images
images
  • ‘राइट टु रिकल’ व्यवस्था लागू गर्दै कांग्रेस

    काठमाडौं– नेपाली कांग्रेसले पार्टीबाट निर्वाचित जनप्रतिनिधिलाई जिम्मेवार र जवाफदेही बनाउन ‘राइट टु रिकल’ अर्थात् फिर्ता बोलाउने अधिकारको व्यवस्था गर्ने भएको छ । सभापति गगनकुमार थापाले पार्टीको १५औँ महाधिवेशनपछि उक्त व्यवस्था कार्यान्वयनमा लैजाने तयारी भइरहेको बताएका छन् ।

    यसका लागि वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माको नेतृत्वमा सुशासन प्रतिष्ठान गठन गरिनेछ । प्रतिष्ठानले पार्टीको नयाँ घोषणापत्र निर्माण, जनप्रतिनिधिको कार्यसम्पादन मूल्यांकन तथा आर्थिक पारदर्शिताको निगरानी गर्ने जिम्मेवारी पाउनेछ ।

    कांग्रेसबाट निर्वाचित स्थानीय तह, प्रदेश सभा र प्रतिनिधिसभाका जनप्रतिनिधिले जिम्मेवारीअनुसार काम नगरेमा, आर्थिक अनियमितता गरेको पुष्टि भएमा वा पदको दुरुपयोग गरेमा कारबाहीसँगै फिर्ता बोलाउने व्यवस्था गरिने थापाले बताए ।

    प्रतिष्ठानले जनप्रतिनिधिलाई पार्टीको नीति, नियम र विधानअनुसार काम गर्न प्रशिक्षण तथा सहजीकरणसमेत गर्नेछ । यसमा राजनीतिक नेतृत्वसँगै कानुन, प्रशासन र व्यवस्थापन क्षेत्रका दक्ष कर्मचारी पनि रहने कांग्रेसले जनाएको छ ।

    यसअघि राष्ट्रिय स्वतन्त्र पार्टीले आफ्नो विधानमै ‘राइट टु रिकल’को व्यवस्था गरेको थियो । तर वरिष्ठ अधिवक्ता डा.चन्द्रकान्त ज्ञवालीले नेपालको संविधानमा भने यस्तो व्यवस्थाको परिकल्पना नगरिएको बताएका छन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images