नेपालको संसदीय इतिहासमा विभिन्न कालखण्डमा घटेका प्रमुख काण्डहरूले राज्यका हरेक खम्बा र संयन्त्रभित्र संस्थागत कुशासन, नीतिगत भ्रष्टाचार र शक्तिको चरम दुरुपयोग भएको स्पष्ट देखिन्छ । प्राकृतिक स्रोतको सम्झौता, राष्ट्रिय ध्वजावाहकका विमान खरिद तथा भाडा प्रकरण, र राष्ट्रिय गौरवका आयोजनाहरूमा राजनीतिक नेतृत्व र उच्च कर्मचारीतन्त्रले कमिसनको दाउपेच खडा गरी राज्यकोषको अर्बौँ रुपैयाँ हिनामिना गरेका छन् । प्रस्तुत छ बहुदलीय व्यवस्थापछिका ३५ वर्षमा भएका प्रमुख काण्डहरूको नालिबेलीः
१. टनकपुर सम्झौता (२०४८)
वि.सं. २०४८ मा तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले भारतसँग टनकपुर बाँध सम्बन्धी सम्झौता गरेका थिए । नेपालको संविधान अनुसार प्राकृतिक स्रोतको बाँडफाँड सम्बन्धी सम्झौता संसदको दुई–तिहाइले अनुमोदन गर्नुपर्नेमा यसलाई साधारण सम्झौता मात्र भनिएकाले विवाद चर्किएको थियो । यस सम्झौतालाई राष्ट्रघाती भन्दै विपक्षी दलहरूले देशव्यापी रूपमा उग्र सडक आन्दोलन चकाएका थिए भने सर्वोच्च अदालतले यसलाई ‘संसद्बाट अनुमोदन गराउनुपर्ने’ फैसला सुनाएपछि तत्कालीन सरकार ठूलो नैतिक संकटमा परेको थियो ।
२. धमिजा काण्ड (२०५०)
नेपाल वायुसेवा निगमको टिकट बिक्रीका लागि तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको दबाबमा विना प्रतिस्पर्धा र विना टेन्डर दिनेश धमिजा नामक एजेन्ट नियुक्त गरिएको थियो । यो नियुक्तिले निगमलाई करोडौँ रुपैयाँ आर्थिक नोक्सानी पुर्याउनुका साथै नेपाली राजनीति र नेपाली कांग्रेसभित्र ठूलो आन्तरिक विवाद चुल्याएको थियो । अन्ततः यही विवाद र पार्टीभित्रको ‘छत्तीसे’ र ‘चौहत्तरे’ समूहको अन्तर्घातका कारण २०५१ सालमा मध्यावधि निर्वाचन घोषणा भएको थियो ।
३. चेजएयर काण्ड (२०५५)
लाउडा काण्ड अघि नेपाल वायुसेवा निगमका लागि चेजएयरसँग विमान भाडामा लिने सम्झौता गरिएको थियो । निगमले बिना बैंक ग्यारेन्टी नौ लाख अमेरिकी डलरभन्दा बढी रकम एड्भान्स भुक्तानी गरे पनि सम्झौता अनुसार चेजएयरले नेपालमा कहिल्यै विमान पठाएन र उक्त रकम डुब्न पुग्यो । यस काण्डमा निगमका उच्च पदाधिकारी र राजनीतिक नेतृत्वको मिलेमतो रहेको पुष्टि भएको थियो ।
४. ललिता निवास काण्ड
काठमाडौंको मुटुमा रहेको सरकारी स्वामित्वको ललिता निवासको करिब १४३ रोपनी जग्गा भूमाफिया र नेताहरूको मिलेमतोमा व्यक्तिको नाममा दर्ता गरिएको थियो । वि.सं. २०४७ देखि २०६९ सम्मका विभिन्न सरकारका पालामा मन्त्रिपरिषद्का निर्णयहरू सच्याउँदै सरकारी जग्गा व्यक्तिको बनाइएको यस काण्डमा पूर्वप्रधानमन्त्रीहरू, मन्त्रीहरू र विशिष्ट कर्मचारीहरू मुछिएका थिए । सीआईबी र अख्तियारले लामो अनुसन्धान गरी सयौँ विरुद्ध अदालतमा मुद्दा दायर गरेपछि यो नेपालकै ठूलो जग्गा घोटाला प्रमाणित भयो ।
५. ओम्नी काण्ड (२०७६)
कोभिड–१९ महामारीको सुरुवातमा स्वास्थ्य मन्त्रालयले विना प्रतिस्पर्धा ‘ओम्नी बिजनेश कर्पोरेट इन्टरनेशनल’ लाई बजार मूल्यभन्दा अत्यधिक महँगो दरमा र न्यून गुणस्तरका स्वास्थ्य सामग्री खरिद गर्ने ठेक्का दिएको थियो । चौतर्फी विरोध र विवाद चर्किएपछि सरकारले ओम्नीसँगको सम्झौता रद्द गरी कालोसूचीमा राख्ने घोषणा गर्यो । यस काण्डमा तत्कालीन उपप्रधानमन्त्री र स्वास्थ्य मन्त्रीको प्रत्यक्ष संरक्षण रहेको आरोप लागेको थियो । तर, आरोप पुष्टि भएको छैन ।
६. चाइना साउथवेस्ट एयरलाइन्स काण्ड (२०५५)
विना प्रतिस्पर्धा हङकङ उडानका लागि चाइना साउथवेस्ट एयरलाइन्सलाई एजेन्ट नियुक्त गर्दा ठूलो कमिसनको खेल भएको थियो । तत्कालीन पर्यटन मन्त्री यामलाल कँडेलले निगमका महाप्रबन्धकलाई बर्खास्त गरेर आफ्ना अनुकूलका मान्छे राखी यो निर्णय गराएका थिए । यस काण्डले सरकारी स्वामित्वको वायुसेवा निगमलाई धराशयी बनाउन ठूलो भूमिका खेल्यो र यस विषयमा संसद तथा सञ्चारमाध्यममा लामो समयसम्म तीव्र आलोचना भएको थियो ।
७. वाइडबडी खरिद काण्ड (२०७५)
नेपाल वायुसेवा निगमका लागि दुई वटा ए–३३० वाइडबडी विमान खरिद गर्दा करिब ४ अर्ब ३५ करोड रुपैयाँ भ्रष्टाचार भएको आरोप लागेको थियो । सिधै विमान निर्माता कम्पनीसँग खरिद नगरी ‘हाइफ्लाई एक्स’ नामक कन्सोर्टियम खडा गरी बिचौलिया मार्फत विमान खरिद गरिएको थियो । संसद्को सार्वजनिक लेखा समितिले यसमा गम्भीर अनियमितता भएको प्रतिवेदन सार्वजनिक गर्दै तत्कालीन मन्त्रीहरू, सचिवहरू र निगमका महाप्रबन्धक सुगतरत्न कंसाकारलाई मुख्य दोषी देखाएको थियो ।
८. नक्कली भुटानी शरणार्थी काण्ड (२०८०)
नेपाली नागरिकहरूलाई नक्कली भुटानी शरणार्थी बनाई अमेरिका पठाउने बहानामा करोडौँ रुपैयाँ ठगी गर्ने गिरोहसँग देशको गृह प्रशासन र उच्च राजनीतिक नेतृत्वको प्रत्यक्ष मिलेमतो रहेको खुलासा भएको थियो । यस काण्डमा पूर्व गृह मन्त्री बालकृष्ण खाँण, नेकपा एमालेका सचिव टोपबहादुर रायमाझी र पूर्व गृहसचिव टेकनारायण पाण्डे लगायतका उच्च अधिकारीहरू पक्राउ परी जेल चलान भए । यो काण्डले नेपालको अन्तर्राष्ट्रिय साख र राज्य संयन्त्रको विश्वसनीयतामाथि ठूलो कलंक लगायो ।
९. सुन तस्करी काण्डहरू
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार र सुरक्षा संयन्त्रलाई छलेर हङकङ र दुबईबाट पटक–पटक ठूलो परिमाणमा सुन तस्करी हुने गरेको खुलासा भएको थियो । वि.सं. २०७४ मा ३३ केजी सुन गायब भएपछि भरिया सनम शाक्यको हत्या हुँदा यो सञ्जाल बाहिर आएको थियो भने पुनः २०८० सालमा ब्रेक सु भित्र लुकाइएको करिब ६१ केजी सुन बरामद भयो । यी काण्डहरूमा विमानस्थलका कर्मचारी, भन्सार अधिकृत, व्यापारी र राजनीतिक दलका उच्च नेताहरूको संरक्षण रहेको पुष्टि भएको थियो । सुन प्रकरणमा पूर्वसभामुख कृष्णबहादुर महरालगायत उच्च राजनीतिक व्यक्ति मुछिएका छन् ।
१०. एनसेल कर छली र सेयर खरिद–बिक्री काण्ड
दूरसञ्चार प्रदायक कम्पनी एनसेलको स्वामित्व मलेसियाको आजियाटा कम्पनीलाई बिक्री गर्दा पुँजीगत लाभकर छली गर्न खोजिए पनि सर्वोच्च अदालतको आदेशानुसार एनसेल अर्बौँ रुपैयाँ कर तिर्न बाध्य भएको थियो । पुनः सन् २०२३ मा आजियाटाले आफ्नो ८० प्रतिशत सेयर नेपाल सरकारलाई थाहै नदिई र कर छल्ने नियतले कौडीको भावमा अपरिचित कम्पनीलाई अपारदर्शी रूपमा बिक्री गरेपछि संसद्मा यसको ठूलो विरोध भएको थियो ।
११. तारागाउँ रिजेन्सी (ह्यात होटल) जग्गा काण्ड
बौद्धमा रहेको तारागाउँ विकास समितिको स्वामित्वमा रहेको १५० रोपनी सरकारी जग्गा निजी क्षेत्रको सर्राफ समूहलाई कौडीको भाउमा सुम्पिइएको थियो । सुरुमा सरकारी सेयर हिस्सा धेरै भए पनि पछिल्ला वर्षहरूमा प्रबन्धपत्र संशोधन गरी सरकारी स्वामित्वलाई न्यून बनाइएको संसदीय छानबिनले पुष्टि गरेको थियो । यस काण्डले सरकारी सम्पत्तिमाथि निजी क्षेत्र र राजनीतिक नेतृत्वले कसरी दोहन गर्छन् भन्ने स्पष्ट पारेको थियो ।
१२. मेलम्ची घोटाला काण्ड
काठमाडौँवासीलाई पानी खुवाउने राष्ट्रिय गौरवको मेलम्ची आयोजनामा इटालियन ठेकेदार कम्पनी सीएमसी सँगको कमिसन खेलका कारण आयोजना वर्षौँ धकेलियो र पछि चिनियाँ कम्पनीलाई बाँकी काम दिँदा अर्बौँको आर्थिक अनियमितता भयो । खानेपानी मन्त्रालयका उच्च अधिकारीहरूले कमिसन बार्दा सीएमसीकाम छाडेर भाग्न बाध्य भएको आरोप लागेको थियो । वि.सं. २०८० मा अख्तियारले यस प्रकरणमा पूर्वमन्त्री र सचिवहरू सहित विशेष अदालतमा मुद्दा दायर गर्यो ।
१३. दरबार हत्याकाण्ड (२०५८)
वि.सं. २०५८ जेठ १९ गते नारायणहिटी राजदरबारभित्र राजा वीरेन्द्रको सपरिवारको विभत्स हत्या भएको थियो । तत्कालीन युवराज दीपेन्द्रले पारिवारिक विवादका कारण अन्धाधुन्ध गोली चलाई हत्या गरेको र पछि आफैँलाई गोली हानेको सरकारी छानबिन समितिले प्रतिवेदन दिए पनि आम जनताले यसलाई ठूलो राजनीतिक षड्यन्त्र मान्दै सहजै स्वीकार गरेनन् । यस काण्डले नेपालको इतिहास मोडिँदै राजतन्त्रको अन्त्य र गणतन्त्र स्थापनाको जग बसाल्न मुख्य भूमिका खेल्यो ।
१४. पजेरो/प्राडो काण्ड (२०५० को दशक)
वि.सं. २०५२ पछि तत्कालीन सरकारले सांसदहरूलाई खुसी पार्न कर छुटमा प्राडो र पजेरो जस्ता विलासी गाडी आयात गर्न पाउने सुविधा दिएको थियो । सांसदहरूले उक्त सुविधाको दुरुपयोग गर्दै तस्कर र व्यापारीहरूलाई गाडी बेचेर आर्थिक लाभ लिएका थिए । यो काण्डले नेपाली राजनीतिमा सांसदहरूको खरिद–बिक्री र संसदीय व्यवस्थाकै बद्नामी गराउँदै राजनीतिक ‘नैतिकता पतन’ को सुरुवात गरेको थियो ।
१५. नेपाल ट्रस्ट जग्गा हिनामिना काण्ड
राजा वीरेन्द्र र उनको परिवारको नाममा रहेको अर्बौँ मूल्यको चल–अचल सम्पत्ति संरक्षण गर्न स्थापना गरिएको ‘नेपाल ट्रस्ट’ को बहुमूल्य जग्गा भूमाफिया र व्यापारिक घरानाको मिलेमतोमा दुरूपयोग गरिएको थियो । तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारका पालामा ऐन नै संशोधन गरेर ट्रस्टको जग्गा व्यापारिक प्रयोजनका लागि लिजमा दिन मिल्ने खुकुलो प्रावधान बनाइ दरबारमार्ग, ताहाचल र गोकर्ण फरेस्ट रिसोर्ट लगायतका जग्गाहरू विना प्रतिस्पर्धा ‘यती होल्डिङ्स’ समूहलाई कौडीको भाउमा सुम्पिइएको थियो ।
१६. लडाकु शिविर घोटला काण्ड
शान्ति सम्झौता पछि अनमिनको प्रमाणीकरणमा रहेका माओवादी लडाकुहरूको भत्ता र रासनमा शिविरमा नरहेका नक्कली (भूत) लडाकुहरूको नाममा समेत राज्यकोषबाट रकम निकासा गरेर अर्बौँ रुपैयाँ घोटाला भएको आरोप लागेको थियो । नेकपा एमाले र नेपाली कांग्रेसले यसलाई लामो समयसम्म मुख्य राजनीतिक मुद्दा बनाए पनि राजनीतिक भागबन्डा र प्रभावका कारण यो मुद्दा लामो समयसम्म अख्तियारमा तामेलीमा राखियो ।
१७. सहकारी ठगी काण्ड (२०८०)
पोखराको सूर्यदर्शन, बुटवलको सुप्रिमो र चितवनको सहारा लगायतका सहकारीबाट सर्वसाधारणको अर्बौँ रुपैयाँ बचत गोर्खा मिडिया नेटवर्कका अध्यक्ष जीबी राई र प्रबन्ध निर्देशक रवि लामिछानेको मिलेमतोमा गैरकानुनी रूपमा टेलिभिजनमा सारेर अपचलन गरिएको थियो । संघीय संसद्को विशेष छानबिन समितिले यसको पुष्टि गरेसँगै यो काण्डले नेपालको समग्र सहकारी क्षेत्र धराशयी बनेको र लाखौँ बचतकर्ता सडकमा पुगेको यथार्थ उजागर भएको थियो ।
१८. पशुपतिनाथ जलहरी काण्ड (२०७९)
तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशनमा राज्यकोषको करिब १ अर्ब रुपैयाँ खर्चेर पशुपतिनाथको ज्योतिर्लिङ्गमा सुनको जलहरी राख्ने क्रममा करिब साढे १० केजी सुन गायब भएको भन्दै संसद्मा विवाद उठेको थियो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पशुपति परिसरमै पुगेर सुन जोखेर जाँच गर्दा केही प्राविधिक त्रुटि र अनियमितता फेला पारेपछि पशुपति क्षेत्र विकास कोषका पदाधिकारीहरू विरुद्ध मुद्दा दायर गरिएको थियो ।
१९. मेडिकल कलेज सम्बन्धन र सिट निर्धारण घोटाला
नेपालका निजी मेडिकल कलेजहरूलाई सम्बन्धन दिने र विद्यार्थी कोटा (सिट) निर्धारण गर्दा नेपाल मेडिकल काउन्सिल र विश्वविद्यालयका उच्च पदाधिकारीहरूको संलग्नतामा करोडौँ रुपैयाँ घूस लेनदेन हुने गरेको रहस्य खुलेको थाहा पाइएको थियो । वरिष्ठ चिकित्सक डा. गोविन्द केसीले चिकित्सा शिक्षा क्षेत्रको यही बेथिति विरुद्ध पटक–पटक आमरण अनशन बसेपछि उनको आन्दोलनकै बलमा चिकित्सा शिक्षा आयोग गठन भई यो क्षेत्रको माफियाकरणमा केही कमी आयो ।
२०. नक्कली भ्याट बिल काण्ड
वि.सं. २०६७ सालतिर आन्तरिक राजस्व विभागको अनुसन्धानबाट देशका प्रतिष्ठित उद्योगी, व्यापारी र बहुराष्ट्रिय कम्पनीहरूले सामान नै खरिद–बिक्री नगरी केवल कागजमा नक्कली कम्पनी खडा गरी अर्बौँ रुपैयाँ कर छली गरेको खुलासा भएको थियो । राजस्व प्रशासनले साढे ३ सयभन्दा बढी फर्महरूमाथि अनुसन्धान गरी करिब साढे ६ अर्ब रुपैयाँ कर निर्धारण गरेको थियो, जसलाई पछि सर्वोच्च अदालतले समेत सदर गर्दै दोषी ठहर गरेपछि यो इतिहासकै सबैभन्दा ठूलो संस्थागत कर छली काण्ड प्रमाणित भयो ।
२१. त्रिवि जग्गा हिनामिना काण्ड
कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको स्वामित्वमा रहेको सयौँ रोपनी बहुमूल्य जग्गा विश्वविद्यालयकै उच्च पदाधिकारीहरूको मिलेमतो र फितलो संरक्षणका कारण विभिन्न सरकारी निकाय, अस्पताल, र निजी संस्थाहरूलाई राजनीतिक दबाबका आधारमा कौडीको भाउमा वा निःशुल्क भोगचलन गर्न दिई हिनामिना गरिएको थियो । वि.सं. २०७६ मा पूर्वसचिव शारदाप्रसाद त्रितालको संयोजकत्वमा गठित छानबिन समितिले यस सम्बन्धी गैरकानुनी अतिक्रमणको प्रतिवेदन सार्वजनिक गरेको थियो ।
२२. स्मार्ट लाइसेन्स ठेक्का घोटाला काण्ड
यातायात व्यवस्था विभागले देशभरिका सवारी चालकहरूलाई ‘स्मार्ट ड्राइभिङ लाइसेन्स’ वितरण गर्ने भन्दै भारतीय र अन्य कम्पनीलाई ठेक्का दिए पनि आवश्यक प्रविधि, कार्ड र मेसिनको अभाव देखाउँदै वर्षौँसम्म सर्वसाधारणलाई लाइसेन्स दिइएको थिएन । भित्रभित्रै लाखौँ नक्कली र अवैध लाइसेन्स वितरण गरिएको र ठेक्का सम्झौतामा ठूलो कमिसनको खेल भएको सीआईबीको अनुसन्धानमा खुलेपछि राज्यको यातायात सेवा प्रवाह कतिसम्म भ्रष्ट छ भन्ने प्रमाणित भयो ।
२३. बूढीगण्डकी जलविद्युत आयोजना ठेक्का काण्ड
१२ सय मेगावाटको बूढीगण्डकी जलाशययुक्त आयोजना विना प्रतिस्पर्धा चिनियाँ कम्पनी ‘गेजुवा’ लाई दिने र पछि खोस्ने राजनीतिक दाउपेचका कारण यो आयोजना कमिसनको खेलमा फसेको थियो । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले शीर्ष नेताहरूले ९ अर्ब रुपैयाँ कमिसन बाँडेर खाएको सार्वजनिक आरोप समेत लगाएका थिए । राजनीतिक अस्थिरता र नीतिगत अन्योलका कारण यो राष्ट्रिय गौरवको आयोजना आजसम्म पनि अघि बढ्न सकेको छैन ।
२४. टेरामक्स खरिद घोटाला काण्ड (२०८०)
नेपाल दूरसञ्चार प्राधिकरणले कल बाइपास रोक्ने र गुणस्तर मापन गर्ने भन्दै अन्तर्राष्ट्रिय बजार मूल्यभन्दा अत्यधिक महँगो मूल्यमा ‘टेरामक्स’ प्रविधि खरिद गर्दा अर्बौँ रुपैयाँ भ्रष्टाचार भएको खुलासा भएको थियो । यस काण्डमा तत्कालीन सञ्चार मन्त्रीहरू, सचिवहरू र प्राधिकरणका उच्च पदाधिकारीहरूको मिलेमतो भेटिएपछि अख्तियारले राज्यकोषमा व्यापक हानि नोक्सानी पुर्याएको भन्दै विशेष अदालतमा भ्रष्टाचारको मुद्दा दायर गर्यो ।
२५. गिरिबन्धु काण्ड
झापाको गिरिबन्धु टी स्टेटको हदबन्दी भन्दा बढी भएपछि सरकारको स्वामित्वमा आउनुपर्ने करिब ३४३ बिघा बहुमूल्य जग्गा भूमाफिया र व्यापारिक घरानालाई सुम्पिने नियतले ‘नीतिगत सेटिङ’ गरिएको थियो । वि.सं. २०७८ मा तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारले भूमि सम्बन्धी ऐन नै संशोधन गरेर जग्गा सट्टापट्टा गर्न मिल्ने गरी मन्त्रिपरिषद्बाट निर्णय गराए पनि वि.सं. २०८० मा सर्वोच्च अदालतको संवैधानिक इजलासले उक्त निर्णयलाई ‘बदनियतपूर्ण र राष्ट्रहित विपरित’ भन्दै बदर गरिदिएको थियो ।
२६. आयल निगम जग्गा खरिद काण्ड (२०७४)
नेपाल आयल निगमले पेट्रोलियम पदार्थ भण्डारणका लागि देशका विभिन्न स्थानमा जग्गा खरिद गर्दा निगमका तत्कालीन कार्यकारी निर्देशक गोपाल खड्काको मुख्य योजनामा बिचौलिया परिचालन गरी चल्तीको मूल्यभन्दा तेब्बर महँगो दरमा किनेर करोडौँ रुपैयाँ कमिसन खाइएको थियो । संसदीय समिति र सञ्चारमाध्यमको खोजपछि अख्तियारले गोपाल खड्का विरुद्ध गैरकानुनी सम्पत्ति आर्जन र जग्गा खरिदमा भ्रष्टाचार गरेको कसुरमा मुद्दा चलायो ।
२७. चूडामणि शर्मा र कर फसर्््यौट आयोग काण्ड (२०७४)
कर फर्स्यौट आयोग २०७१ का सदस्य सचिव चूडामणि शर्मा र अन्य पदाधिकारीले आपसी सेटिङ र बदनियत राखेर ठूला उद्योगी र व्यापारीहरूको अर्बौँ रुपैयाँ कर गैरकानुनी रूपमा मिनाहा गरिदिँदा राज्यलाई ठूलो राजस्व घाटा लागेको थियो । अख्तियारले चूडामणि शर्मालाई कार्यकक्षबाटै पक्राउ गरी इतिहासकै ठूलो बिगो दाबीसहित मुद्दा दायर गरेपछि नेपालको कर प्रशासनभित्रको संस्थागत नीतिगत भ्रष्टाचार उदाङ्गो भएको थियो ।
२८. टीकापुर काण्ड
वि.सं. २०७२ मा थारुहाट आन्दोलनका क्रममा कैलालीको टीकापुरमा नेपाल प्रहरीका एसएसपी लक्ष्मण न्यौपाने सहित ८ जनाको निर्मम हत्या भएको घटनाका मुख्य योजनाकार भनी रेशम चौधरीलाई अदालतले जन्मकैदको सजाय सुनाएको थियो । तर, वि.सं. २०८० मा सत्ता गठबन्धन टिकाउने र सरकार बनाउने राजनीतिक स्वार्थका लागि सरकारको सिफारिसमा राष्ट्रपतिबाट चौधरीलाई आममाफी दिइएपछि अदालतको फैसला र कानुनी राज्यको खिल्ली उडाउँदै अपराधीलाई राजनीतिक संरक्षण दिएको भन्दै नागरिक समाज र पीडित परिवारले तीव्र आक्रोश पोखेका थिए ।
२९. भिजिट भिसा काण्ड
रोजगारी वा अन्य सिलसिलामा भिजिट भिसामा विदेश जाने विपन्न तथा सर्वसाधारण नेपाली नागरिकहरूसँग त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका अध्यागमन कर्मचारी, म्यानपावर व्यवसायी र दलालहरूको मिलेमतोमा संगठित रूपमा करोडौँ रुपैयाँ अनधिकृत पैसा असुलिएको खुलासा भएको थियो । अध्यागमन प्रमुख तीर्थराज भट्टराईलगायतका उच्च अधिकारी यही प्रकरणमा मुछिएका छन् । तत्कालिन गृहमन्त्री रमेश लेखक, सचिव गोकर्णमणि दुवाडी लगायतले भने सफाइ पाएका छन् । यस प्रकरणलाई लिएर रास्वपाले करिव तीन महिना संसद अवरोध गरेको थियो ।
३०. लाउडा काण्ड (२०५७)
नेपाल वायुसेवा निगमका लागि अस्ट्रियाको लाउडा एयरबाट बोइङ विमान भाडामा लिँदा ठूलो आर्थिक अनियमितता भएको थियो । तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला र पर्यटन मन्त्री तारणीदत्त चटौतको प्रत्यक्ष संलग्नता रहेको भन्दै प्रतिपक्ष नेकपा एमालेले संसद्को हिउँदे अधिवेशन पूरै अवरुद्ध पारेको थियो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यस विषयमा विशेष अदालतमा मुद्दा दायर गरे पनि धेरै वर्षपछि मात्र यसको किनारा लागेको थियो ।
३१. टीकापुर जग्गा घोटाला काण्ड
कैलालीको टीकापुर नगर विकास समितिको स्वामित्वमा रहेको अर्बौँ मूल्यको सरकारी जग्गा वि.सं. २०६३ देखि २०७० को अवधिमा नेता, कर्मचारी र बिचौलियाको मिलेमतोमा नक्कली सुकुम्वासी र घडेरीका नाममा तोक आदेशका भरमा कौडीको भाउमा बेचिएको थियो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले लामो अनुसन्धानपछि करिब २५० जनाभन्दा बढी उच्च पदाधिकारी, नेता र कर्मचारी विरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेपछि यो काण्ड पनि मोफसलमा सरकारी सम्पत्ति कसरी लुटिन्छ भन्ने एउटा ठूलो नमुना बन्यो ।
३२. सुडान घोटाला काण्ड (२०६८)
संयुक्त राष्ट्रसंघको शान्ति स्थापना मिसनका लागि सुडान जाने नेपाली प्रहरीका लागि बख्तरबन्द गाडी (एपीसी) र अन्य सामान खरिद गर्दा गुणस्तरहीन र पुराना सामान राखेर करिब २९ करोड रुपैयाँ सरकारी रकम हिनामिना गरिएको थियो । यस काण्डमा नेपाल प्रहरीका तीन पूर्व महानिरीक्षकहरू (आईजीपी) ओमविक्रम राणा, हेमबहादुर गुरुङ र रमेशचन्द ठकुरी दोषी ठहर भई जेल परेका थिए भने सर्वोच्च अदालतले गृह मन्त्रालयका उच्च अधिकारी र ठेकेदारलाई समेत सजाय सुनाएको थियो ।
३३. सेक्युरिटी प्रिटिङ प्रेस ७० करोड काण्ड (२०७६)
सेक्युरिटी प्रिटिङ प्रेस (सुरक्षित मुद्रण) खरिदका लागि स्वीस कम्पनीका एजेन्टसँग ७० करोड रुपैयाँ कमिसन बार्दै गरेको अडियो सार्वजनिक भएपछि तत्कालीन सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाले आफ्नो पदबाट राजीनामा दिनुपरेको थियो । यो काण्डले तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारको ‘भ्रष्टाचार शून्य सहनशीलता’ को नारामाथि धक्का पुर्याएको थियो ।
३४. रासायनिक मल खरिद काण्ड
प्रत्येक वर्ष खेतीको सिजनमा कृषि सामग्री कम्पनी र ठेकेदारहरूको मिलेमतोमा समयमा मल नल्याउने र ल्याएका मल पनि गुणस्तरहीन हुने गरेका कारण देशमा मलको चरम अभाव हुने गरेको छ । वि.सं. २०७७ मा मल ल्याउने ठेक्का पाएका सैलुङ इन्टरनेशनल र होनिको मल्टिपल कम्पनीले समयमा मल नल्याएर किसानलाई सास्ती दिएका थिए । राजनीतिक पहुँचका आधारमा कारबाहीबाट जोगिने परिपाटीले गर्दा मल खरिदमा सधैँ अर्बौँको भ्रष्टाचार हुँदै आएको छ ।
३५. पोखरा र गौतम बुद्ध विमानस्थल घोटाला काण्ड
चीनको एक्जिम बैङ्कको करिब २२ अर्ब रुपैयाँ ऋण सहयोगमा निर्माण गरिएको पोखरा विमानस्थल आयोजनामा लागत अत्यधिक बढाएर अर्बौँ रुपैयाँ भ्रष्टाचार गरिएको भन्दै अख्तियारले पूर्वमन्त्रीहरू, सचिवहरू र चिनियाँ ठेकेदार कम्पनीसहित ५६ जना विरुद्ध विशेष अदालतमा ८ अर्ब ३६ करोडभन्दा बढीको मुद्दा दायर गरेको थियो । त्यस्तै, एशियाली विकास बैङ्क को ऋण सहयोगमा निर्मित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल (भैरहवा) मा पनि सुरुवाती ठेक्का व्यवस्थापनदेखि नै चिनियाँ ठेकेदार कम्पनीसँगको मिलेमतोमा ठूलो आर्थिक चलखेल र कमिसनको खेल भएको आरोप लागेको थियो ।






















