images
images
  • असुरक्षित हिरासत र कारागार

    २०८१/८२ : ७९ जना
    २०८०/८१ : ८२ जना
    २०७९/८० : ७९ जना
    २०७८/७९ : ६९ जना

    कारागार सुधारका क्षेत्र
    हिरासत र कारागारको भौतिक संरचना सुधार
    नियमित निगरानी र प्रभावकारी सुरक्षा प्रणाली
    ड्युटीमा खटिने प्रहरीलाई विशेष तालिम
    थुनुवा र कैदीबन्दीको मानसिक स्वास्थ्य परीक्षण
    नियमित मनोपरामर्श सेवा
    तनाव घटाउने योग, परामर्श र पुनःस्थापना कार्यक्रम

    सिन्धुलीको इलाका प्रहरी कार्यालय खुर्कोटको हिरासतमा गत वैशाखमा श्रीकृष्ण विक मृत भेटिए । शौचालयभित्र आफ्नै सर्टको पासो लगाएर झुन्डिएको अवस्थामा फेला परेका उनलाई अस्पताल पुर्‍याइए पनि चिकित्सकले मृत घोषणा गरेका थिए । १६ वर्षीया किशोरीसँग प्रेम विवाह गरेको आरोपमा बलात्कारसम्बन्धी मुद्दामा अनुसन्धानका लागि पक्राउ गरिएका उनको पक्राउ परेको चार दिनमै मृत्यु भयो ।

    घटनापछि परिवारले हिरासतभित्र भएको मृत्युमाथि शंका व्यक्त गर्‍यो । त्यसपछि प्रहरी प्रधान कार्यालयले डीआईजी दिनेश आचार्यको संयोजकत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गर्‍यो । पोस्टमार्टमका लागि शव त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज पठाइयो । प्रहरी स्रोतका अनुसार पोस्टमार्टम रिपोर्टमा मृत्युको कारण ‘ह्याङ्गिङ’ उल्लेख गरिएको छ ।

    प्रहरीका अनुसार छानबिन प्रतिवेदन गृह मन्त्रालयमा पठाइसकिएको छ । प्रतिवेदनमा खुर्कोटका इन्चार्ज इन्स्पेक्टर वसन्त भुजेल र हिरासत ड्युटीमा रहेका प्रहरी जवान अर्जुन सिंहमाथि विभागीय कारबाही सिफारिस गरिएको छ भने अन्य १० प्रहरीलाई सचेत गराइएको छ ।

    हिरासतभित्र मृत्यु किन भइरहेका छन् ?

    सुरक्षा निकायको नियन्त्रणमा पुगेको व्यक्ति बाहिरभन्दा बढी सुरक्षित हुनुपर्ने मानिन्छ । हिरासतमा २४सै घण्टा निगरानी, सुरक्षा र नियन्त्रण हुने भएकाले त्यहाँ हुने आत्महत्या वा शंकास्पद मृत्युलाई सामान्य रूपमा लिन सकिँदैन ।

    प्रहरी अधिकारीहरू स्वयंले पनि हिरासतभित्र हुने आत्महत्या वा मृत्युमा ड्युटी कमजोरी रहने स्वीकार गर्छन् । खुर्कोट घटनामा हिरासतमा श्रीकृष्ण मात्रै थिए । ड्युटीमा पनि एक जना प्रहरी मात्रै खटिएका थिए । तर उनी शौचालयभित्र पासो लगाउन सफल भए । छानबिनमा शौचालय प्रयोग गर्दा पर्याप्त निगरानी नगरिएको र ड्युटी प्रणाली कमजोर रहेको निष्कर्ष निकालिएको छ ।

    मानवअधिकारकर्मी र सांसदहरूले हिरासतभित्र हुने अधिकांश मृत्युलाई सहजै ‘आत्महत्या’ भनेर निष्कर्ष निकाल्न नहुने तर्क गर्दै आएका छन् । उनीहरूका अनुसार राज्यको नियन्त्रणमा रहेका व्यक्तिको सुरक्षा पूर्ण रूपमा राज्यकै जिम्मेवारी हो ।

    पाँच वर्षको तथ्यांकले देखाएको चिन्ता

    प्रहरी प्रधान कार्यालयको तथ्यांकअनुसार चालु आर्थिक वर्ष २०८२/८३ मा मात्रै हालसम्म ७ जनाको प्रहरी हिरासतमा मृत्यु भइसकेको छ । कोशी प्रदेशमा १, बागमतीमा २, लुम्बिनीमा ३ र कर्णालीमा १ जनाको मृत्यु भएको छ । आर्थिक वर्ष सकिन अझै समय बाँकी भएकाले संख्या बढ्न सक्ने देखिन्छ ।

    अघिल्ला वर्षहरूको तथ्यांक हेर्दा पनि अवस्था चिन्ताजनक छ । हिरासतभित्र सीसी क्यामेरा जडान गरिए पनि धेरैजसो घटना शौचालय वा एकान्त स्थानमा हुने गरेको देखिन्छ । यसले हिरासतको भौतिक संरचना, निगरानी प्रणाली र सुरक्षा व्यवस्थामाथि प्रश्न उठाएको छ ।

    मानसिक दबाब पनि ठूलो कारण

    विशेषज्ञहरूका अनुसार हिरासतमा पुगेका व्यक्तिहरू अत्यधिक मानसिक तनावमा हुन्छन् । पक्राउ, सामाजिक अपमान, भविष्यप्रतिको डर र कानुनी अनिश्चितताले उनीहरूलाई गम्भीर मनोवैज्ञानिक दबाबमा पुर्‍याउन सक्छ ।

    पूर्वडीआईजी पिताम्बर अधिकारीका अनुसार प्रहरीले पक्राउपछि शारीरिक अवस्थाको परीक्षण गर्ने गरे पनि मानसिक अवस्थाको मूल्यांकनलाई प्राथमिकता दिँदैन । उनी भन्छन्, ‘आरोपीको मानसिक अवस्था कस्तो छ भन्ने पक्षलाई पनि कानुनी प्रक्रिया जत्तिकै गम्भीर रूपमा लिनुपर्छ ।’

    मनोचिकित्सकहरूका अनुसार हिरासतमा पुगेको पहिलो सातादेखि एक महिनासम्मको अवधि आत्महत्याको दृष्टिले अत्यन्त जोखिमपूर्ण हुन्छ । विशेषगरी संवेदनशील स्वभावका व्यक्तिहरूमा पछुतो, निराशा र अनिश्चित भविष्यको डरले आत्मघाती सोच बढ्न सक्छ ।

    वरिष्ठ मनोचिकित्सक डा. अनन्तप्रसाद अधिकारीका अनुसार विश्वव्यापी अध्ययनहरूले जेल वा हिरासतमा आत्महत्याको जोखिम सामान्य अवस्थाभन्दा धेरै उच्च रहेको देखाउँछन् । उनका अनुसार अधिकांश घटनामा मानसिक स्वास्थ्य समस्या, तीव्र तनाव र सामाजिक भय प्रमुख कारण बन्ने गर्छन् ।

    मनोचिकित्सक डा. ऋषभ कोइरालाका अनुसार आवेगमा गरिएको कामपछि हिरासतमा पुग्दा मानिसहरूमा “अब जीवन के हुन्छ ?” भन्ने गम्भीर चिन्ता पैदा हुन्छ । यस्तो अवस्थामा मनोपरामर्श र मानसिक स्वास्थ्य सेवा उपलब्ध गराउन सके जोखिम घटाउन सकिने उनको भनाइ छ ।

    कारागारको अवस्था झन् गम्भीर

    हिरासतभन्दा कारागारको अवस्था अझ जटिल देखिन्छ । तथ्यांकअनुसार नेपालका कारागारहरूमा हरेक वर्ष औसत ८० जनाको मृत्यु हुने गरेको छ । चालु आर्थिक वर्ष २०८२/८३ मा हालसम्म ५४ जनाको कारागारमा मृत्यु भएको छ, जसमा ५३ पुरुष र १ महिला छन् । कारागारमा दीर्घरोगी, वृद्धवृद्धा तथा लामो सजाय भोगिरहेका कैदीबन्दी धेरै हुने भएकाले मृत्यु दर पनि बढी देखिने गरेको प्रहरी अधिकारीहरू बताउँछन् । केन्द्रीय कारागार सुन्धारास्थित जगन्नाथदेवलमा कैदीबन्दीका लागि अस्पतालसमेत सञ्चालनमा छ ।

    तर सुरक्षाको सवालमा भने प्रश्न कायमै छन् । कारागारभित्र झडप, कैदीबन्दी फरार हुने घटना र कमजोर निगरानीले व्यवस्थापन प्रणालीमाथि प्रश्न उठाइरहेको छ । हालै केन्द्रीय कारागार सुन्धाराबाट जन्मकैद सजाय भोगिरहेकी सपना तामाङ पर्खाल नाघेर फरार भएकी घटना पनि सुरक्षा कमजोरीकै उदाहरण बनेको छ ।

    सुधारको आवश्यकता

    मानवअधिकारकर्मी, सुरक्षाविज्ञ र मनोचिकित्सकहरूका अनुसार हिरासत तथा कारागार सुधार अब अत्यावश्यक भइसकेको छ । राज्यको नियन्त्रणमा रहेका व्यक्तिको सुरक्षा राज्यकै दायित्व भएकाले हिरासत वा कारागारभित्र हुने प्रत्येक मृत्यु गम्भीर प्रश्नको विषय बन्ने गर्छ । त्यसैले यस्ता घटनालाई केवल ‘आत्महत्या’ भनेर टार्ने होइन, त्यसपछाडिका संरचनागत कमजोरी र मानसिक स्वास्थ्यसम्बन्धी पक्षलाई पनि समान रूपमा विश्लेषण गर्नुपर्ने आवश्यकता देखिएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images