काठमाडौं– फ्रान्स, बेलायतसहित आठ युरोपेली तथा साझेदार मुलुकले प्यालेस्टिनी प्राधिकरणलाई सन् २०२७ को पहिलो तीन महिनाभित्र निर्वाचन गर्न आग्रह गरेका छन्।
अस्ट्रेलिया, बेल्जियम, क्यानडा, फ्रान्स, लक्जमबर्ग, नर्वे, पोल्यान्ड र बेलायतका विदेशमन्त्रीहरूले शनिबार संयुक्त वक्तव्य जारी गर्दै निर्वाचन गराउन आग्रह गरेका हुन्।
फ्रान्सको युरोप तथा परराष्ट्र मन्त्रालयले सार्वजनिक गरेको उक्त वक्तव्यमा निर्वाचनलाई प्यालेस्टिनी संस्थाहरूको लोकतान्त्रिक पुनर्संरचनाका लागि आवश्यक रहेको उल्लेख गरिएको छ।
ती देशहरूले निर्वाचनलाई दुई राज्य समाधानको संरक्षणसँग पनि अभिन्न रूपमा जोडिएको विषयका रूपमा व्याख्या गरेका छन्।
स्थगित भएको निर्वाचन
प्यालेस्टिनी प्राधिकरणका राष्ट्रपति महमुद अब्बासले गत अक्टोबरमा संसदीय निर्वाचन स्थगित गरेका थिए। सन् २००६ पछि पहिलोपटक हुन लागेको उक्त निर्वाचन शनिबारका लागि तय गरिएको थियो। तर अब्बासले निर्वाचनको मिति सार्दै सन् २०२७ सेप्टेम्बर ११ मा गर्ने निर्णय गरेका थिए। सोही दिन राष्ट्रपतीय निर्वाचनसमेत गराउने उनको घोषणा छ।
अब्बास नेतृत्वको प्यालेस्टाइन मुक्ति संगठन (पीएलओ) को कार्यकारी समितिले गत महिना इजरायल अधीनस्थ पश्चिम किनार, पूर्वी जेरुसेलम र गाजाको अवस्थाका कारण निर्वाचन गराउने वातावरण नरहेको जनाएको थियो। इजरायलले गाजामा निर्वाचन सामग्री र अन्तर्राष्ट्रिय पर्यवेक्षकलाई प्रवेश गर्न अनुमति नदिएको पनि समितिले उल्लेख गरेको थियो।
संयुक्त वक्तव्यमा विदेशमन्त्रीहरूले प्यालेस्टाइनमा पछिल्लो राष्ट्रिय निर्वाचन भएको २० वर्ष बितिसक्दा पनि त्यहाँका नागरिकलाई मतदान गर्ने अधिकारबाट वञ्चित गरिएको बताएका छन्।
उनीहरूले स्वतन्त्र र पारदर्शी निर्वाचन प्यालेस्टिनी संस्थाहरूको केन्द्रमा रहनुपर्ने लोकतान्त्रिक मूल्य र मान्यताको संरक्षणका लागि आवश्यक रहेको बताएका छन्।
सुधारका लागि अन्तर्राष्ट्रिय दबाब
संयुक्त वक्तव्यमा प्यालेस्टिनी प्राधिकरणलाई निरन्तर सहयोग गर्दै आएका देशहरूको समर्थन संस्थागत सुधार र लोकतान्त्रिक नवीकरणप्रतिको प्रतिबद्धतासँग जोडिएको चेतावनीसमेत दिइएको छ।
युरोपेली संघकी विदेश नीति प्रमुख काजा कलासले पनि गत महिना इजरायल अधीनस्थ प्यालेस्टिनी क्षेत्रमा निर्वाचन हुन निकै ढिलाइ भइसकेको बताएकी थिइन्।
९० वर्षीय अब्बास सन् २००५ मा अन्तिमपटक निर्वाचित भएका थिए। उनको राष्ट्रपतीय कार्यकाल सन् २००९ मै समाप्त भए पनि त्यसयता उनले आदेशमार्फत शासन सञ्चालन गर्दै आएका छन्।
फ्रान्सले सन् २०२५ सेप्टेम्बरमा प्यालेस्टिनी राज्यलाई मान्यता दिने क्रममा अब्बासले फ्रान्सेली राष्ट्रपति इम्यानुएल म्याक्रों र साउदी युवराज मोहम्मद बिन सलमानलाई लिखित रूपमा दुवै निर्वाचन गराउने प्रतिबद्धता जनाएका थिए।
सन् २००६ मा भएको पछिल्लो संसदीय निर्वाचनमा हमासले जित हासिल गर्दै गाजामा सरकार गठन गरेको थियो। त्यसपछि अब्बासको फताह पार्टी र हमासबीच विभाजन भएको थियो। फताह पार्टीको प्यालेस्टिनी प्राधिकरणमा बहुमत छ। यी दुई पक्षबीचको राजनीतिक विभाजन अहिलेसम्म कायम छ।
-एजेन्सी






















