images
images
  • फिफा विश्वकप–२०२६ विरुद्ध उजुरी दिने तयारीमा इरान

    काठमाडौं– उत्तर अमेरिका विश्वकपका क्रममा आफ्नो राष्ट्रिय टोलीमाथि यात्रा प्रतिबन्ध लगाइएको भन्दै इरानको फुटबल महासङ्घले अन्तर्राष्ट्रिय फुटबल महासङ्घ (फिफा)मा औपचारिक उजुरी दर्ता गर्ने घोषणा गरेको छ ।

    प्रतियोगिताअन्तर्गत संयुक्त राज्य अमेरिका जाने अनुमति अस्वीकार गरिएको भन्दै इरानले आयोजक व्यवस्थामाथि आपत्ति जनाएको हो ।

    इरानले आइतबार लस एन्जलसमा बेल्जियमविरुद्ध हुने समूह चरणको खेलअघि मेक्सिकोको तिजुआनास्थित आफ्नो प्रशिक्षण शिविरबाट दुई दिनअघि नै अमेरिकातर्फ जान अनुमति मागेको थियो ।

    तर महासङ्घका अनुसार उक्त अनुरोध अस्वीकार गरिएको छ ।

    इरानी फुटबल महासङ्घका प्रवक्ताले प्रतियोगिताका लागि आवश्यक तयारी समय पहिल्यै बुझाइसकिएको भए पनि आयोजक पक्षले फेरि यात्रा प्रतिबन्ध लगाएर प्राविधिक तयारी प्रभावित पारेको बताए ।

    उनका अनुसार टोलीले खेलअघि लस एन्जलस पुगेर वातावरणसँग अनुकूलन गर्न, अन्तिम अभ्यास पूरा गर्न र रणनीतिक तयारी टुङ्ग्याउन चाहेको थियो ।

    प्रवक्ताले खेल स्थानीय समयअनुसार दिउँसो १२ बजे सुरु हुने भएकाले टोलीलाई दुई दिनअघि नै स्थानमा पुग्ने अनुमति मागिएको तर उक्त अनुरोध अस्वीकार गरिएको बताए ।

    उनका अनुसार महासङ्घले यस निर्णयप्रति असन्तुष्टि जनाउँदै फिफामा औपचारिक उजुरी गर्ने प्रक्रिया अघि बढाउनेछ ।

    इरानले यसअघि पनि प्रतियोगिताको पहिलो खेलपछि लस एन्जलसबाट तत्काल बाहिरिन बाध्य हुनुपरेको भन्दै असन्तुष्टि जनाएको थियो ।

    न्युजिल्यान्डसँग २–२ को बराबरीपछि टोलीको बसाइ व्यवस्थापनमा कठिनाइ भएको इरानी पक्षको दाबी छ ।

    उता, अमेरिकी प्रशासनले इरानको आरोपलाई अस्वीकार गरेको छ ।

    ह्वाइट हाउस फिफा टास्क फोर्सका कार्यकारी निर्देशक एन्ड्र्यु जुलियानीले इरानी टोलीलाई खेलअघि एक दिन मात्र अमेरिका प्रवेश अनुमति दिइएको र खेल सकिएको दिन नै प्रस्थान गर्नुपर्ने व्यवस्था गरिएको स्पष्ट पारेका छन् ।

    उनका अनुसार यही प्रक्रिया लस एन्जलसमा हुने खेल र सियाटलमा इजिप्टविरुद्ध हुने अन्तिम समूह खेलमा पनि लागू हुनेछ ।

    मध्यपूर्वमा जारी युद्धका कारण इरानको विश्वकप तयारीमा पहिले नै चुनौती देखिएको थियो ।

    प्रतियोगिता सुरु हुनुअघि नै इरानले आफ्नो प्रशिक्षण शिविर एरिजोनाको टक्सनबाट मेक्सिकोको सीमावर्ती सहर तिजुआनामा सार्नुपरेको थियो ।

    साथै, टोलीका १५ जना अधिकारीलाई अमेरिकी भिसा अस्वीकृत गरिएको पनि इरानी पक्षले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images