काठमाडौं– सुकुमबासी बस्ती हटाइएका बागमती, विष्णुमती र मनोहरा नदी किनारका क्षेत्रलाई खुला पार्क र हरियाली क्षेत्रका रूपमा विकास गर्ने तयारी सरकारले थालेको छ ।
अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले ती क्षेत्रको डिजाइन तथा विकास अवधारणा तयार गरिरहेको छ ।
समितिले आगामी आर्थिक वर्षका लागि नदी कोरिडोर विकास, ढल व्यवस्थापन, नदी संरक्षण, पार्क निर्माण र हरियाली प्रवर्द्धनका कार्यक्रम सञ्चालन गर्न ३ अर्ब रुपैयाँ बजेट प्रस्ताव गरेको छ ।
हटाइएका बस्तीका स्थानमा ठूला संरचना नबनाई खुला पार्क, वृक्षरोपण र नदी बहाव क्षेत्र विस्तार गरिने योजना छ ।
हालसम्म नदी किनारबाट विस्थापित २ हजार ६०८ सुकुमबासी परिवारको लगत संकलन गरिएको छ ।
वास्तविक सुकुमबासीको पहिचान गरी राहत वितरण तथा वैकल्पिक स्थानमा पुनर्स्थापना गर्ने तयारी भइरहेको समितिले जनाएको छ ।
बजेट स्वीकृत भएपछि पार्क निर्माण, कोरिडोर सडक, संरक्षण पर्खाल र अन्य पूर्वाधारका कामले तीव्रता पाउने बताइएको छ ।






















