वि.सं. १९५८ आषाढ १० गते बुधबारका दिन चन्द्रशमशेरले नेपालको सत्ता बागडोर आफ्नो हातमा लिए । प्रधानमन्त्री बन्नासाथ उनलाई आफ्नो प्रतिष्ठा अनुकूलको एउटा भव्य दरबारको आवश्यकता महसुस भयो । उनले वीरशमशेरका पालामा बनेका ‘लालदरबार’ र ‘सेतोदरबार’ खरिद गर्ने इच्छा त गरे, तर सोझै प्रस्ताव राख्न आफैंलाई अप्ठ्यारो लाग्यो । त्यसैले उनले आफ्ना विश्वासपात्र द्वय माहिला पण्डित काशीनाथ आचार्य दीक्षित र डिल्लीशमशेर थापालाई यस कार्यको जिम्मेवारी सुम्पे ।
दुवै दूतहरू सर्वप्रथम तेजशमशेरकोमा लालदरबार खरिदको प्रस्ताव लिएर पुगे । तेजशमशेरले जवाफमा भने— ‘महाराजलाई मेरो घर आवश्यक परेको हो भने म टक्राउँछु, तर मैले मुमा (तोपकुमारी देवी) लाई कहाँ राख्ने?‘ यता सेतोदरबारका धनी गेहेन्द्रशमशेरले पनि कडा जवाफ फर्काउँदै भने— ‘मैले मागेको मोल के महाराजबाट बक्सिन सक्छ? पहिले यसको जवाफ बुझेर मात्र तिमीहरू मकहाँ आउनू ।’ लालदरबार र सेतोदरबारका धनीहरूबाट यस्ता अनपेक्षित प्रश्नहरू बोकेर दूतहरू चन्द्रशमशेरसमक्ष फर्किए ।
लाजिम्पाट छाडी सिंहदरबारको जग
ती दुवैको ठाडो जवाफ सुनेपछि चन्द्रशमशेरले ती दरबार खरिद गर्ने आँट गर्न सकेनन् । त्यसपछि उनले जितशमशेरको ‘लाजिम्पाट दरबार’ र रुद्रशमशेरको ‘चारबुर्जा दरबार’ ६० लाख रुपैयाँमा किन्न मन्जुर गरे । तर, ठीक त्यही बेला तत्कालीन इन्जिनियरद्वय कुमारनरसिंह राणा र किशोरनरसिंह राणाले चन्द्रशमशेरलाई एउटा नयाँ जुक्ति दिँदै बिन्ती गरे— ‘महाराज ! यी सोझाहरूको चित्त किन दुखााइबक्सिन्छ? हजुरका लागि सुहाउने भव्य र नयाँ दरबार हामी वर्षदिनभित्रै निर्माण गरेर तयार पारिदिन्छौं ।’
इन्जिनियरहरूको कुरा चन्द्रशमशेरको मनमा बिझ्यो । उनले पुराना दरबार किन्ने विचार त्यागे र नयाँ दरबार बनाउने दृढ सङ्कल्प गरे । सोही बमोजिम प्रतिरोपनी ९० रुपैयाँका दरले ३५० रोपनी जग्गा खरिद गरियो र वि.सं. १९६० मा विशाल निर्माण कार्यको जग बसालियो ।
कम खर्चमा ठडियो भव्य महल
सुरुमा चन्द्रशमशेर आफू बस्न मिल्ने ठिक्कको दरबार बनाउन चाहन्थे, तर बनाउँदा–बनाउँदै त्यो एसियाकै एउटा भव्य र विशाल महल बन्न पुग्यो । दरबार जति नै विशाल बने पनि चन्द्रशमशेरको खल्तीबाट तत्काल ५० लाख रुपैयाँभन्दा बढी खर्च भएन । यसको मुख्य कारण निर्माणमा प्रयोग भएका सम्पूर्ण काठहरू काठमाडौँ नजिकैको ‘छरिया’ जङ्गलबाट काटिएका थिए र ढुवानीको काम ‘बेगारी’ (बिना ज्याला काम गर्नेहरू) द्वारा गराइएको थियो, जसलाई पेटभरि ढिँडो मात्र खुवाइन्थ्यो ।
सिकर्मी र डकर्मीका रूपमा सेना, प्रहरी, पिपा तथा कैदीहरूलाई परिचालन गरिएको थियो । ज्यालाका रूपमा कामदारलाई दैनिक चार पैसादेखि छ पैसा भन्दा बढी दिइएन । यद्यपि, कामको जाँगर बढाउन बीच–बीचमा राँगो खानेलाई राँगो र खसी खानेलाई खसी काटेर भव्य भोज भने खुवाइन्थ्यो । चन्द्रशमशेरको वास्तविक खर्च केवल किला, काँटा, रेलिङ, पाइप र फलाम आदिमा मात्र भयो, जुन भारतबाटै आयात गर्नुपर्दथ्यो । ती सामानको भन्सार पनि तिर्नु पर्दैनथ्यो भने ढुवानी गर्ने ‘झलारी’ हरूलाई पनि बेगारीलाई जस्तै पेटभरि ढिँडो र नुन खर्च मात्र दिए पुग्दथ्यो । त्यसैले बूढापाकाहरू भन्ने गर्दथे— ‘सिंहदरबार बनाउँदा चन्द्रशमशेरको पचास लाखभन्दा बढी पैसा खर्च भएकै छैन ।’
बाघदरबारको उत्तरमा सिंहदरबार
दरबार निर्माण सम्पन्न भएपछि एक दिन चन्द्रशमशेर आफ्नी कान्छी बडामहारानी बालकुमारी देवीलाई साथमा लिएर दरबारको कौसीमा घुम्न निस्किए । त्यहाँबाट नजर घुमाउँदा नजिकै ‘बाघदरबार’ देखियो । चन्द्रशमशेरले हातले औंल्याउँदै भने— ‘उ त्यो बाघदरबार हो ।’ त्यो सुनेर बालकुमारी देवीले सुझाइन्— ‘महाराज ! त्यो बाघदरबार हो भने यो नयाँ दरबारको नाम ‘सिंहदरबार’ राखे कसो होला?‘ महारानीको यो प्रस्ताव चन्द्रशमशेरलाई निकै घत प¥यो र नवनिर्मित वैभवशाली महलको नाम सदासर्वदाका लागि ‘सिंहदरबार’ रहन गयो ।
राष्ट्रलाई बिक्री र ढुकुटीको दोहन
सिंहदरबार पूर्ण रूपमा तयार भएपछि चन्द्रशमशेरले एक दिन भारदारी सभा गठन गरे र सबैका सामु एउटा चलाखीपूर्ण प्रस्ताव राखे— ‘आजका मितिदेखि श्री ३ महाराजा र प्रधानमन्त्री जो बन्छ, उनी यही दरबारमा बस्नेछन् । तसर्थ, यो दरबार म आजैका दिनदेखि नेपाल सरकारलाई बेचिदिन्छु ।’
उनले सिंहदरबार नेपाल सरकारलाई बिक्री गरेको भन्दै राष्ट्रको ढुकुटीबाट अक्षरेपि २ करोड रुपैयाँ झिके । यसरी जम्मा ५० लाखको लागतमा निर्मित दरबार बेचेर चन्द्रशमशेरले सिधै डेढ करोड रुपैयाँ नाफा कमाए ।
वास्तवमा त्यो पैसा जङ्गबहादुर राणाले देशको सङ्कटका लागि जोगाएको ‘कौसी तोखाखाना’ को रकम थियो । वि.सं. १९२५ मा जङ्गबहादुरले भाइ, छोरा, भतिजा, भारदार, जङ्गी, निजामती, गुरु पुरोहित, साहु–महाजन र दुनियाँलाई टुँडिखेलको ऐतिहासिक खरीको रूखमुनि जम्मा गराएर ढ्याङ्ग्रो पिटाउँदै इस्तिहार जारी गरेका थिए । उनले सार्वजनिक घोषणा गर्दै भनेका थिए— ‘देशमा महासङ्कट वा दैवीप्रकोप परेका बेला मात्र यो राष्ट्रको ढुकुटी प्रयोग गर्नु, अन्यथा नगर्नू । बरु पछिका शासकले यसमा थप गर्दै जानू । म आजका दिन यस ढुकुटीमा ११ करोड रुपैयाँ राखिदिँदै छु ।’ तर, देश बचाउन राखिएको त्यही कौसी तोखाखानाको पवित्र ढुकुटीबाट चन्द्रशमशेरले आफ्नो दरबारको मूल्य भन्दै २ करोड रुपैयाँ कुम्ल्याए ।
वि.सं. २०३० को आगलागी
समय सधैं एकनास रहेन । दक्षिण एसियाकै वैभवशाली मानिएको यो सिंहदरबारले वि.सं. २०३० सालमा एउटा भयानक आगलागीको सामना गर्नु पर्यो । आगोले दरबारको ठूलो हिस्सा निल्यो । त्यसबेला अगाडिको ऐतिहासिक भाग जोगाउनका लागि पछाडिको भागलाई तोप हानेर भत्काइएको थियो, जसका कारण अगाडिको मुख्य मोहडा मात्र जोगिन सफल भयो ।
‘जेनजी’ प्रदर्शन र इतिहास खरानी भएको क्षण
वि.सं. २०७२ सालको विनाशकारी भूकम्पले सिंहदरबारलाई हल्लायो, तर यसको जग र बुट्टामा ताŒिवक असर परेको थिएन । भवनका जोर्नीहरू मात्र खुस्किएका थिए, जसलाई प्रबलिकरण गरेर पुनः ठड्याउन सहज थियो । तर, भदौ २४ गते ‘जेनजी’ प्रदर्शनका क्रममा भएको क्रूर आगजनीले यस ऐतिहासिक धरोहरलाई भूकम्पले भन्दा कयौँ गुणा बढी क्षति पु¥यायो ।
आगलागीका कारण सिंहदरबारको पूर्वी, उत्तरी र दक्षिणी मोहडाभन्दा पश्चिमी मोहडा पूर्ण रूपमा ध्वस्त भएको छ । भूकम्पले संरचना भत्काएको मात्र थियो, तर यो आगजनीले त इतिहासलाई नै खरानी बनाइदियो । भित्ता, छत र खम्बाहरू डढेर अस्तित्वविहीन बनेका छन् भने भूकम्पपछि पुनर्निर्माणमा प्रयोग गरिएका नयाँ सामग्रीसमेत जलेर नष्ट भएका छन् । आज सिंहदरबार बाहिरबाट ठडिएको जस्तो देखिए पनि यसको भित्री गर्भ बिल्कुल रित्तो र भग्नावशेषमा परिणत भएको छ ।
पुराताŒिवक सम्पदाको अपूरणीय क्षति
यो आगलागी केवल एउटा भवनको विनाश होइन, बरु नेपालको कला र इतिहासको हत्या हो । भूकम्पको महाविपत्तिमा भुइँमा खसेर पनि जोगिएका पुराताŒिवक महŒवका अमूल्य सामग्रीहरू यसपटक आगोको लपेटामा परेर सदासर्वदाका लागि नष्ट भए ।
काठका ऐतिहासिक दलिनहरू जलिसकेकाले प्रख्यात ‘बेलायती बैठक कक्ष’ लगायतका कोठाहरूको छत खसेको छ । सो कक्षमा बिछ्याइएको, मुलुककै सबैभन्दा बढी चौडाइ भएको ऐतिहासिक गलैँचा अहिले खरानीको थुप्रो मात्र बनेको छ । विश्वका विभिन्न मुलुकबाट तत्कालीन शासकहरूलाई पठाइएका उपहारहरू, दुर्लभ कलाकृति, पुराना फोटोग्राफी, राणाकालीन बहुमूल्य पियानो, बुट्टैबुट्टा कुँदिएका पुराना सिसा, ऐतिहासिक पेन्टिङ र पुराना घडीहरू अब कहिल्यै नफर्कने गरी बिलाएका छन् । आगोले भित्ताहरू यसरी खाएका छन् कि अहिले भित्र समातेर उक्लिन सक्ने सुरक्षित ठाउँ कतै छैन ।
पुनर्निर्माणको जटिल चुनौती
खरानी भइसकेका वस्तुलाई पूर्ववत् रूपमा ठड्याउनु र जोड्नु इन्जिनियरहरूका लागि भूकम्पपछिको पुनर्निर्माण भन्दा कैयौँ गुणा बढी जटिल र खर्चिलो साबित हुने देखिन्छ । यद्यपि, सिंहदरबार नेपालको गौरव, पुराताŒिवक पहिचान र ऐतिहासिक विरासत भएकाले यसलाई भत्काउन मिल्दैन र पाइँदैन । यो जति नै चुनौतीपूर्ण र बढी लागत लाग्ने भए तापनि यसको पुरानो स्वरूप र वैभवमा अलिकति पनि परिवर्तन नआउने गरी, प्रबलिकरण प्रविधिमार्फत यसलाई पुनः पहिलेकै स्वरूपमा ब्युँताउनु आजको अनिवार्य आवश्यकता हो ।






















