images
images
  • कांग्रेसले कहिले गर्दैछ प्रदेश र जिल्ला अधिवेशन ?

    काठमाडौं– नेपाली कांग्रेसले पार्टीको जिल्ला र प्रदेश अधिवेशन गर्ने कार्यतालिका लगभग टुङ्गो लगाएको छ । पार्टी सभापति गगनकुमार थापाले केन्द्रीय निर्वाचन समितिसँगको परामर्शपछि जिल्ला अधिवेशन मंसिर २४ र २५ तथा पुस ४ र ५ गते गर्ने तयारी भइरहेको जानकारी दिएका छन् ।

    सभापति थापाका अनुसार मौसमको प्रतिकूलता र हिमपातको सम्भावनालाई ध्यानमा राख्दै हिमाली जिल्लाहरूको अधिवेशन मंसिर २४ र २५ गते सम्पन्न गर्ने योजना बनाइएको हो । अन्य जिल्लाहरूमा भने पुस ४ र ५ गते अधिवेशन सञ्चालन गर्ने तयारी गरिएको छ ।

    जिल्ला अधिवेशनका लागि तय गरिएका मितिमा सम्बन्धित जिल्ला कार्यसमितिसँगको परामर्शमा आवश्यकतानुसार सामान्य हेरफेर गर्न सकिने व्यवस्था पनि राखिएको छ । कुनै विशेष परिस्थिति वा बाध्यता आइपरेमा निर्वाचन समितिले मिति समायोजन गर्न सक्ने सभापति थापाले बताएका छन् ।

    यसैगरी, कांग्रेसको प्रदेश अधिवेशन आगामी पुस १२ देखि १८ गतेसम्म सम्पन्न गर्ने गरी निर्वाचन समितिले आन्तरिक तयारी अघि बढाएको छ । सातवटै प्रदेशको अधिवेशन एकै दिन नगरी एकदेखि दुई दिनको फरकमा सञ्चालन गर्ने तयारी रहेको थापाले जानकारी दिएका छन् ।

    सबै प्रदेश अधिवेशनमा पार्टीका केन्द्रीय प्रमुख पदाधिकारीहरू उपस्थित भएर सम्बोधन तथा समन्वय गर्ने कार्यक्रम रहेकाले मिति फरक–फरक राख्न लागिएको हो । अधिवेशनका सबै मितिको अन्तिम टुङ्गो लगाएर निर्वाचन समितिले जिल्ला तथा प्रदेश समितिसँग परामर्श गरेपछि भोलिसम्म घोषणा गर्ने सभापति थापाले बताएका छन् ।

    पार्टीको १५औँ महाधिवेशनबाट निर्वाचित कार्यसमिति र संशोधित विधानले निर्वाचन आयोगबाट आधिकारिक मान्यता पाएसँगै कांग्रेसले संगठन सुदृढीकरणलाई तीव्रता दिएको छ । पार्टीले देशभरका ७५३ वटै पालिकामा ‘हामी तयार छौँ अभियान’ सञ्चालन गर्नुका साथै जिल्ला र प्रदेश अधिवेशनमार्फत संगठनलाई थप व्यवस्थित बनाउने तयारी गरेको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images