images
images
  • इन्फोसिस फिनाकल इनोभेसन अवार्ड्स २०२६ मा कुमारी बैंकलाई प्लेटिनम अवार्ड

    काठमाडौं– कुमारी बैंक लिमिटेडले अन्तर्राष्ट्रिय स्तरको प्रतिष्ठित ‘इन्फोसिस फिनाकल इनोभेसन अवार्ड्स २०२६’ अन्तर्गत ‘बिजनेस मोडल इनोभेसन’ विधामा उच्च सम्मानस्वरूप प्लेटिनम अवार्ड प्राप्त गरेको छ ।

    बैंकले ग्राहक पहिचान तथा अनुपालन प्रक्रिया (केवाईसी वर्कफ्लो कम्प्लायन्स) क्षेत्रमा गरेको नवप्रवर्तनात्मक कार्यका लागि उक्त सम्मान प्राप्त गरेको जनाएको छ ।

    इन्फोसिस फिनाकलद्वारा प्रत्येक वर्ष आयोजना गरिने यो अवार्ड कार्यक्रम विश्वभरका बैंक तथा वित्तीय संस्थाहरूले कार्यान्वयन गरेका उत्कृष्ट नवप्रवर्तन र रूपान्तरणकारी अभ्यासहरूको मूल्यांकन तथा सम्मानका लागि परिचित छ। यस वर्ष विभिन्न ९ विधामा ५०० भन्दा बढी आवेदन परेका थिए ।

    कुमारी बैंकले आफ्नो केवाईसी कार्यप्रवाह अनुपालन प्रणालीमार्फत ग्राहक पहिचान प्रक्रियालाई अझ छरितो, सुरक्षित तथा प्रभावकारी बनाएको मूल्यांकनका आधारमा प्लेटिनम अवार्ड प्राप्त गरेको हो ।

    बैंकका अनुसार उक्त प्रणालीले नियामकीय मापदण्डहरूको पूर्ण पालना सुनिश्चित गर्नुका साथै ग्राहक सेवा प्रवाहलाई थप सहज, पारदर्शी र भरपर्दो बनाउन महत्वपूर्ण योगदान पुर्‍याएको छ ।

    डिजिटल प्रविधिको प्रभावकारी उपयोगमार्फत बैंकिङ सेवामा नवप्रवर्तनलाई निरन्तरता दिँदै आएको कुमारी बैंकले प्राप्त गरेको यो अन्तर्राष्ट्रिय सम्मानले सुरक्षित, विश्वसनीय तथा ग्राहक–केन्द्रित बैंकिङ सेवा प्रदान गर्ने आफ्नो प्रतिबद्धतालाई थप सुदृढ बनाएको जनाएको छ ।

    बैंकले आगामी दिनमा पनि डिजिटल समाधानहरूको विस्तार गर्दै ग्राहकलाई अझ सहज, आधुनिक र उत्कृष्ट बैंकिङ अनुभव प्रदान गर्न निरन्तर प्रयासरत रहने प्रतिबद्धता व्यक्त गरेको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images