काठमाडौं– अल्बानियामा प्रधानमन्त्री एडी रामाको राजीनामा माग गर्दै विद्यार्थीको नेतृत्वमा भएको सरकारविरोधी प्रदर्शन शनिबार हिंसात्मक बनेको छ। महिनौँदेखि जारी सरकारविरोधी आन्दोलनका क्रममा राजधानी तिरानामा प्रदर्शनकारी र प्रहरीबीच झडप भएको हो।
अल्बानियाको स्वतन्त्रता दिवसका अवसरमा भेला भएका प्रदर्शनकारीले दङ्गा नियन्त्रणमा खटिएका प्रहरीमाथि ढुङ्गा र पेट्रोल बम प्रहार गरेका थिए। त्यसपछि प्रहरीले पानीको फोहोरा, अश्रुग्याँस र रबरका गोली प्रयोग गरेर प्रदर्शनकारीलाई तितरबितर पार्ने प्रयास गरेको थियो।

सरकारमा व्याप्त भ्रष्टाचार, रोजगारीको अभाव र शिक्षाको कमजोर गुणस्तरप्रति असन्तुष्टि जनाउँदै अक्टोबरको मध्यदेखि तिरानामा प्रदर्शन हुँदै आएको छ। पछिल्लो समय आन्दोलन अन्य सहरमा समेत फैलिएको छ। यसअघि पनि प्रदर्शनका क्रममा सरकारी भवन र बैंकमा आगजनी, पसलका सिसा तोडफोड तथा सडकका ढुङ्गा उखेल्दै प्रहरीमाथि प्रहार गर्ने घटना भएका थिए।
शनिबारको प्रदर्शनमा केही मुकुडोधारीहरु पनि सहभागी भएको थिए। उनीहरूले सरकारी भवनमा ढुङ्गामुढा गर्नुका साथै प्रधानमन्त्री रामाको कार्यालयतर्फ अघि बढ्ने प्रयास गरेका थिए । तर प्रहरीले उनीहरूलाई रोकेको बताइएको छ।
प्रदर्शनमा सहभागी ४५ वर्षीया इन्जिनियर एराल्डा बाजेले भ्रष्टाचार, गरिबी र विदेश पलायनको समस्या असह्य भएको बताइन्। उनले भनिन्, ‘अब धेरै भयो, भ्रष्टाचार, गरिबी र आप्रवासनको समस्या सहन सकिँदैन।’
प्रदर्शनकारीमध्ये केहीले राम्रो जीवनस्तर र गुणस्तरीय स्वास्थ्य सेवाको मागसमेत गरेका थिए।
‘अल्बानिया बिक्रीका लागि होइन’
प्रधानमन्त्री रामाको सरकारले भ्रष्टाचारको आरोप अस्वीकार गर्दै प्रदर्शनकारीका माग सम्बोधन गर्न संवादमा आउन आग्रह गरेको छ। आन्दोलन मत्थर पार्ने प्रयासस्वरूप सरकारले इन्धन सस्तो बनाउने र विपन्न परिवारलाई थप आर्थिक सहायता उपलब्ध गराउनेलगायतका उपाय पनि अघि सारेको छ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका ज्वाइँ जारेड कुश्नरको समर्थन रहेको समुद्री तटीय विलासी विकास परियोजनाविरुद्ध गर्मीयाममा भएका प्रदर्शनपछि पछिल्लो आन्दोलन सुरु भएको हो। उक्त परियोजनाविरुद्धका प्रदर्शन सुरुमा शान्तिपूर्ण थिए।
तर अहिलेको आन्दोलन सन् २०१३ देखि शासन गर्दै आएका र गत वर्ष चौथो कार्यकालका लागि निर्वाचित प्रधानमन्त्री रामाका लागि अहिलेसम्मकै ठूलो चुनौती बनेको छ।
शनिबारको प्रदर्शनमा एउटा ब्यानरमा ‘अल्बानिया बिक्रीका लागि होइन’ लेखिएको थियो। प्रधानमन्त्री रामाले भने उक्त विकास परियोजना कानुनसम्मत रहेको र त्यस क्षेत्रको प्राकृतिक वासस्थान तथा पर्यावरण संरक्षण गरिने बताउँदै आएका छन्।
विभिन्न भ्रष्टाचार काण्डका कारण अल्बानियाको अन्तर्राष्ट्रिय छवि वर्षौंदेखि प्रभावित हुँदै आएको छ। विश्लेषकहरूका अनुसार लागुऔषध तथा हतियार तस्करीबाट आर्जित अवैध रकमलाई वैध बनाउने गिरोहका लागि अल्बानिया एउटा प्रमुख केन्द्रका रूपमा रहेको छ।
यद्यपि प्रधानमन्त्री रामाले आफ्नो सरकारले विगतको तुलनामा सबैभन्दा प्रभावकारी रूपमा भ्रष्टाचार नियन्त्रणका लागि काम गरिरहेको दाबी गरेका छन्।
युरोपेली सङ्घ (ईयू) को सदस्यता प्राप्त गर्न प्रयासरत बाल्कन क्षेत्रका देशमध्ये अल्बानिया अग्रस्थानमा रहेको छ। उसले सन् २०३० सम्ममा ईयूको सदस्यता प्राप्त गर्ने लक्ष्य राखेको छ।






















