images
images
  • ओली, लेखक र गुरुङलाई पक्राउ गर्ने तयारीमा गृहमन्त्री

    काठमाडौं– जेनजी आन्दोलनका क्रममा भएको भनिएको मानवअधिकार उल्लंघन प्रकरणमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली, तत्कालीन गृहमन्त्री रमेश लेखक र तत्कालीन सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङ विरुद्ध कारबाही अघि बढाउन सरकारले कानुनी विकल्पहरूको खोजी सुरु गरेको छ ।

    राष्ट्रिय मानवअधिकार आयोगले तीनै जनालाई मानवअधिकार उल्लंघनमा संलग्न रहेको ठहर गर्दै कारबाहीका लागि सिफारिस गरेपछि सरकारले त्यसलाई कार्यान्वयन गर्ने कानुनी आधारबारे अध्ययन थालेको हो ।

    यसका लागि महान्यायाधिवक्ताको कार्यालयसँग कानुनी राय लिने तयारी भइरहेको सरकारी स्रोतले जनाएको छ ।

    हाल मानवअधिकार उल्लंघनसम्बन्धी घटनामा प्रत्यक्ष रूपमा दण्डित गर्ने छुट्टै कानुनी व्यवस्था नरहेको अवस्थामा आयोगले आवश्यक परे भूतलक्षी कानुन निर्माण गरेर पनि कारबाहीको प्रक्रिया अघि बढाउन सुझाव दिएको छ ।

    तर भूतलक्षी कानुन निर्माण गर्ने विषय अन्तर्राष्ट्रिय कानुनी मान्यता तथा स्थापित न्यायिक सिद्धान्तसँग बाझिन सक्ने चिन्ता व्यक्त गरिएको छ ।

    यसै कारण सरकारले विद्यमान फौजदारी कानुनअन्तर्गत अनुसन्धान र अभियोजनको प्रक्रिया अघि बढाउन सकिने वा नसकिने विषयमा समेत कानुनी अध्ययन गरिरहेको छ ।

    उता, जेनजी आन्दोलनसँग सम्बन्धित अन्य व्यक्तिहरूको भूमिकाबारे थप अनुसन्धान गर्न नयाँ छानबिन समिति गठन गर्ने तयारीसमेत सरकारले थालेको स्रोतको दाबी छ ।

    मानवअधिकार आयोगको सिफारिस कार्यान्वयन गर्ने विषयमा सरकारभित्र विभिन्न तहमा परामर्श र छलफल जारी रहेको बताइएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images