काठमाडौं– युक्रेनले सोमबार रुसी आक्रमणविरुद्ध बेलायतका प्रधानमन्त्री केइर स्टार्मरको समर्थनको प्रशंसा गरेको छ ।
प्रधानमन्त्री स्टार्मरले पदबाट राजिनामा दिने घोषणा सोमबार गरेका छन् ।
उता रूसले भने प्रधानमन्त्री स्टार्मरको राजीनामाको घोषणालाई उल्लेख गर्दै उनको स्थानमा जोसुकै आए पनि कुनै परिवर्तन नहुने बताएको छ ।
रुसले सन् २०२२ को फेब्रुअरीमा आक्रमण गरेपछि लन्डन युक्रेनको सबैभन्दा दृढ समर्थकमध्ये एक रहँदै आएको छ ।
त्यसयता बेलायतका चार जना प्रधानमन्त्रीले हतियार र आर्थिक सहयोग उपलब्ध गराएका छन् ।
“हाम्रो सहकार्य र तपाईंको समर्थन र संयुक्त निर्णयहरूका लागि प्रधानमन्त्री स्टार्मरलाई धन्यवाद । यसले हाम्रो युरोप र जीवनको रक्षालाई बलियो बनाउन मद्दत गरेको छ,” युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले एक्समा लेखेका छन् ।
क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले दैनिक ब्रिफिङमा स्टार्मरको रेकर्डको आलोचना गर्दै भने, “डाउनिङ स्ट्रिटको नेतृत्व जोसुकैले लिएपनि रूसको हेराइमा खासै परिवर्तन हुने देखिँदैन ।”
“रूस–बेलायत सम्बन्धको हिसाबले स्टार्मर कुनै विशेष रूपमा अलग देखिनुभएन,” उनले एएफपीलगायत पत्रकारहरूसँग भने ।
रूससँग युद्ध सुरु भएयता बेलायत युक्रेनको पक्षमा उभिनुका साथै करोडौं डलर, हतियार सहयोग गर्दै आएको छ ।
हालको बेलायतमा राजनीतिक दृश्यमा कसैले पनि प्रधानमन्त्री स्टार्मरभन्दा फरक अडान लिनेछन् भन्ने सम्भावना निकै कम छ ।
सन् २०२४ देखि सत्तामा रहेका स्टार्मरले सोमबार राजीनामा घोषणा गरेका छन् ।
उनी महिनौँदेखि नीतिगत रूपमा पछि हटेको भन्दै जनतामा गहिरो असन्तुष्टि र आफ्नै पार्टीभित्र घट्दो समर्थनका कारण राजिनामा दिने दबाबमा परेका छन् ।


विश्व खबर 




















