काठमाडौं– नेकपाका नेता झलनाथ खनालले पार्टी संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सहसंयोजक माधवकुमार नेपालमाथि गम्भीर असन्तुष्टि जनाउँदै ३६ बुँदे पत्र बुझाएका छन् ।
खनालले पार्टी एकता भएको सात महिना पुग्न लाग्दा पनि आफूलाई पूर्णरूपमा जिम्मेवारीविहीन बनाइएको, एकताका बेला भएका वैचारिक सहमति उल्लंघन गरिएको र पार्टी सञ्चालनमा गुटगत प्रभाव हावी भएको आरोप लगाएका छन् ।
उनले प्रचण्ड–माधव नेपालको दबाबमा परेको तथा योग्य नेता–कार्यकर्तामाथि पूर्वाग्रहपूर्ण व्यवहार गरिएको दाबी गरेका छन् ।
पत्रमा खनालले भ्रष्टाचार मुद्दा खेपिरहेका माधव नेपाललाई सहसंयोजक बनाइएको विषयमा प्रश्न उठाउँदै एमाले विभाजन पद प्राप्तिका लागि गरिएको आरोपसमेत लगाएका छन् ।
साथै, पार्टीभित्र बहुदलीय जनवाद र प्रजातान्त्रिक समाजवादको विचार भित्र्याएर नेकपाको वैचारिक दिशामा विचलन ल्याइएको उनको भनाइ छ ।
आफूसँग परामर्श नगरी अन्तरिम विधान तयार पारिएको उल्लेख गर्दै खनालले वर्तमान नेतृत्वको कार्यशैलीप्रति असन्तुष्टि व्यक्त गरेका छन् ।
उनले नैतिकता, वैचारिक स्पष्टता र सहमतिका आधारमा पार्टी सञ्चालन नभए क्रान्तिकारी कम्युनिस्ट पार्टी निर्माण सम्भव नहुने चेतावनी दिएका छन् ।























