काठमाडौं– ब्रिटिस एजुकेशन ग्रुप (BEG) अन्तर्गत सञ्चालित द ब्रिटिस कलेज (TBC) ले बेलायतको ब्रिटिस एक्रिडिटेसन काउन्सिल (BAC) बाट पुनः मान्यता प्राप्त गरेको छ। यससँगै कलेजले आफ्नो अन्तर्राष्ट्रिय शैक्षिक गुणस्तर र संस्थागत विश्वसनीयतालाई थप सुदृढ बनाएको जनाएको छ।
कलेजका अनुसार BAC बाट प्राप्त यो मान्यता सन् २०३० मे ३१ सम्म मान्य रहनेछ। यस प्रक्रियामा बेलायतबाट आएको स्वतन्त्र निरीक्षण टोलीले कलेजको शैक्षिक कार्यक्रम, अध्यापन गुणस्तर, संस्थागत सुशासन, विद्यार्थी सहायता सेवा, शैक्षिक स्रोतसाधन, भौतिक पूर्वाधार, अनलाइन शिक्षण प्रणाली, अतिरिक्त क्रियाकलाप तथा स्नातकहरूको रोजगारी सम्भावनालगायत विभिन्न पक्षहरूको विस्तृत मूल्याङ्कन गरेको थियो।
सन् १९८४ मा स्थापना भएको ब्रिटिस एक्रिडिटेसन काउन्सिलले विगत चार दशकदेखि बेलायत तथा अन्तर्राष्ट्रिय स्तरमा उच्च र थप शिक्षा प्रदान गर्ने संस्थाहरूको गुणस्तर मूल्याङ्कन गर्दै आएको प्रतिष्ठित निकाय हो। यसको मान्यतालाई शैक्षिक उत्कृष्टता, संस्थागत पारदर्शिता र सुशासनको अन्तर्राष्ट्रिय सूचकका रूपमा लिइन्छ।
BAC को मान्यता प्राप्त गर्न संस्थाले सुशासन, रणनीति तथा वित्तीय व्यवस्थापन, शैक्षिक तथा प्रशासनिक प्रणाली, शिक्षण र मूल्याङ्कन, विद्यार्थी सेवा तथा मार्गदर्शन, भौतिक पूर्वाधार, र गुणस्तर व्यवस्थापन तथा सुधार प्रणालीजस्ता छ प्रमुख क्षेत्रमा तोकिएका मापदण्ड पूरा गर्नुपर्ने हुन्छ।
कलेजका एकेडेमिक डिन डा. डेक्लान पी. ब्याननले यो मान्यताले कलेजको शैक्षिक प्रणाली, प्राध्यापक तथा कर्मचारीहरूको प्रतिबद्धता र अन्तर्राष्ट्रिय स्तरको शिक्षा प्रदान गर्ने लक्ष्यलाई पुष्टि गरेको बताए। उनका अनुसार यसले विद्यार्थी र अभिभावकमा कलेजप्रतिको विश्वास थप मजबुत बनाउनेछ।
त्यसैगरी, द ब्रिटिस कलेज तथा ब्रिटिस एजुकेशन ग्रुपका संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत राजन कँडेलले नेपालमा यस्तो मान्यता निरन्तर कायम राख्ने पहिलो कलेज हुनु गौरवको विषय भएको उल्लेख गर्दै आगामी दिनमा अन्तर्राष्ट्रिय असल अभ्यासलाई अझ प्रभावकारी रूपमा लागू गर्दै नेपालको उच्च शिक्षामा योगदान गर्ने प्रतिबद्धता व्यक्त गरे।
BAC की उपप्रमुख कार्यकारी अधिकृत लुसी फक्सले कलेजले शैक्षिक व्यवस्थापन, गुणस्तर सुनिश्चितता, विद्यार्थी कल्याण र संस्थागत सुशासनका क्षेत्रमा स्वतन्त्र मूल्याङ्कन सफलतापूर्वक पूरा गरेको बताउँदै पुनः मान्यताका लागि बधाई दिएकी छन्।
कलेजले बेलायती विश्वविद्यालयहरूसँगको सहकार्यमा सञ्चालन गरिएका अन्तर्राष्ट्रिय कार्यक्रम, उद्योगसँगको सहकार्य र करियर–केन्द्रित शिक्षण अभ्यासमार्फत आफ्नो पहिचान बनाउँदै आएको छ। पछिल्लो मान्यताले विद्यार्थी, अभिभावक, रोजगारदाता तथा शैक्षिक साझेदारबीच संस्थाप्रतिको विश्वास अझ मजबुत हुने कलेजको अपेक्षा छ।
कलेजले हालै केही समूहबाट फैलाइएका भ्रामक सूचना र संस्थालाई लक्षित गतिविधिका बाबजुद स्वतन्त्र अन्तर्राष्ट्रिय मूल्याङ्कन प्रक्रियाबाट सफलतापूर्वक पुनः मान्यता प्राप्त गर्न सफल भएको जनाएको छ। यस उपलब्धिले कलेजले अन्तर्राष्ट्रिय शैक्षिक मापदण्ड र संस्थागत व्यवस्थापनलाई निरन्तर कायम राखेको स्वतन्त्र प्रमाणका रूपमा काम गर्ने बताइएको छ।
























