images
images
  • यी माग राखेर पुनः आन्दोलन गर्दै शिक्षक–कर्मचारी

    काठमाडौं– गत वर्ष सरकारसँग भएको ९ बुँदे सहमति कार्यान्वयन नभएको भन्दै नेपाल शिक्षक महासंघ पुनः आन्दोलनको तयारीमा जुटेको छ ।

    महासंघले शिक्षा ऐन जारी गर्न, सहमति कार्यान्वयन गर्न र शिक्षामा बजेट बढाउन माग गर्दै आन्दोलनको संकेत दिएको हो ।

    महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीका अनुसार सरकारसँग भएको सहमति अझै कार्यान्वयन नभएकाले आन्दोलन अपरिहार्य बन्दै गएको छ ।

    विद्यालय शिक्षा ऐन पनि अझै जारी हुन नसकेको भन्दै शिक्षकहरू असन्तुष्ट छन् ।

    यता, विद्यालय कर्मचारीहरूले पनि आफ्ना माग बजेटमा सम्बोधन नभएको भन्दै चरणबद्ध आन्दोलन घोषणा गरेका छन् ।

    उनीहरूले जेठ २८ देखि असार ४ गतेसम्म कालोपट्टी बाँधेर काम गर्ने तथा माग पूरा नभए असार ५ गते सम्पूर्ण कामकाज ठप्प पार्ने चेतावनी दिएका छन् ।

    विद्यालय कर्मचारीहरूको मुख्य मागमा दरबन्दी सिर्जना गरी समायोजन, विगतका सहमति कार्यान्वयन, शिक्षा ऐन जारी, ६० वर्ष पुगेका कर्मचारीलाई सम्मानजनक बिदाइ तथा सर्वोच्च अदालतका फैसला कार्यान्वयन रहेका छन् ।

    शिक्षक महासंघले पनि प्रारम्भिक बालशिक्षा शिक्षक र विद्यालय कर्मचारीको सेवा–सुविधा वृद्धि, महँगी भत्ता तथा शिक्षामा कुल बजेटको २० प्रतिशत लगानी सुनिश्चित गर्न सरकारसँग माग गरेको छ ।

    आन्दोलनको आगामी रणनीति तय गर्न महासंघले चाँडै राष्ट्रिय परिषद् बैठक बोलाउने जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images