images
images
  • सेना–बालेनको अनौठो प्रेम

    शेखर अधिकारी

    काठमाडौं महानगरपालिकाको मेयर निर्वाचित हुनुअघि वालेन्द्र शाह (बालेन) एक औसत इन्जिनियर र र्‍यापर थिए । परम्परागत शक्ति कांग्रेस–एमालेलाई मुलुककै राजधानीबाट हराउँदै बालेन मेयर निर्वाचित भएपछि देशविदेशमा निकै चर्चा भएको थियो ।

    महानगरको मेयरको शपथ लिएर पदभार ग्रहणलगत्तै बालेनले अनौठो भेट गरे– तत्कालिन प्रधानसेनापति प्रभूराम शर्मासँग । २०७९ जेठ १२ मा महानगरको मेयर निर्वाचित भएका बालेनले १६ गते गते नै पहिलो भेटघाट प्रधानसेनापति प्रभुराम शर्मासँग सैनिक मुख्यालय पुगेर गरेका थिए । पदभार ग्रहण लगत्तै सेना प्रमुखलाई भेटेर विपद् व्यवस्थापन र राष्ट्रिय सुरक्षामा सेनाको योगदानको प्रशंसा गर्नुलाई अर्थपूर्ण रूपमा हेरिएको थियो । तर, सेनासँगको यही सम्बन्ध कालान्तरसम्मका लागि बालेनलाई फलिफापपूर्ण भएको देखिन्छ ।

    मेयरमा रहँदा नै बालेनले सार्वजनिक कार्यक्रमहरूमा जाने र बोल्ने क्रमलाई एकदमै सीमित पारे । उनको सार्वजनिक जीवनबारे मिडिया, महानगरका कर्मचारी र आम जनता बेखबर नै छन् । उनले आफूलाई एक अलौकिक पात्रकोरुपमा स्थापित गरेका छन् । उनी महानगर प्रमुख हुँदा तत्कालिन संघीय सरकार र पुराना राजनीतिक दलविरुद्ध सामाजिक सञ्जालमार्फत विद्रोह र घृणा फैलाउनमात्रै सीमित रहे । मेयर निर्वाचित भएलगत्तै तत्कालिन शीर्ष नेतासँग एक चरण भेटेका बालेन त्यसपर्यन्त आक्कलझुक्कलबाहेक बाहिर देखिएनन् । बरु उनी साथीहरूसँग रमाइलो गर्न कहिले चितवन त कहिले बुटवल पुगे । तर, सार्वजनिक कार्यक्रम र सर्वसाधारणसँग भेटमा निस्किएनन् ।

    मुलुकमा सामाजिक सञ्जाल बन्द गरिएपछि युवा तथा सर्वसाधारणमा आक्रोस पैदा भयो । २०८२ भदौ २३ गतेका लागि काठमाडौंमा प्रदर्शन तयारी भयो । बालेनले प्रदर्शनकारीको आन्दोलनलाई समर्थन जनाउँदै भदौ २२ गते राति फेसबुकमा लेखे– ‘भोलिको र्‍याली स्पष्ट स्वतःस्फूर्तरुपमा जेन–जी को हो , उहाँहरू भनेको २८ वर्ष मुनि हुनुहुन्छ, जसको लागि म पनि अझै बुढो देखिन्छु । मलाई पनि उहाँहरूको इच्छा, उद्देश्य, सोच बुझ्न मन छ । भोलि यो स्वतःस्फूर्त र्‍यालीमा कुनै पार्टी , नेता , कार्यकर्ता , सांसद, बहुला, अभियन्ताहरू आफ्नो स्वार्थ पूरा गर्न बाठो नबन्नु होला । म उमेर हदबन्दीको कारण जान मिल्दैन, तर उहाँहरूको कुरा बुझ्नु जरुरी छ , मेरो भरपूर समर्थन छ । प्रिय जेनजी भन्नुस् तपाईं हरुले कस्तो देश देख्न चाहनु हुन्छ ?’

    बालेनको पोस्ट्ले पनि धेरै युवा र सर्वसाधारणलाई हौस्यायो । आन्दोलन अनियन्त्रित भयो । काठमाडौं र इटहरीमा आन्दोलनको पहिलो दिन नै १९ जनाको ज्यान गयो । राति फेसबुकमार्फत नै उनले तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीलक्षित निकै आक्रामक फेसबुक स्टाटस लेखे । २४ गते झन् बढी विध्वंश भयो । बिहानदेखि नै देशभर सरकारी भवन, राजनीतिक दलका नेता कार्यकर्ताका निजी घर, पार्टी कार्यालय, व्यापारिक भवन लगायतमा आगजनी भयो । प्रधानमन्त्री ओलीले दिउँसो १२ बजे राजीनामा दिए ।

    ओलीको राजीनामापछि बालेनले आफ्‌नो बटमलाइन सार्वजनिक गरे । ‘सेना प्रमुखसँग वार्ता गर्न पनि तयार हुनुहोला,’ उनले भनेका थिए । बालेनले सेनासँग वार्ता गर्नुअघि संसद् विघटन भएको हुनुपर्ने पनि बताएका थिए । ‘याद रहोस् — वार्ता गर्नु अघि संसद् विघटन भएको हुनु पर्छ,’ बालेनले भनेका थिए ।

    जेठ १२ः वालेन्द्र शाह (बालेन) काठमाडौं महानगरपालिकाको मेयरमा निर्वाचित ।
    जेठ १६ः पदभार ग्रहणलगत्तै मेयर बालेनद्वारा सैनिक मुख्यालय पुगेर तत्कालीन प्रधानसेनापति प्रभुराम शर्मासँग पहिलो भेट; विपद् व्यवस्थापन र राष्ट्रिय सुरक्षामा सेनाको योगदानको प्रशंसा।
    भदौ २२ (राति)ः सामाजिक सञ्जाल बन्द भएपछि आक्रोशित युवाहरू (जेन–जी) ले भदौ २३ का लागि तय गरेको प्रदर्शनलाई समर्थन गर्दै बालेनद्वारा फेसबुक पोस्टमार्फत ऐक्यबद्धता र आह्वान ।
    भदौ २४ः देशव्यापी रूपमा सरकारी र राजनीतिक दलका भवनहरूमा आगजनी र विध्वंश । दिउँसो १२ बजे प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा राजीनामा । ओलीको राजीनामा पश्चातः बालेनद्वारा ‘वार्ता गर्नुअघि संसद् विघटन हुनुपर्ने’ र ‘सेना प्रमुखसँग वार्ता गर्न तयार हुन’ आफ्नो बटमलाइन सार्वजनिक ।
    असोज ३१ः नेपाली सेनाद्वारा पत्रकार सम्मेलन नै गरेर बालेनको प्रतिरक्षा ।
    फागुन २१ः देशमा आम निर्वाचन सम्पन्न । ‘निर्वाचन एकीकृत सुरक्षा कार्ययोजना–२०८२’ अन्तर्गत पहिलोपटक मतपेटिका गणनास्थलसम्म पुर्‍याउने सुरक्षा जिम्मा र चारवटै सुरक्षा निकायको संयुक्त कमान्डको विशेष अधिकार नेपाली सेनालाई प्रदान ।
    जेठ १३ः बालेन देशको प्रधानमन्त्री नियुक्त । सेनासँगको सामिप्यता कायमै राख्न रक्षा मन्त्रालय आफैंसँग राख्ने निर्णय ।
    चैत २६ः भक्तपुरको खरिपाटीस्थित नेपाली सैनिक प्रतिष्ठानमा आयोजित अधिकृत क्याडेट तालिमको आयुक्त पद प्रदान कवाज समारोहलाई सम्बोधन ।
    वैशाख १२ः थापाथलीस्थित सुकुम्वासी बस्तीमा महानगरको डोजर चल्दा नेपाली सेनाको उपस्थिति र सुकुम्वासीहरूको विवरण संकलनमा सेनाको संलग्नता ।

    देश बालेनले जसो भन्यो उसैगरी बाटोमा हिँडेको थियो । उनलाई सुरूमा प्रधानमन्त्री हुन भनिएको थियो । उनले मौन अस्वीकार गरे । बालेनले फोन समेत नउठाएको भन्दै जेनजीले आपत्ति जनाए । र, सुशीला कार्कीलाई प्रधानमन्त्री प्रस्ताव गरे । बालेनले समर्थन जनाउँदै लेखे, ‘प्रिय जेन–जी तथा सम्पूर्ण नेपालीहरूमा मेरो आग्रह, अहिले देश एउटा इतिहासमै नभएको फरक परिस्थितिमा छ । तपाईंहरूले अहिले सुनौलो भविष्यतर्फ कदम चाल्दै हुनुहुन्छ । यो बेला कृपया नआत्तिनुहोला, धैर्य राख्नुहोला । अब देश अन्तरिम सरकारमा जाँदैछ, जसले देशमा नयाँ चुनाव गराउनेछ । यो अन्तरिम सरकारको काम भनेको चुनाव गराउने, देशलाई नयाँ जनादेश दिने हो । यो अन्तरिम / चुनावी सरकारको नेतृत्व गर्नका लागि तपाईंहरूबाट आएको प्रस्ताव पूर्वप्रधानन्यायाधीश श्रीमान् सुशीला कार्कीप्रति पूर्ण समर्थन छ । तपाईंहरूको सुझबुझ, विवेक र एकतालाई हृदयदेखि सम्मान गर्न चाहन्छु । तपाईंहरू कति परिपक्व हुनुहुँदो रहेछ भन्ने कुरा यसैले जनाउँछ । अहिले नै हतारमा नेतृत्वमा आउन चाहनुभएका साथीहरूलाई के भन्न चाहन्छु भने— तपाईंहरूको जोस, तपाईंहरूको सोच, तपाईंहरूको इमानदारिता देशलाई स्थायी रूपमा चाहिएको हो, अस्थायी रूपमा होइन । त्यसका लागि चुनाव त हुन्छ नै । कृपया हतार नगर्नुहोला । सम्माननीय राष्ट्रपतिज्यू, जेनजीहरूले ल्याएको ऐतिहासिक क्रान्तिलाई संरक्षण गर्न अन्तरिम सरकारको गठन र संसद्को विघटन अविलम्ब गर्नुहोला ।’

    बालेनले आफ्‌नो योजना सफल बनाउन निरन्तर सेनासँग सहकार्य गरेका अनेक प्रसंग छन् । सुशीला कार्की प्रधानमन्त्री भएपछि निरन्तर सेना प्रमुख अशोकराज सिग्देलसँग सम्पर्कमा रहेका बालेनले चुनावमा पहिलोपटक मतपेटिका सुरक्षाको जिम्मा राष्ट्रिय सेनालाई दिलाए ।

    जेनजी आन्दोलनमा बालेनसँगको सम्बन्धबारे आलोचना भएपछि सेनाले प्रतिरक्षाका लागि २०८२ असोज ३१ गते पत्रकार सम्मेलन नै गरेको थियो । काठमाडौं महानगरपालिका तत्कालिन मेयर बालेनका विषयमा समेत सेना बोल्यो । ‘घुमाउरो’ तरिकाले बालेनको बचाउ मात्र गरेन, सुशीला कार्की नेतृत्वको सरकार र सत्ताच्यूत केपी शर्मा ओली सरकारका विषयमा समेत सेनाले कूटनीतिक हिसाबले बोल्यो ।

    नेपाली सेनाको जिम्मेवारीका विषयमा दुई बुँदासहित ३० बुँदा समेटेर सेनाले पत्रकार सम्मेलन गरेको थियो । १० वटा बुदाँहरू जेन–जी आन्दोलनसँग मात्र सम्बन्धित छन् । बाँकी १८ वटा विपद्, सेनाले सञ्चालन गरेका आयोजना, शान्ति मिसनलगायतमा केन्द्रित थिए । सिंहदरबार जलिरहँदा सेना कहाँ थियो भन्ने प्रश्नमा मात्र सीमित राख्न स्वयम् सेनाले चाहेन । ‘नागरिकको क्षतिभन्दा भौतिक क्षति ठूलो होइन’ भनेर सेनाले प्रतिवाद नै गर्‍यो । र भन्यो, ’सेनाले पनि थेग्न नसक्ने जनलहर थियो । जनताभन्दा ठूलो भौतिक सम्पत्ति होइन ।’ जेन–जी आन्दोलन प्रतिगमन थियो भन्नेहरूलाई पनि ‘जनलहर’ मार्फत खण्डन गर्‍यो । २०८२ फागुन २१ गते सम्पन्न निर्वाचनमा नेपाली सेनाको भूमिकालाई ऐतिहासिक रूपमा विस्तार गरियो । ‘असामान्य परिस्थिति’ मा निर्वाचन हुन लागेको भन्दै ’निर्वाचन एकीकृत सुरक्षा कार्ययोजना–२०८२’ अन्तर्गत पहिलोपटक मतपेटिका गणनास्थलसम्म पुर्‍याउने सुरक्षा जिम्मा नेपाली सेनालाई दिइयो ।

    विगतका निर्वाचन (२०७०, २०७४, २०७९) मा सेनालाई बाहिरी घेरामा मात्र सीमित राखिएकोमा यसपटक सेनाका ८० हजारसहित कुल सुरक्षाकर्मी परिचालन गरिएका थिए । मतदानस्थलको भित्री सुरक्षा नेपाल प्रहरी (७१ हजार) र दोस्रो घेरा सशस्त्र प्रहरी (३५ हजार) ले सम्हाले पनि चारवटै सुरक्षा निकायको संयुक्त कमान्ड लिने विशेष अधिकार समेत सेनालाई दिइएको थियो । बालेनले २०८२ जेठ १३ मा प्रधानमन्त्री भएपछि सेनासँगको सामिप्यतालाई जीवन्त राख्न रक्षा मन्त्रालय आफैंसँग राखे । प्रधानमन्त्री भएपछिको दुई महिनामा केवल एउटा मात्र सार्वजनिक कार्यक्रममा सहभागी भए, त्यो थियो— नेपाली सेनाको कार्यक्रम । राष्ट्रिय पोसाक लगाउन समेत रुचि नदेखाउने शाहले उक्त सैनिक कार्यक्रममा भने राष्ट्रिय पोसाक लगाएर लिखित मन्तव्य दिएका थिए ।

    झन्डै दुई तिहाइको सरकारको नेतृत्व गरिरहेका प्रधानमन्त्री बालेन शाह संसद्लाई बेवास्ता गरेका छन् । गत वैशाख २८ गते राष्ट्रपति रामचन्द्र पौडेलले संसद्मा सरकारको वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गरिरहँदा प्रधानमन्त्री शाह बीचमै उठेर हिँडे । वैशाख ३० गते नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिने कार्यसूचीमा प्रधानमन्त्री संसद्मै उपस्थित भएनन् । जसका कारण नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा, राप्रपा र श्रम संस्कृति पार्टी लगायतका विपक्षी दलहरूले तीन पटकसम्म बैठक अवरुद्ध गरे । अन्ततः वैशाख ३१ मा सरकारले प्रतिपक्षलाई पेलेरै बहुमतले नीति तथा कार्यक्रम पारित गर्‍यो ।

    संसद वाकओभर गरेका प्रधानमन्त्रीले सुकुम्बासी बस्ती हटाउन समेत सेनाको साथ लिएका छन् । २०८२ वैशाख १२ गते थापाथलीस्थित सुकुम्वासी बस्तीमा महानगरको डोजर चल्दा नेपाली सेनाको उपस्थिति देखिनु र सुकुम्वासीहरूको विवरण संकलनमा सेना संलग्न हुनुले बालेनको सेना सम्बन्धलाई थप चर्चामा ल्यायो । यद्यपि, सेनाले विपद्जन्य घटनाको पूर्वतयारीका लागि मात्र विवरण संकलन गरिएको स्पष्टीकरण दिएको थियो ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images