पर्यटन मुलुकको विकासको भविष्य हो’ भनेर राजनीतिक एवं प्रशासनिक नेतृत्वमा रहेकाहरूले मञ्चपिच्छे भाषण गरिरहेका हुन्छन् । तर, विडम्बना ! त्यसअनुसारको नीति निर्माण गर्ने, लगानीको अनुकूल वातावरण सिर्जना गर्ने र पर्यटकमैत्री व्यवहार बनाउनेतिर कोही पनि अग्रसर देखिँदैनन् ।
थाइल्यान्ड, इन्डोनेसिया र भियतनामजस्ता देशहरूले पर्यटनलाई आफ्नो आर्थिक मेरुदण्डका रूपमा विकास गरिसकेका छन् । हामी भने अझै पनि अलमलमै छौँ । नेपालमा पर्यटन क्षेत्रलाई अझै पनि गहिराइका साथ बुझ्न सकिएको छैन । देशको समग्र आर्थिक रूपान्तरणका लागि पर्यटन व्यवसाय केवल एउटा विकल्प मात्र होइन, यो एक अपरिहार्य क्षेत्र हो भनेर बुझ्न अब ढिलाइ गर्नु हुँदैन । पर्यटन व्यवसाय फस्टाउँदा स्थानीय उत्पादनको खपत बढ्छ, व्यापक रोजगारी सिर्जना हुन्छ र देशमा विदेशी मुद्राको आम्दानी बढ्छ । त्यसैले त पर्यटनलाई एउटा ठूलो उद्योग मानिएको हो ।
अन्तर्राष्ट्रिय चेन होटलको प्रवेश र जनशक्ति विकास
नेपालमा पछिल्लो समय अन्तर्राष्ट्रिय चेन हस्पिटालिटी ब्रान्डहरू (जस्तैः म्यारियट, हायात, र्याडिसन, हिल्टन आदि) को प्रवेशले पर्यटन उद्योगमा अत्यन्त सकारात्मक असर पारेको छ । यसको पहिलो ठूलो योगदान जनशक्ति (ह्युमन रिसोर्स) विकासमा देखिएको छ । यी ब्रान्डेड होटलहरूमा काम गर्ने नेपाली कर्मचारीहरूले विश्वस्तरीय तालिम र अनुभव पाएका छन् ।
अहिले नेपालका धेरैजसो ठूला होटलहरूमा ‘जनरल म्यानेजर’ भारतबाट ल्याउने गरिएको छ । तर, यही गतिमा काम हुने हो भने अबको ५–७ वर्षपछि ती सबै उच्च पदहरूमा नेपाली जनशक्ति नै स्थापित हुनेछन् । छिमेकी मुलुक भारतले पनि सुरुवाती दिनमा युरोपबाट जनशक्ति ल्याउने गर्थ्यो, पछि आफ्नै दक्ष जनशक्ति तयार भएपछि त्यहाँको परिस्थिति बदलियो । ब्रान्डेड होटलमा काम गरेर अनुभव र सीप हासिल गरेका कर्मचारीहरू पछि गैर–ब्रान्डेड र स्थानीय होटलहरूको माथिल्लो पदमा पुग्छन् । त्यहाँ उनीहरूले अन्तर्राष्ट्रिय स्तरको कार्यशैली लागू गर्छन्, जसको सीधा फाइदा स्थानीय होटलहरूको स्तर उकास्नमा पुग्छ ।
दोस्रो, होटल उद्योगमा विभिन्न अन्तर्राष्ट्रिय ब्रान्डहरू आउँदा गुणस्तरीय सेवा–सुविधा प्रवाहमा स्वस्थ प्रतिस्पर्धा बढेको छ । यसले हाम्रो समग्र सेवाको स्तरलाई माथि उठाएको छ । निजी क्षेत्रले गरेको ठूलो लगानीकै कारण होटलहरूको गुणस्तरमा यो लोभलाग्दो सुधार सम्भव भएको हो । यसको अर्को सकारात्मक पाटो के छ भने, चेन होटलको विस्तारले नन–ब्रान्डेड वा स्थानीय होटलहरूलाई कुनै नकारात्मक असर गर्दैन । किनभने, ब्रान्डेड र नन–ब्रान्डेड होटलका ग्राहक र उनीहरूको बजार पूर्ण रूपमा फरक हुन्छन् ।
विश्वव्यापी ब्रान्डिङ र मौलिकताको सन्तुलन
विदेशी ब्रान्डहरूको आफ्नै विशिष्ट पहिचान र विशेषता हुन्छ । विदेशबाट आउने सम्भ्रान्त पर्यटकहरू अक्सर आफूले विश्वास गरेको चेन होटल खोज्दै आउँछन् । उनीहरूलाई अमेरिकाको म्यारियट, एकोर वा हिल्टनमा बस्नु र नेपालमा आएर बस्नुमा प्राप्त हुने सुविधाको स्तर एउटै हुन्छ भन्ने कुरामा ढुक्क हुन्छ । विश्वभर परिचित ब्रान्ड भएकाले पर्यटकले सेवाको स्तरबारे धेरै सोधपुछ वा शंका गरिरहनु पर्दैन । यत्रो भरोसा बोकेका अन्तर्राष्ट्रिय होटलहरू नेपाल भित्रिनु हाम्रो पर्यटन क्षेत्रका लागि ठूलो उपलब्धि हो ।
यसबाट विदेशमा नेपालको होटल उद्योगको एकप्रकारले ‘निःशुल्क प्रचार’ भइरहेको छ । यी ब्रान्डहरूले आफ्नो विश्वव्यापी नेटवर्क र सूचीमा हाम्रा होटलहरूको नाम राख्छन्, जसले विश्व बजारमा नेपाललाई चिनाउन मद्दत गर्छ । अन्तर्राष्ट्रिय ब्रान्डका होटलहरू नेपालमा विस्तार हुनु आफैँमा एउटा सशक्त सन्देश हो कि– नेपाल पर्यटकका लागि विश्वस्तरको सेवा, सुरक्षा र अनुभव प्रदान गर्न सक्षम गन्तव्य हो । साथै, यसले नेपालले आफ्नो पर्यटन ब्रान्डिङमा ‘गुणस्तर’ र ‘विश्वसनीयता’ लाई प्राथमिकता दिएको छ भन्ने देखाउँछ । अर्को महŒवपूर्ण कुरा, अन्तर्राष्ट्रिय चेन होटलको विस्तारमार्फत हामीले विदेशी पर्यटकहरूलाई हाम्रा स्थानीय संस्कृति र परम्पराबारे बुझाउने अवसर पाएका छौँ । नेपाली संस्कृति, कला तथा खाद्य परम्परालाई विश्वस्तरमा प्रस्तुत गर्ने एउटा बलियो प्लेटफर्म थपिएको छ । अचेल यी चेन होटलहरूले आफ्नो अन्तर्राष्ट्रिय मापदण्डभित्रै स्थानीय काष्ठकला, हस्तकला, भित्तेचित्र र नेवारी/थकाली/हिमाली भान्साजस्ता मौलिक रैथाने तत्वहरूलाई समावेश गर्न थालेका छन् । यसले स्थानीय उत्पादनको खपत बढाउनुका साथै संस्कृतिको प्रवद्र्धनमा मद्दत पुर्याएको छ ।
आर्थिक गतिविधि र खर्चालु पर्यटकको आगमन
प्रत्यक्ष विदेशी लगानी नै यस क्षेत्रको सबैभन्दा ठोस योगदान हो । जब यति ठूलो पुँजी नेपालमै लगानी हुन्छ, तब निर्माण, पूर्वाधार, सामग्री आपूर्ति र सेवा क्षेत्रमा एकैसाथ ठूलो आर्थिक गतिविधि सिर्जना हुन्छ । पाँचतारेदेखि उच्चस्तरीय चेन होटलसम्म फ्रन्ट अफिस, हाउसकिपिङ, कुकरी, इन्जिनियरिङ, सेल्स एन्ड मार्केटिङ, फाइनान्स, सेफ्टी, इभेन्ट म्यानेजमेन्टदेखि लिएर उच्च व्यवस्थापनसम्म हजारौँ कर्मचारीहरू आवश्यक हुन्छन् । यसले देशका थुप्रै युवाहरूलाई रोजगारी दिई उनीहरूको आयस्तर बढाउन सघाएको छ ।
साथै, यी होटलहरूले सीप र प्राविधिक क्षमता हस्तान्तरण मा भूमिका खेलेका छन् । आधुनिक व्यवस्थापन प्रणाली, फुड सेफ्टी नियम (खाद्य सुरक्षा), र डिजिटल बुकिङ प्रणालीजस्ता आधुनिक सीपहरू नेपाली श्रमिकहरूले सिक्ने अवसर पाएका छन् ।
नेपालमा खर्चालु पर्यटक आएनन् भनेर धेरैतिर टिप्पणी हुने गर्छ । अन्तर्राष्ट्रिय चेन होटलहरूको आगमनले खर्चालु पर्यटकको नेपाल आगमनलाई सहज बनाउँछ । ब्रान्डेड होटलमा बस्ने पर्यटकको प्रतिव्यक्ति खर्च उच्च हुन्छ र उनीहरूले होटल बाहिरका रेस्टुरेन्ट, यातायात, गाइड र स्थानीय उत्पादन खरिदमा पनि मनग्ये खर्च गर्छन् । यसले अन्ततः स्थानीय अर्थतन्त्रलाई नै बलियो बनाउँछ र दीर्घकालीन रूपमा नेपालको आर्थिक अवस्था माथि पुर्याउँछ । म व्यावसायिक सिलसिलामा विश्वका धेरै देशहरू घुमेको छु । ती देशहरूले होटल र पर्यटनमा गरेको लगानीको तुलनामा नेपालमा त अझै केही नभएको जस्तै अवस्था छ । होटल क्षेत्रमा लगानीका लागि नेपाल अझै पनि एउटा ‘भर्जिन ल्यान्ड’ हो भन्दा फरक पर्दैन ।
नीतिगत सहजीकरणको प्रयास र पूर्वाधारको अभाव
सरकारको नीतिका कारण पछिल्ला केही वर्षयता अन्तर्राष्ट्रिय चेन होटल विस्तारका लागि वातावरण क्रमशः सहज बन्दै गएको त देखिन्छ, तर यो अझै पूर्ण रूपमा संरक्षित, स्थिर र दिगो बन्न सकेको छैन । विदेशी लगानी प्रक्रियामा एकद्वार प्रणाली लागू गर्ने प्रयास, पाँचतारे होटल अनुमतिका मापदण्ड स्पष्ट पार्ने, र पर्यटन पूर्वाधारलाई प्राथमिक क्षेत्रको रूपमा सूचीकृत गर्ने जस्ता सहजीकरणका प्रयासहरू अवश्य भएका छन् । तर, सरकारले अझै पनि यसलाई अर्थतन्त्र सबलीकरण गर्ने ‘रणनीतिक अवसर’ मान्न तयार भइसकेको देखिँदैन; उसको व्यवहारले त्यही भन्छ । राज्यले केवल होटलहरूको संख्या थपिएको सामान्य अर्थमा तथ्यांक मात्र गनिरहेको छ ।
पर्यटन क्षेत्रको विकासका लागि पूर्वाधारमा सरकारको लगानी अझै पुगेको छैन । पर्यटन बढाउने जिम्मा केवल निजी क्षेत्रको मात्रै होइन । सरकारको सक्रिय भूमिकाबिना यो क्षेत्र फस्टाउन सक्दैन । विमानबाट झर्नेबित्तिक्कै पर्यटकले सहज सेवा खोज्छ र पाउनुपर्छ । सामान लिन घण्टौँ लाइनमा बस्नु नपरोस्, सवारी सुविधामा झन्झट नहोस् र सडकको अवस्था राम्रो होस् । पर्यटकले पहिलो कुरा देशको सुरक्षा, सहजता र वातावरण हेर्छ; होटल त त्यसपछि मात्रै आउने कुरा हो । हामीले देशलाई पर्यटकीय गन्तव्यका रूपमा स्थापित गर्ने हो भने पर्यटकलाई ‘भगवान्’ सरह सम्मान गर्नुपर्छ; उनीहरूलाई झन्झट र दुःख दिने होइन । पर्यटन आकर्षणमा चेन होटलको भूमिका केवल ३० प्रतिशत मात्रै हुन्छ । कोही पर्यटकले यात्राको योजना बनाउँदा सुरुमै ‘म यो होटलमा बस्छु’ भनेर सोचेको हुँदैन । पहिले देश वा पर्यटकीय स्थलको छनोट गरिन्छ, त्यसपछि त्यहाँको सुरक्षा र उडान वा सडकको सहजता हेरिन्छ । यात्रा कत्तिको सहज छ र कुनै समस्या आइपर्दा समाधानको संयन्त्र कस्तो छ भन्ने सुनिश्चित गरेपछि मात्रै होटल बन्दोबस्तको विषय आउँछ ।
राज्यको अभिभावकत्व र अव्यावहारिक कर संरचना
‘जेनजी’ आन्दोलन अघिसम्म ९५ प्रतिशत अकुपेन्सीमा चलिरहेका होटलहरू अहिले ७० प्रतिशतमा झरेका छन् । लगानी ठूलो भएकाले व्यवसायीहरूको घाटा चुलिँदै गएको छ । यस्तो संकटपूर्ण अवस्थामा सरकारले होटल व्यवसायीहरूलाई कर्जा पुनर्संरचना गरेर सहयोग गर्नुपर्छ । पर्यटन व्यवसायी खुसी र सुरक्षित भए मात्रै पर्यटन उद्योग चल्न सक्छ । कुनै पनि आन्दोलन वा संकट आउँदा सरकारले ‘हामी छौँ’ भनेर अभिभावकत्व देखाउन सक्नुपर्छ ।
नेपालीहरू कठिन परिस्थितिमा पनि सहजै काम गर्न सक्ने वर्गमा पर्छन् । तर, निजी क्षेत्रको यो साहस र पाइलामा सरकारले पनि साथ दिनैपर्छ । पर्यटन व्यवसायलाई प्रवद्र्धन गर्न सरकारले धेरै ठूलो कसरत गर्नुपर्दैन, केवल बाधक बनेका पुराना ऐनहरू संशोधन गरिदिए पुग्छ । अहिले पनि हामी २०३५ सालको पुरानो पर्यटन ऐनमै अडिएका छौँ । केही संशोधन भए पनि त्यसले व्यवसायमा सकारात्मक प्रभाव पार्न सकेको छैन । वातावरण प्रभाव मूल्याङ्कनको प्रक्रिया निकै जटिल छ र वनसम्बन्धी कडा प्रावधानहरू उस्तै छन् । यस्ता प्रशासनिक अड्चनहरू मात्रै फुकाइदिए पनि धेरै सहज हुने थियो । अर्को ठूलो समस्या हाम्रो कर संरचनामा छ । हामीले अहिले १३ प्रतिशत भ्याट र २ प्रतिशत विलासिता कर थपेर कुल १५ प्रतिशत कर तिर्नुपर्छ । तर, विलासिता कर त्यतिबेला लगाउनुपर्छ, जतिबेला देशमा पर्यटकको ओइरो लागेको हुन्छ । नेपालमा त अझै पनि पर्यटकको अभाव छ । यस्तो अवस्थामा सुरुमै लक्जरी कर लगाउनाले नेपाल अन्तर्राष्ट्रिय बजारमा ‘महँगो गन्तव्य’का रूपमा चित्रित हुँदै गएको छ । त्यस्तै, विदेशी होटल ब्रान्ड भिœयाउँदा मात्रै पनि ५ प्रतिशत रोयल्टी तिर्नुपर्ने बाध्यता छ । यस्ता संकुचित प्रावधानहरूले विदेशी ब्रान्डहरूलाई नेपाल आउन हतोत्साहित गरिरहेका छन् ।
अन्तर्राष्ट्रिय चेन होटलहरूको प्रवेशले नेपालको पर्यटनलाई उच्चस्तरमा पुर्याउने एउटा सुनौलो अवसर दिएको छ । तर, राज्यले यसका लागि आवश्यक पूर्वाधार, झन्झटमुक्त अनुमति प्रक्रिया र लगानी सुरक्षालाई विश्व मापदण्डमा लैजाने स्पष्ट प्रतिबद्धता देखाउनैपर्छ । हवाई कनेक्टिभिटी, सडक पहुँच र डिजिटल प्रवद्र्धन मजबुत नहुँदा केवल होटल मात्रै बनाएर दिगो विकास हुँदैन । यो अवसरको दिगोपन सुनिश्चित गर्न हाम्रो स्थानीय पहिचान, समुदाय र सन्तुलित बजार संरचना जोगाइराख्नु निजी क्षेत्र र राज्य दुवैको साझा जिम्मेवारी हो ।






















