images
images
  • इरान–अमेरिका शान्ति सम्झौता हस्ताक्षर समारोह स्थगित

    काठमाडौं– अमेरिका र इरानबीच स्विट्जरल्यान्डमा शुक्रबार हुने भनिएको बहुप्रतीक्षित शान्ति सम्झौता हस्ताक्षर समारोह अन्तिम समयमा आएर स्थगित भएको छ ।

    अन्तर्राष्ट्रिय सञ्चारमाध्यम सीएनएन–न्युज १८ का अनुसार समारोहमा सहभागी हुन कुनै पनि उच्चस्तरीय अमेरिकी वा इरानी अधिकारी स्विट्जरल्यान्ड नजाने निर्णय भएपछि हस्ताक्षर कार्यक्रम रोकिएको हो ।

    कूटनीतिक स्रोतहरूलाई उद्धृत गर्दै उक्त सञ्चारमाध्यमले अब प्रक्रिया औपचारिक हस्ताक्षरतर्फ नभई प्राविधिक तहका विस्तृत वार्तातर्फ मोडिएको जनाएको छ ।

    अमेरिका, इरान, कतार र पाकिस्तानका अग्रिम टोलीहरू हाल स्विट्जरल्यान्डको ब्युर्गेनस्टक र ज्युरिखमा रहेर वार्ताको नयाँ ढाँचा तय गर्न सक्रिय रहेका छन् ।

    स्रोतहरूका अनुसार सम्झौतामा बाँकी रहेका जटिल तथा प्राविधिक विषयहरूमा सहमति जुटाउन आगामी ६० दिनसम्म विभिन्न चरणमा प्राविधिक वार्ता सञ्चालन गरिनेछ ।

    ती छलफलहरूमा सम्झौताका सूक्ष्म तथा विवादित विषयहरू टुंग्याउने प्रयास गरिने बताइएको छ ।

    सम्झौता हस्ताक्षरको तयारीमा आएको अप्रत्याशित परिवर्तनले पाकिस्तानको कूटनीतिक कार्यक्रमलाई समेत प्रभावित बनाएको छ ।

    पाकिस्तानका प्रधानमन्त्री शहबाज शरिफले आफ्नो पूर्वनिर्धारित स्विट्जरल्यान्ड भ्रमण रद्द गरेका छन् ।

    समाचारमा जनाइएअनुसार समझदारीपत्र (एमओयू) सम्बन्धी मुख्य एजेन्डाहरूमा पर्याप्त प्रगति भइसकेकाले शरिफको भ्रमण तत्काल आवश्यक नरहेको निष्कर्ष निकालिएको हो ।

    यद्यपि, अमेरिका र इरानबीचको संवाद प्रक्रिया भने निरन्तर जारी रहने बताइएको छ ।

    आगामी दुई महिनासम्म चल्ने प्राविधिक वार्ताबाट बाँकी विषयहरूमा सहमति जुटेपछि मात्रै औपचारिक शान्ति सम्झौतामा हस्ताक्षर हुने सम्भावना रहेको कूटनीतिक स्रोतहरूले जनाएका छन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images