बढी प्रतिनिधि सहभागी भएका छन् भने झन्डै एक हजार जना केन्द्रीय सदस्यका आकांक्षी रहेको बताइएको छ ।

    निर्वाचनसम्बन्धी नयाँ व्यवस्थाले उम्मेदवार संख्या व्यवस्थापन गर्न सहयोग पुग्ने पार्टी नेतृत्वको अपेक्षा छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images