काठमाडौं– ठूलो वित्तीय ठगीसम्बन्धी अनुसन्धानमा ब्राजिलका प्रभावशाली व्यक्ति र राजनीतिज्ञहरू मुछिँदै गएको अवस्थामा बैंक मास्टरका पूर्व प्रमुख कार्यकारी अधिकृत (सीईओ) अगुस्टो लिमालाई प्रहरीले शनिबार पक्राउ गरेको छ। ब्राजिलको संघीय प्रहरीभित्रका स्रोतहरूले दिएको जानकारीअनुसार पूर्वसीईओ लिमालाई पक्राउ गरिएको रोयटर्सले उल्लेख गरेको हो।
लिमा पूर्वसीईओसँगै बैंक मास्टरका साझेदार हुन्। कथित रूपमा नक्कली ऋण पोर्टफोलियो तयार पारेको आरोप लागेपछि केन्द्रीय बैंकले गत वर्ष उक्त बैंक खारेज गरेको थियो। बैंकका अध्यक्ष ड्यानियल भोर्कारो भने यसअघि मार्चमा पक्राउ परेयता अझै पनि निवारक हिरासतमा छन्।
बहियाका व्यवसायी लिमा बैंक मास्टर प्रकरणको अनुसन्धानको पहिलो चरणमा भोर्कारोसँगै पक्राउ परेका थिए। यद्यपि त्यसबेला उनीमाथि विभिन्न प्रतिबन्धात्मक सर्तसहित रिहा गरिएको थियो।
संघीय प्रहरी र सर्वोच्च अदालतले छुट्टाछुट्टै विज्ञप्ति जारी गर्दै बैंक मास्टर प्रकरणसँग सम्बन्धित संगठित अपराध, सम्पत्ति शुद्धीकरण र राष्ट्रिय वित्तीय प्रणालीविरुद्धका अपराधको आशंकामा अनुसन्धान भइरहेका एक व्यक्तिलाई पक्राउ गरिएको पुष्टि गरेका छन्।
संघीय प्रहरीका अनुसार ती व्यक्तिले यसअघि लगाइएका प्रतिबन्धात्मक सर्तहरूको पालना नगरेपछि पक्राउ गरिएको हो।
संघीय प्रहरीका दुई स्रोतले पक्राउ परेका व्यक्ति लिमा नै भएको रोयटर्सलाई पुष्टि गरेका छन्। उनीहरूले आफ्नो नाम सार्वजनिक नगर्ने सर्तमा जानकारी दिएका हुन्। शनिबार साँझ लिमाका वकिलसँग प्रतिक्रिया माग्दा उनले टिप्पणी गर्न अस्वीकार गरेका छन्।
बैंक मास्टर र त्यससँग जोडिएको कथित भ्रष्टाचारबारे भइरहेको अनुसन्धानलाई ‘अपरेसन जिरो कम्प्लायन्स’ नाम दिइएको छ। उक्त अनुसन्धानमा केन्द्रीय बैंकका अधिकारी, सर्वोच्च अदालतका एक न्यायाधीश तथा विभिन्न राजनीतिक दलका राजनीतिज्ञसमेत मुछिएका छन्।
बैंकसम्बन्धी संघीय प्रहरीको अनुसन्धानले लिमाको आफ्नै गृहप्रदेश बहियाका सत्तारूढ वर्कर्स पार्टीका नेताहरूसँग निकट सम्बन्ध रहेको देखाएको छ। तीमध्ये पूर्वमन्त्री रुई कोस्टा र सिनेटमा सरकारका पूर्वनेता जाकेस वाग्नर पनि छन्।
वाग्नर पनि उक्त अनुसन्धानको दायरामा रहेका व्यक्तिमध्ये एक हुन्। अनुसन्धानको यसअघिको चरणमा उनको घर तथा अन्य स्थानमा खानतलासी गरी प्रमाण सङ्कलन गर्न अदालतबाट अनुमति लिइएको थियो। तर वाग्नरले आफूमाथि लगाइएका आरोप अस्वीकार गर्दै आएका छन्।
-ब्रासिलिया/रोयटर्स






















