images
images
  • होर्मुज इरानको पूर्ण नियन्त्रणमा रहन्छ : संसद् अध्यक्ष बाघेर

    काठमाडौं– अमेरिका–इरान युद्ध अन्त्य गर्ने उद्देश्यले स्विट्जरल्यान्डमा सम्पन्न वार्तापछि इरानले रणनीतिक रूपमा अत्यन्त महत्त्वपूर्ण मानिने होर्मुज जलघाँटी आफ्नो प्रशासनिक नियन्त्रणमा रहने घोषणा गरेको छ ।

    इरानका प्रमुख वार्ताकार तथा संसद् अध्यक्ष मोहम्मद बाघेर घालीबाफले युद्धअघि जस्तो अवस्था अब कहिल्यै नफर्कने र अन्तर्राष्ट्रिय कानूनअनुसार होर्मुज इरानद्वारा नै प्रशासित हुने बताए ।

    स्विट्जरल्यान्डको बर्गनस्टक रिसोर्टमा अमेरिका र इरानबीच भएको वार्तापछि तेहरान फर्किएका घालीबाफले वार्ताबाट सकारात्मक उपलब्धि हासिल भएको दाबी गरे ।

    उनले होर्मुज जलघाँटी, लेबनानको अवस्था, इरानी तेलमा दिइने छुट तथा रोक्का गरिएका सम्पत्ति फुकुवाका विषयमा महत्त्वपूर्ण प्रगति भएको बताए ।

    इरान र संयुक्त राज्य अमेरिका सोमबार होर्मुज जलघाँटी खुला राख्ने, समुद्री मार्गको सुरक्षा सुनिश्चित गर्ने तथा लेबनानमा जारी द्वन्द्व अन्त्यका लागि सञ्चार संयन्त्र स्थापना गर्न सहमत भएका थिए ।

    मध्यस्थकर्ताहरूका अनुसार मध्यपूर्वमा फैलिएको तनाव कम गर्न दुवै पक्षबीच प्रत्यक्ष सम्पर्कको व्यवस्था गर्ने समझदारी पनि भएको छ ।

    घालीबाफले भिडियो सन्देशमार्फत आफूहरू अझै प्रक्रियाको प्रारम्भिक चरणमै रहेको उल्लेख गर्दै कूटनीतिक प्रयास निरन्तर जारी रहने बताए ।

    उनका अनुसार यो यात्रा विशेषगरी जलघाँटीको व्यवस्थापन, लेबनानको अवस्था, तेल कारोबार र आर्थिक विषयमा उपयोगी साबित भएको छ ।

    वार्तापछि अमेरिकी उपराष्ट्रपति जेडी भान्सले इरानले संयुक्त राष्ट्रसङ्घका आणविक निरीक्षकहरूलाई पुनः देशभित्र काम गर्न अनुमति दिने जानकारी दिएका थिए ।

    त्यसलगत्तै अमेरिकाले इरानी तेलमाथि लगाइएका केही प्रतिबन्ध अस्थायी रूपमा निलम्बन गरेको जनाइएको छ ।

    सम्झौताअनुसार तेहरानले प्रतिबन्धमा आंशिक राहत पाउने तथा विदेशमा रोक्का गरिएका सम्पत्तिहरू फुकुवा हुने अपेक्षा गरेको छ ।

    इरानी सरकारी सञ्चारमाध्यमका अनुसार घालीबाफले वार्तापछि ओमानमा पनि भ्रमण गरेका थिए ।

    ओमान होर्मुज जलघाँटीसँग जोडिएको मुलुक हो ।

    युद्धको सुरुआती चरणमा इरानले बन्द गरेको होर्मुज जलमार्ग अमेरिका र इरानबीचको सहमतिपछि गत साता पुनः सञ्चालनमा आएको थियो ।

    तर, लेबनानमा भएको इजरायली आक्रमणको प्रतिक्रियास्वरूप तेहरानले शनिबार फेरि जलघाँटी बन्द गर्ने घोषणा गरेको थियो ।

    कतार र पाकिस्तानका मध्यस्थकर्ताहरूका अनुसार त्यसयता तेहरान र वासिङ्टनले व्यापारिक जहाजहरूको सुरक्षित आवागमन सुनिश्चित गर्न, सम्भावित घटना रोक्न र गलत बुझाइबाट उत्पन्न हुन सक्ने तनाव कम गर्न प्रत्यक्ष सञ्चार संयन्त्र स्थापना गर्ने सहमति गरेका छन् ।

    समुद्री यातायात निगरानी गर्ने संस्थाहरूका अनुसार अमेरिका र इरानबीच युद्ध अन्त्यसम्बन्धी सहमति नजिकिँदै जाँदा सोमबार हर्मुज जलघाँटीमा जहाजहरूको आवागमन फेरि तीव्र गतिमा बढ्न थालेको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images