चितवन– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनअन्तर्गत आज हुने बन्दसत्र निर्धारित समयभन्दा साढे दुई घन्टा ढिलो भएको छ ।
प्रतिनिधि छनोट विवाद, प्रतिनिधि कार्ड वितरणमा ढिलाइ, सांसदहरूको नामावलीमा अन्योल तथा व्यवस्थापकीय कमजोरीका कारण बन्दसत्र सुरु हुन नसकेको हो ।
विशेषगरी मधेस प्रदेशका प्रतिनिधि छनोटबारे विवाद कायम रहँदा सयभन्दा बढी उजुरी परेको बताइएको छ ।
प्रतिनिधिहरूले कार्ड नपाउँदा हल प्रवेशमा समस्या भएको छ भने केही सांसदहरूले आफूहरूको नाम प्रतिनिधि सूचीमा नराखिएको भन्दै आपत्ति जनाएका छन् ।
बन्दसत्र सुरु नहुँदै नेताहरू भने चुनावी माहोलमा देखिएका छन् ।
केन्द्रीय सदस्यका आकांक्षीहरू प्रतिनिधिसँग भेटेर भोट माग्न व्यस्त छन् ।
२१ जना समर्थक र एक प्रस्तावक जुटाउनुपर्ने व्यवस्थाका कारण धेरै उम्मेदवारलाई आवश्यक समर्थन संकलन गर्न कठिनाइ भइरहेको प्रतिनिधिहरूले बताएका छन् ।
रास्वपामा ९९ केन्द्रीय सदस्य पदका लागि निर्वाचन हुँदैछ भने केन्द्रीय समिति १५८ सदस्यीय रहने व्यवस्था छ ।























