काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेविरुद्ध सम्पत्ति शुद्धीकरण र संगठित अपराधसम्बन्धी मुद्दा चार जिल्ला अदालतबाट संशोधन भएसँगै उनको राजनीतिक यात्रामा सहजता देखिएको छ ।
कास्की, रुपन्देही, पर्सा र काठमाडौं जिल्ला अदालतले अभियोग संशोधन गर्न अनुमति दिएपछि अब उनीमाथि मुख्यतः सहकारी ठगीसम्बन्धी मुद्दा मात्र बाँकी रहनेछ ।
यसअघि रहेका सम्पत्ति शुद्धीकरण र संगठित अपराधका अभियोग हटेसँगै कानुनी अवरोध कम भएको बताइन्छ ।
वरिष्ठ अधिवक्ता पूर्णचन्द्र पौडेलका अनुसार, हालको अवस्थामा लामिछानेलाई मन्त्री वा प्रधानमन्त्री बन्न कानुनी रूपमा रोकावट नरहे पनि, अन्तिम निर्णय राजनीतिक तथा नैतिक पक्षमा निर्भर रहनेछ ।
सरकारी पक्षका कानुन अधिकारीहरूले पनि अभियोग संशोधनपछि उनको राजनीतिक गतिविधिमा तत्काल कानुनी बाधा नदेखिएको बताएका छन् ।
तर, सर्वोच्च अदालतमा दायर रिटहरू भने पूर्ण इजलासमा विचाराधीन रहेकाले अन्तिम कानुनी व्याख्या बाँकी छ ।
यसबीच, सहकारी ठगीसम्बन्धी मुद्दा मिलापत्रमार्फत टुंग्याउन सकिने भएकाले पीडितको रकम फिर्ता भएमा विवाद समाधानको सम्भावना पनि देखिएको छ ।























