विराटनगर– कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री इन्द्रमणि पराजुलीको निवासमा बिहीबार मध्यरातमा प्रहरी छापा मारेको छ ।
विराटनगर–३, ल क्याम्पस नजिकको क्वाटरमा राति करिब ११ बजे प्रहरी टोली पुगेको थियो ।
मन्त्रीको सचिवालयले प्रहरी पर्खाल नाघेर भित्र प्रवेश गरेको दाबी गरेको छ ।
प्रहरी पुग्दा मन्त्री निवासमा थिएनन् ।
मोरङका प्रमुख जिल्ला अधिकारी युवराज कट्टेलका अनुसार, कर्तव्य ज्यान मुद्दाका फरार अभियुक्तको खोजीका क्रममा प्रहरी उक्त स्थानमा पुगेको हो ।
तर, टोलीलाई त्यो मन्त्रीको निवास भएको पूर्वजानकारी नभएको उनले बताए ।
‘एकजना हत्याका अभियुक्त त्यही घरमा बस्ने सूचना थियो, त्यसैको आधारमा रेकी गर्न टोली पुगेको हो,’ उनले भने, ‘मन्त्री निवास भन्ने जानकारी थिएन ।’
उनका अनुसार, प्रहरी मन्त्रीलाई लक्षित गरेर नभई फरार अभियुक्तको खोजीमा गएको हो ।
ती अभियुक्त पहिले चितवनबाट फरार भएको र त्यसअघि सोही क्षेत्रमा बस्दै आएको सूचना रहेको पनि उनले बताए ।
तर, मन्त्रीको सचिवालयले भने प्रहरीले मन्त्रीको निवास हो भन्ने जान्दाजान्दै जबर्जस्ती प्रवेश गरेको दाबी गरेको छ ।


विश्व खबर 



















