images
images
  • फास्ट ट्र्याकको ‘स्लो’ गति

    संजीब दाहाल

    काठमाडौंलाई तराई/मधेससँग छोटो दूरीमा जोड्ने मुलुककै सबैभन्दा महŒवाकांक्षी राष्ट्रिय गौरवको आयोजना ‘काठमाडौं–तराई/मधेस द्रुतमार्ग’ (फास्ट ट्र्याक) निर्माण अवधि फेरि लम्बिने भएको छ । सरकारले संशोधित तालिकाअनुसार आगामी चैत २०८३ सम्म आयोजना सम्पन्न गर्ने लक्ष्य राखे पनि हालसम्मको भौतिक प्रगति करिब ४८ प्रतिशत मात्रै सीमित छ । आयोजनाको यो सुस्त गतिले निर्धारित समयभित्र काम नसकिने स्पष्ट पारेको छ, जसका कारण कम्तीमा दुईदेखि तीन वर्ष म्याद थप गर्ने तयारी सुरु भएको छ ।

    कुनै समय आर्थिक समृद्धि र देशको रणनीतिक विकासको ‘गेम चेन्जर’ परियोजना मानिएको यो आयोजना अचेल निर्माण ढिलाइ, अस्वाभाविक लागत वृद्धि, अपारदर्शी निर्णय प्रक्रिया र राजनीतिक–सैनिक शक्तिकेन्द्रको प्रभावका कारण गम्भीर विवादको घेरामा तानिएको छ ।

    दाबी र वास्तविकताको अन्तर

    मन्त्रिपरिषद्को २१ वैशाख २०७४ को निर्णयअनुसार २७ साउन २०७४ मा यो आयोजना औपचारिक रूपमा नेपाली सेनालाई हस्तान्तरण गरिएको थियो । सेनालाई जिम्मेवारी दिँदा राजनीतिक हस्तक्षेप मुक्त हुने, काम छिटो र प्रभावकारी हुने तथा भ्रष्टाचार नियन्त्रण हुने सरकारी दाबी थियो ।

    तर, गाँठो त्यहीँ फुत्कियो । सेनाले कमान्ड सम्हालेको आठ वर्ष बितिसक्दा पनि आयोजना आधा मात्रै सकिनुले तत्कालीन सरकारी दाबीमाथि गम्भीर प्रश्न खडा गरेको छ । उल्टै आयोजनाभित्र राजनीतिक पहुँचका आधारमा ठेक्का लाग्ने गरेको, लागत अस्वाभाविक रूपमा बढेको र निर्णय प्रक्रिया अपारदर्शी भएको आरोप चौतर्फी रूपमा चर्किएको छ ।

    म्याद सकिँदै, दबाब बढ्दै

    प्रारम्भिक योजनाअनुसार यो आयोजना मंसिर २०८१ भित्रै बनिसक्नुपर्ने थियो । तर काम ठप्प जस्तै भएपछि पहिलो पटक म्याद थपेर चैत २०८३ पुर्‍याइयो । अहिले त्यो सीमा पनि गुज्रिने अवस्था आएपछि राष्ट्रिय योजना आयोगका सदस्य अर्जुनजंग थापाले म्याद थप अपरिहार्य भइसकेको बताएका छन् । ‘दुईदेखि तीन वर्ष म्याद थप नगरी काम सकिने अवस्था नै छैन,’ सदस्य थापाले भने, ‘अब काम नगर्ने निर्माण व्यवसायीलाई आयोजना कार्यालयले कडाइका साथ जिम्मेवार बनाउनैपर्छ ।’

    चार लेनमा निर्माण भइरहेको यो द्रुतमार्गमा बढ्दो सवारी चाप र आर्थिक संकटलाई मध्यनजर गर्दै कम्तीमा दुई लेन सडक आगामी दुई वर्षभित्रै सञ्चालनमा ल्याउन चौतर्फी दबाब परिरहेको छ ।

    खोकना विवादः समाधानविहीन राजनीतिक गाँठो

    फास्ट ट्र्याकको प्रवेशबिन्दु मानिएको ललितपुरको खोकना–डुकुछाप खण्ड आयोजनाकै सबैभन्दा ठूलो अवरोध बनेको छ । यहाँ जग्गा अधिग्रहण, टोलप्लाजा स्थानान्तरण र विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) संशोधनको विषय वर्षौंदेखि गिजोलिएर बसेको छ । विशेषगरी फर्सिडोलमा टोलप्लाजा निर्माण गर्ने विषयमा सरकारले ठोस निर्णय लिन नसक्दा खोकना क्षेत्रको काम ठप्प छ ।

    डीपीआर संशोधनको प्रस्ताव लामो समयदेखि रक्षा मन्त्रालयमै थन्किएको छ । सैनिक प्रवक्ता सहायक रथी राजाराम बस्नेतका अनुसार डीपीआर संशोधन स्वीकृत भएलगत्तै खोकना खण्डको काम अघि बढाउने सैन्य तयारी छ, तर राजनीतिक नेतृत्वको अनिर्णयका कारण यो विषय अझै अनिकभअतष्यलमै छ ।

    प्रगति सुस्त, कालोपत्रे बिजोग

    कुल ७०.९७७ किलोमिटर दूरीको यस आयोजनामा १०.९०१ किलोमिटर सुरुङमार्ग र १२.८८५ किलोमिटर पुल क्षेत्र पर्छ । आयोजनाका ७ वटा सुरुङमध्ये धेद्रे र लेनडाँडा सुरुङको ‘ब्रेक थ्रु’ भइसकेको छ भने महादेवटार सुरुङको एउटा भाग आगामी असारसम्म ‘ब्रेक थ्रु’ गर्ने सेनाको लक्ष्य छ ।

    विशेष प्रकृतिका ८९ पुलमध्ये ५६ वटाको फाउन्डेसन र ३८ वटाको सब–स्ट्रक्चर बने पनि खोकना क्षेत्रमा पर्ने ४ वटा मुख्य पुलको काम अझै सुरु हुन सकेको छैन । सडकतर्फको प्रगति झनै निराशाजनक छ— हालसम्म ११.२ किलोमिटरमा सबबेस र ५.५ किलोमिटरमा बेस थपिए पनि मात्र ०.२ किलोमिटर सडक मात्रै कालोपत्रे भएको छ ।

    लागतको ग्राफः १ खर्ब ७५ अर्बबाट २ खर्ब ११ अर्ब माथि

    सुरुमा करिब १ खर्ब ७५ अर्ब रुपैयाँ लागत अनुमान गरिएको यो आयोजनाको संशोधित लागत भ्याटसहित २ खर्ब ११ अर्ब ९३ करोड रुपैयाँ पुगिसकेको छ । सुरुङ र पुल निर्माणको ठेक्का प्रक्रिया, विदेशी परामर्शदाताको छनोट, र पटक–पटक परिवर्तन भइरहने डिजाइनमाथि नागरिक स्तरबाट प्रश्न उठे पनि सेना र रक्षा मन्त्रालय दुवैले यसको पारदर्शी जवाफ दिन सकेका छैनन् ।

    निर्माण सम्पन्न भएमा काठमाडौंबाट तराई मात्र १ घण्टामा पुग्न सकिने र देशको अर्थतन्त्रमा क्रान्ति आउने सपना देखाइएको थियो । तर, वर्षौंदेखिको ढिलासुस्ती, राजनीतिक खिचातानी र कमजोर कार्यान्वयन क्षमताले गर्दा यो आयोजना अहिले विकासको प्रतीक नभएर राज्य संयन्त्रको असक्षमता र संस्थागत कमजोरीको ऐना बन्दै गएको छ । फास्ट ट्र्याकलाई शक्तिकेन्द्रको प्रभावबाट मुक्त गरी व्यावसायिक र पारदर्शी नबनाउने हो भने यो परियोजना नेपालको विकास इतिहासमा ‘अधुरो सपना’ मात्रै सिमित हुने खतरा बढेको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images