कञ्चनपुर– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सुदूरपश्चिम प्रदेश अधिवेशन तथा केन्द्रीय महाधिवेशनका लागि रकम तोकेर आर्थिक सहयोग मागेको भन्दै एउटा पत्र सार्वजनिक भएको छ ।
कृष्णपुर नगरपालिका–१ वडा समितिको नाममा जलजला कन्स्ट्रक्सन कम्पनीका प्रबन्ध निर्देशकलाई सम्बोधन गर्दै ३० हजार रुपैयाँ सहयोग मागिएको उक्त पत्र सार्वजनिक भएपछि विषयले चर्चा पाएको हो ।
पत्रमा सम्बन्धित निर्माण कम्पनीले विगतदेखि वडामा विभिन्न विकास निर्माणका काम गर्दै आएको उल्लेख गर्दै स्थानीय समुदायसँग सहकार्य गर्दै आएको पनि जनाइएको छ ।
साथै असार १ देखि हुने सुदूरपश्चिम प्रदेश अधिवेशन तथा असार ७, ८ र ९ गते हुने केन्द्रीय महाधिवेशन सफल बनाउन आर्थिक सहयोग आवश्यक परेको उल्लेख गरिएको छ ।
तर, वडा सभापति सुरेन्द्र बोहराले भने पत्रमा उल्लेख गरिएको उद्देश्य अधिवेशन नभई सडक मर्मतका लागि सहयोग मागिएको दाबी गरेका छन् ।
उनका अनुसार, ‘मैले सडक मर्मतका लागि सहयोग माग्दै साथीहरूमार्फत पत्र पठाएको थिएँ, तर पत्रमा अधिवेशनका लागि भनेर लेखिएको रहेछ । जानकारी पाउनेबित्तिकै उक्त पत्र फिर्ता ल्याइसकेको छु,’ उनले भने ।























