काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को महाधिवेशनमा दुई महामन्त्री पदका लागि आकांक्षीको भीड देखिएको छ ।
सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र (बालेन) शाह निर्विरोध हुने सम्भावना भए पनि अन्य पदहरूमा प्रतिस्पर्धा हुने देखिन्छ ।
महाधिवेशन प्रतिनिधिहरू मत माग्ने गतिविधिमा सक्रिय छन् भने बन्दसत्र ढिलाइका कारण औपचारिक प्रक्रिया सुरु हुन सकेको छैन ।
१९ पदाधिकारी र १५१ सदस्यीय केन्द्रीय समिति चयन गर्नुपर्ने भए पनि ९९ सदस्य निर्वाचनबाट आउनेछन् ।
पार्टीभित्र महामन्त्री पदका लागि करिब एक दर्जन नेताहरू आकांक्षी छन्, जसमा वर्तमान महामन्त्री कवीन्द्र बुर्लाकोटी, भुपदेव शाह, मनिष झा, शिशिर खनाल, विपिन आचार्य, गणेश पराजुली, यज्ञमणि न्यौपाने र लिमा अधिकारीलगायत छन् ।
विभिन्न समूहहरूको एकता पछि बनेको ठूलो संरचना भएकाले सबै पक्षलाई समेट्दै सहमतिबाट नेतृत्व चयन गर्ने प्रयास भइरहेको छ ।
तर आकांक्षी धेरै भएकाले सहमति जुटाउन नेतृत्वलाई चुनौती देखिएको छ ।























