दिनेश लुइँटेल
एक जुगमा एक दिन एकचोटि आउँछ,
उलट–पुलट, उथल–पुथल, हेरफेर ल्याउँछ ।।
गोपालप्रसाद रिमालको कविताले भने जस्तै एक दिन हो, २०८२ साल भदौ २३ गते । जुन दिनको जेनजी विद्रोहले नेपालको राजनीतिमा उथल–पुथल नै ल्यायो । झट्ट हेर्दा भदौ २३ गतेको राज्य दमनविरुद्ध भदौ २४ गते विद्रोह भएको देखिन्छ । तर, यो ठूलो उकुसमुकुसपछिको विष्फोट हो, जुन आक्रोश सामाजिक सञ्जालमा विगत एक दशकदेखि व्यक्त हुँदै आएको थियो ।
वि.सं. २०७९ जेठ ३० गते काठमाडौँ महानगरको मेयर पदमा स्वतन्त्र रूपमा उम्मेदवार बनेका वालेन्द्र शाह निर्वाचित हुनु त्यसको एक झिल्का मात्र थियो । त्यो काठमाडौँका मतदाताको विद्रोह र युवा पुस्ताको डिजिटल क्रान्तिको सफलता थियो । मतदाताको विद्रोहको एउटा झिल्का सुदूरपूर्वको धरान उपमहानगरमा हर्कराज राई र सुदूरपश्चिमको धनगढी उपमहानगरमा गोपाल हमाल स्वतन्त्र उम्मेदवारका रूपमा निर्वाचित भएर फैलिएको हो ।

स्वतन्त्र उम्मेदवारप्रति मतदाताको आकर्षणमा युवा पुस्ताको सक्रिय सहभागिता देखिन्छ । जेनजी विद्रोहको आधार स्वतन्त्र उम्मेदवारप्रतिको आकर्षण भएको भन्दै सामाजिक सञ्जालमा युवा पुस्ताले धेरै बहस र छलफल गरेका छन् । भदौ २३ र २४ गतेको विद्रोह र विध्वंश अगाडि युवा पुस्ताले सर्वाधिक उपयोग गरेको शक्तिशाली हतियार नै भर्चुअल प्लेटफर्म हुन् । हिजोको पुस्ताले गणतन्त्र र लोकतन्त्रका लागि दशकौँ लामो क्रान्तिका लागि सङ्घर्ष गरे । तर, आजको पुस्ता लामो समय पर्खन सक्दैन । आजको भोलि नै परिणाम चाहन्छ । आर्टिफिसियल इन्टेलिजेन्स (एआई) को गतिमा परिवर्तन खोज्ने नयाँ पुस्ताले मतपेटिकामा त्यही गतिमा विद्रोह गरेका छन् । मतदाताले मतपेटिकामा गरेको विद्रोहको नतिजाले नै २०८२ साल फागुन २१ गतेको चुनावबाट नायक बनेर वालेन्द्र शाह उर्फ ‘बालेन’ उदाएका हुन् ।
¥यापर बालेनदेखि प्रधानमन्त्री वालेन्द्रसम्म
जेनजी विद्रोह र त्यसपछिको चुनावी परिणामले २०८२ चैत १३ गते वालेन्द्र शाहलाई नेपालको ४३ औँ प्रधानमन्त्री बनायो । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता शाहलाई नेपालको संविधानको धारा ७६ (१) अनुसार प्रधानमन्त्रीमा नियुक्त गरेका हुन् ।
वास्तविक नाम वालेन्द्र भए पनि कला, साहित्य र युवा जमातमा उनी ‘बालेन’का नामले परिचित छन् । राजनीतिमा सक्रिय भएपछि औपचारिक कागजपत्रमा वालेन्द्र लेखिए पनि आम जनताले उनलाई ‘बालेन’ भनेर चिन्छन् । फागुन २१ गते मतदाताले रास्वपालाई १८२ सिटसहित देशको ठूलो राजनीतिक दल बनाएपछि बालेन एकल बहुमतसहितको शक्तिशाली प्रधानमन्त्री बनेका हुन् ।
जेनजी विद्रोहपछि फागुन २१ गते भएको प्रतिनिधिसभा सदस्य निर्वाचनबाट वालेन्द्र ३६ वर्षमै प्रधानमन्त्री बन्न सफल भएका हुन् । वालेन्द्रको जन्म २०४७ साल वैशाख १४ गते काठमाडौँको नरदेवीमा बुवा डा. रामनारायण शाह र आमा ध्रुवदेवी शाहको कोखबाट भएको हो । बालेनका एक दाजु र एक बहिनी छन् । नर्स तथा मोडल सविना काफ्लेसँग विवाह गरेका बालेनकी एक छोरी छन् ।
जेनजी विद्रोहले वालेन्द्रलाई मेयरबाट मूलधारको राजनीतिमा ल्याएको हो । जेनजी आन्दोलन लगत्तै बनेको अन्तरिम सरकारको प्रधानमन्त्रीमा जेनजी आन्दोलनका अगुवाले गरेको प्रस्तावलाई अस्वीकार गरेका बालेन निर्वाचित प्रधानमन्त्री बनेका हुन् । चुनाव नलड्दै प्राप्त भएको प्रधानमन्त्री बन्ने अवसरलाई छोडेर उनले नै पूर्व प्रधानन्यायाधीश सुशीला कार्कीलाई
अगाडि सारे ।
युवा पुस्ताको माग र मतपेटिकामा पुराना पार्टीविरुद्ध मतदाताले गरेको विद्रोहबाट वालेन्द्र युवा उमेरमै प्रधानमन्त्री बनेका हुन् । उनीसँग रहेको प्राविधिक क्षेत्रको विज्ञतालाई विकासमा उपयोग गर्न सके मुलुक विकास हुनसक्ने अपेक्षा आम नागरिकले गरेका छन् । प्राविधिक ज्ञान भएको व्यक्ति राजनीतिमा होमिएर बहुमतसहितको सरकारको शक्तिशाली प्रधानमन्त्री बन्दा युवा पुस्तामा उत्साह देखिएको छ । बालेनमाथि आम मतदाता, नागरिक र युवा पुस्ताले ठूलो भरोसा गरेका छन् । अब उनले भावनाभन्दा तथ्याङ्क र योजनामा केन्द्रित भएर राजनीतिलाई अगाडि बढाउनुपर्ने चुनौती छ । जनताको परिवर्तनको हुटहुटीलाई शक्तिशाली सरकारको नेतृत्वकर्ताको हिसाबले सम्बोधन गर्नुपर्ने गहन जिम्मेवारी उनीमाथि छ । महानगर प्रमुख हुँदा देखिएको राष्ट्रियताप्रतिको अडान, भ्रष्टाचारविरुद्धको शून्य सहनशीलता र डिजिटल प्रविधिको उपयोगलाई तल्लो तहसम्म पु¥याएर कार्यान्वयन गर्नुपर्ने महŒवपूर्ण अवसर बालेनसँग छ ।
निर्वाचित कान्छो प्रधानमन्त्री
स्वतन्त्र रूपमा तीन वर्ष महानगर प्रमुखको जिम्मेवारीमा रहेका वालेन्द्र २०८२ पुस १३ गते राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रवेश गरेका हुन् । उनले रास्वपा सभापति रवि लामिछानेसँग सातबुँदे सहमति गर्दै झापा–५ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवार बन्ने तय गर्दा धेरै चकित परेका थे ।
रास्वपासँगको सहमतिमै उनलाई वरिष्ठ नेता बनाएर भावी प्रधानमन्त्रीका रूपमा चुनावमा अगाडि सारिएको हो । वालेन्द्र रास्वपा प्रवेशका लागि २०८२ पुस १३ गतेको सहमतिमा हस्ताक्षर गरेको ठिक तीन महिनापछि चैत १३ गते उनले प्रधानमन्त्री पदको शपथ लिएका हुन् ।
३२ वर्षको उमेरमा काठमाडौँ महानगरको नगर प्रमुख बनेका बालेन ३६ वर्षको उमेरमा एकल बहुमतसहित देशको शक्तिशाली सरकारको प्रधानमन्त्री बनेका हुन् । नेपालको इतिहासमा यसअघि कम उमेरका प्रधानमन्त्री नियुक्त भए पनि वालेन्द्र कान्छो निर्वाचित प्रधानमन्त्री बनेका छन् । यसले युवा पुस्तालाई राजनीतिप्रति आकर्षित मात्र गरेको छैन, जिम्मेवारसमेत बनाएको छ । नेपालका पहिलो प्रधानमन्त्री भीमसेन थापा ३२ वर्षमा प्रधानमन्त्री (मुख्तियार) नियुक्त भएका थिए भने पञ्चायत अवधिमा डा. तुलसी गिरीले ३३ वर्षमै राजाबाट प्रधानमन्त्रीको नियुक्ति पाएका थिए ।
¥यापर बालेन
बालेन्द्रको रुचि बाल्यकालदेखि नै गीत–सङ्गीतमा देखिन्छ । उनले पहिलो गीत ‘सडक बालक’ २०६९ सालमा रेकर्ड गरेका हुन् । ¥याप ब्याटलबाट युवा पुस्तामाझ लोकप्रिय बालेनका गीतमा राजनीतिक चेत देखिन्छ । उनको ‘म नेपाल हाँसेको हेर्न चाहन्छु’ गीत पछिल्लो निर्वाचनमा सबैभन्दा धेरै चर्चामा आयो । उनको ‘गरिबीको चमेली, बोल्दिने कोही छैन’ भन्ने गीतसमेत नेपालीको मुखमुखमा झुन्डिएको छ ।
बालेनका गीतमा सामाजिक र राजनीतिक चेतना सुन्न सकिन्छ । बिम्बात्मक चेत र कवितात्मक शब्द उनका भाषणमा पनि भेट्न सकिन्छ । उनले माया–पिरतीका ¥यापसमेत गाएका छन् । ‘मार्फाको मदिरा’, ‘अतीतका सम्झना’, ‘मन यो उड्यो’ उनका माया–प्रेमका गीत हुन् । माया–प्रेमका भन्दा राजनीतिक चेत भएका ¥याप र ब्याटल बढी चर्चामा छन् । उनको ‘अश्रु’ कविता संग्रह प्रकाशित छ । अश्रुमा समेटिएका कविता छोटाछोटा तर चोटिला छन् । बालेनले २०८१ साल वैशाख १४ गते कविताको पुस्तक फेसबुकबाटै सार्वजनिक गरेका हुन् ।
२०८२ फागुन २१ को चुनावी परिणामसँगै उनले ‘जय महाकाली’ बोलको गीत सार्वजनिक गरे । जय महाकाली गीतमा बालेनको ¥याप सुन्न सकिन्छ । आफ्नै शब्द र कम्पोज समेटिएको बालेनको गीतमा सङ्गीत भने फोजिल÷क्रोनिक बट्सको छ । गीतको भिडियोमा चुनावी अभियानमा कैद भएका फुटेज देख्न सकिन्छ ।
मधेश र काठमाडौंको बालेन साइनो
पुख्र्यौली घर महोत्तरी भए पनि बालेन काठमाडौँमै जन्मिएर हुर्किएका हुन् । काठमाडौँ नरदेवी आयुर्वेदिक अस्पतालमा सेवा थालेपछि बालेनका बुवा काठमाडौँ बस्न थालेका हुन् । उनका हजुरबुवाले महोत्तरीमा बनाएको घरमा अहिले एकडारा गाउँपालिका कार्यालय छ ।
बालेन मधेश र काठमाडौँलाई भावनात्मक रूपमा जोड्ने नेता हुन् । उनको मधेशसँगको सम्बन्धकै कारण रास्वपाले मधेश प्रदेशबाट प्रतिनिधि सभाका सबै अर्थात् ३२ मध्ये ३० सिटमा जित हासिल गरेको छ । बालेन्द्र प्रधानमन्त्री बनेसँगै मधेशको छोरा पहिलो पटक देशको कार्यकारी पदमा पुगेको भन्दै त्यहाँ खुसी मनाइएको छ । जन्म काठमाडौँमै भए पनि उनको पुख्र्यौली सम्बन्धले मधेशसँग काठमाडौँको साइनो बलियो बनेको छ ।
धर्म–संस्कृतिको सम्मान
प्रधानमन्त्री वालेन्द्रले धर्म र संस्कृतिप्रति विशेष ध्यान दिन्छन् । काठमाडौँ महानगरपालिकाको प्रमुख भएपछि नेवारी पहिरनमा विशेष ध्यान दिए । झापा–५ मा प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवार बनेपछि चुनावी प्रचारप्रसारका लागि सुदूरपूर्व ताप्लेजुङदेखि सुदूरपश्चिम दार्चुलासम्म पुगे । ताप्लेजुङको पाथीभरा मन्दिरको दर्शन गरेपछि फेसबुकमा लेखे, ‘जय पाथीभरा, जय मुक्कुमलुङ ।’ खुवालुङ सप्तकोशी क्षेत्रमा अवस्थित किराती तथा नेपालीका लागि पवित्र स्थल भएको भन्दै सप्तकोशीमा पुग्दा मुन्धुमी ‘सभ्यताको द्वार’ को चर्चा गर्दै लिम्बू र किरात संस्कृतिप्रति सम्मान प्रकट गरे ।
कर्णालीमा पुग्दा, ‘कर्नालीका सुइना, अब हाम्मा सुइना’ को चर्चा फेसबुकमा गरेका बालेनले सुदूरपश्चिम पुग्दा, ‘सुदूर अब दुर नाइँ, झिक्कै झिक्कै माया तम्लाई !’ भनेर स्थानीयको आवाज बोले । यो शैलीले भूगोल र संस्कृतिसँगै त्यहाँका भाषाभाषीसँग सामीप्यता बढायो । प्रतिनिधिसभा सदस्य निर्वाचित भएको शपथ समारोहमा वालेन्द्रले छातीको देब्रेतर्फ लगाएको ‘सिलाम साक्मा’ देखेपछि पूर्वका लिम्बू समुदायले सम्मान प्रकट गरे । सिलाम साक्मा लिम्बू समुदायको मौलिक र सांस्कृतिक बिम्ब हो । ‘सी’ (मृत्यु), ‘लाम’ (बाटो) र ‘साक्मा’ (छेक्नु) भन्ने अर्थ लाग्छ । यो शब्दको अर्थ लिम्बू भाषामा ‘मृत्युको बाटो छेक्नु’ भन्ने हुन्छ । पछिल्लो समय कोशी प्रदेशका सार्वजनिक कार्यक्रममा अतिथिलाई खादा र ब्याचको विकल्पमा सिलाम साक्मा लगाइदिएर स्वागत गर्ने गरिन्छ । जुनसुकै भूगोल र संस्कारमा पुग्दा पनि त्यहाँको भाषा, धर्म, संस्कार र संस्कृतिलाई सम्मान गर्दै उनी जनताको मत जित्न सफल भएका हुन् ।
चुनावमा मतदाताको रोजाइमा रास्वपा पर्नुमा बालेनको बेगलाई प्रमुख मानिएको छ । जनताको अपेक्षा पूरा गर्नु प्रधानमन्त्रीका लागि चुनौती भए पनि इन्जिनियर भएकाले अब देश निर्माणको सुन्दर खाका बन्ने अपेक्षा आम नागरिकले गरेका छन् । अन्तर्मुखी र कूटनीतिक स्वभाव, व्यवस्थापनमा अब्बल, नयाँनयाँ जोखिम र रणनीतिमा रमाउने नेताको परिचयसहित शक्तिशाली प्रधानमन्त्री बनेका बालेनलाई सफलताको शुभकामना ।
कम बोल्ने, जोखिम मोल्ने
वालेन्द्र शाहले काठमाडौँ महानगरमा स्वतन्त्र उम्मेदवारी दिँदादेखि झापा–५ मा प्रतिनिधिसभा सदस्य निर्वाचनमा उम्मेदवार बन्दासम्म धेरै भाषण गरेनन् । सामाजिक सञ्जालमा फाट्टफुट्ट धारणा सार्वजनिक गर्नु र कम्तीमा तीन मिनेटभित्रमा आफ्ना भनाइ राखिसक्नु उनको विशेषता हो । रास्वपाले चुनावी मैदानमा प्रधानमन्त्रीका रूपमा अगाडि सारेपछि पहिलो पटक मधेश प्रदेशको राजधानी जनकपुरधाममा पुगेर बालेनले २०८२ माघ ५ गते सात मिनेटको भाषण गरे । चुनावी भेटघाटमा व्यस्त हुँदासमेत उनले मतदातासँग छोटोछोटो कुराकानी गरे ।
चुनावी अभियानमा पनि सामाजिक सञ्जालबाट नै आफ्ना कुरा सार्वजनिक गर्ने उनको शैली लोकप्रिय बन्यो । उनले सञ्चारमाध्यममा प्रतिक्रिया दिएनन् । सञ्चारमाध्यममा उठेका प्रश्नको जवाफ उनले सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गरेर दिए ।
वालेन्द्र जोखिममा रमाउने नेताको परिचय बनाउन सफल भएका छन् । देशको राजधानीसमेत रहेको काठमाडौँ महानगरपालिकाको स्वतन्तर मेयर बन्दादेखि प्रतिनिधिसभा सदस्य निर्वाचनमा झापा–५ मा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीविरुद्ध उम्मेदवारी दिनु उनका लागि जोखिमपूर्ण निर्णय थिए । तर, उनले यी दुवै जोखिमको सामना मात्र गरेनन्, सफल भएर उदाए ।
वालेन्द्र एमाले अध्यक्ष ओलीकै गृहजिल्लामा करिब ५० हजार मतान्तरले हराउँदै प्रतिनिधिसभा सदस्यका रूपमा निर्वाचित भएका हुन् । शाहले ६८ हजार ३४८ मत पाउँदा ओलीले १८ हजार ७३४ मत मात्र पाए । शाह र ओलीको मतान्तर मात्र ४९ हजार ६१४ छ । ओली ६ पटकसम्म निर्वाचित भएको क्षेत्रमा गएर जित निकाल्दै वालेन्द्रले जोखिममा रमाएको पुष्टि गरे ।
प्रधानमन्त्री वालेन्द्र पेसाले इन्जिनियर हुन् । काठमाडौँको हिमालयन ह्वाइटहाउस इन्टरनेसनल कलेजबाट सिभिल इन्जिनियरिङ गरेका उनले भारतको बेङ्गलुरुको विश्वेश्वरैया प्राविधिक विश्वविद्यालयबाट स्ट्रक्चरल इन्जिनियरिङमा स्नातकोत्तर गरेका छन् । २०७२ वैशाख १२ गतेको भूकम्पपछिको पुनःनिर्माणमा उनी सक्रिय भए । भूकम्पको इपिसेन्टर गोरखा हुँदै पुनर्निर्माण अभियानका क्रममा उनी ३५ जिल्ला पुगेका थिए । राजनीतिमा प्रवेश गर्नु अगाडि उनले कन्सल्टिङ र कन्स्ट्रक्सन प्रालिसमेत सञ्चालन गरे । वालेन्द्रले कन्सल्ट्यान्टका रूपमा सोल्टी सिटी प्रोजेक्ट र पद्म ग्रुप अफ कम्पनीजमा सहायक प्रबन्धकका रूपमा काम गरेका हुन् ।
महानगरमा ‘बालेन मोडल’
वालेन्द्र शाह काठमाडौँ महानगरपालिकाको प्रमुख बनेर राजनीतिमा औपचारिक प्रवेश गरेका हुन् । वि.सं. २०७९ जेठ ३० गते उनी काठमाडौँ महानगरको प्रमुख पदमा स्वतन्त्र उम्मेदवारका रूपमा विजयी भएका हुन् । उनले ६१ हजार ७६७ मत पाउँदा उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसकी सिर्जना सिंहले ३८ हजार ३४१ मत पाइन् । शाह र सिंहको मतान्तर २३ हजार ४२६ थियो ।
काठमाडौँ महानगर प्रमुखको जिम्मेवारीमा हुँदा उनले महानगर सुधारका लागि जोखिमपूर्ण काम गरेर चर्चा कमाए । महानगर प्रमुख बनेपछि वालेन्द्र कतिपय मुद्दामा कठोर प्रशासकका रूपमा प्रस्तुत भए । सडक, भवनको मापदण्ड र कानुन कार्यान्वयनमा उनले कसैले गर्न नसकेको आँट देखाए । यो जोखिमलाई धेरैले महानगरको ‘बालेन मोडल’ भनेर चर्चा गरे ।
काठमाडौं महानगरले मापदण्ड विपरीतका संरचनामा डोजर चलाएपछि देशभरका पालिकामा अनधिकृत संरचना हटाउन डोजर अभियान नै चल्यो । मापदण्ड विपरीतका संरचना हटाउँदा कतिपय ठाउँमा वालेन्द्र आफैँ सम्झाउन पुगेका श्रव्यदृश्य सामाजिक सञ्जालमा अहिलेसम्म चर्चित छन् (२०७९ भदौ ९ गते बुद्धनगरको अल्फाबिटा कम्प्लेक्समा डोजर चल्दा बालेनले गरेको प्रतिरक्षा) । काठमाडौँमा फुटपाथ बढाउने र बेसमेन्ट पार्किङको नियमलाई उनले कडाका साथ कार्यान्वयन गरे । टुकुचा खोला उत्खननको निर्णयले उनलाई थप चर्चामा ल्यायो । कार्यपालिका बैठक प्रत्यक्ष प्रसारण, फोहोर व्यवस्थापन र पूर्वाधारमा उहाँले लिएको पहललाई महानगरपालिकाले कहिल्यै बिर्सने छैन । काठमाडौँ महानगरले कार्यपालिका बैठक प्रत्यक्ष प्रसारण गरेपछि देशभरका स्थानीय तहमा यसको प्रभाव परेको देखिन्छ ।
महानगरमा मापदण्डविपरीतका होर्डिङ बोर्ड, डिजिटल बोर्ड, फ्लेक्स हटाउनदेखि शिक्षा, स्वास्थ्यको क्षेत्रमा बालेनले गरेका सुधार सम्झनायोग्य छन् । सामुदायिक विद्यालयका विद्यार्थीलाई छात्रवृत्ति, सार्वजनिक स्थानको सजावट, काठमाडौँका ५३ अस्पतालमा विपन्नलाई निःशुल्क उपचार उहाँको पहलमा भएका काम हुन् ।
प्रतिनिधिसभा सदस्य पदका लागि उम्मेदवारी दर्ताअघि उनले २०८२ साल माघ ४ गते काठमाडौँ महानगर प्रमुख पदबाट राजीनामा दिएका हुन् । काठमाडौँ महानगर प्रमुखको जिम्मेवारीमा कम बोल्ने कडा प्रशासकको परिचय बनाएका वालेन्द्र युवाको आवाज बनेर प्रधानमन्त्री बनेका हुन् ।
खलबलिएको राजनीतिक प्रणाली
नेपालका अनेकौँ कम्युनिस्ट पार्टीहरूको भीडमा एउटा फरक दल छ— नेपाल मजदुर किसान पार्टी (नेमकिपा) । उत्तर कोरियाको ‘जुछे’ अर्थात् राष्ट्रिय आत्मनिर्भरताको सिद्धान्तबाट प्रभावित यो दल वि.सं. २०३२ मा स्थापना भए पनि नेपालको कम्युनिस्ट आन्दोलनको मूलधारमा सधैँ ओझेलमै रह्यो । यसको चुनावी शक्ति काठमाडौँ उपत्यकाको भक्तपुर–१ निर्वाचन क्षेत्रमा मात्रै सीमित थियो, जहाँ यसका उम्मेदवारहरूले वि.सं. २०४८ देखिका हरेक आम निर्वाचनमा एकछत्र जित हासिल गर्दै आएका थिए । तर, यस वर्षको चुनावमा नयाँ शक्तिका रूपमा उदाएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले नेमकिपाको त्यो दशकौँ लामो अपराजित किल्ला भत्काइदियो । झट्ट हेर्दा यो भक्तपुरको एउटा स्थानीय उलटफेर जस्तो मात्र देखिए पनि, वास्तवमा यो देशव्यापी राजनीतिक महाविष्फोटकै एउटा हिस्सा थियो । रास्वपाले प्रतिनिधि सभाका कुल २७५ सिटमध्ये १८२ सिटमा ऐतिहासिक जित दर्ता ग¥यो, जुन तल्लो सदनमा दुई–तिहाइ बहुमतभन्दा मात्र दुई सिट कम हो ।
नेमकिपाले आफ्नो सुरक्षित गढमा भोगेको यो लज्जास्पद पराजय नेपालको राजनीतिबारे स्थापित पुराना भाष्यहरूलाई ध्वस्त पार्ने यस मध्यावधि निर्वाचनको थुप्रै रोचक कथाहरूमध्ये एक हो । रास्वपाले हासिल गरेको यो संसदीय बहुमत वि.सं. २०५६ मा नेपाली कांग्रेसले ल्याएका बहुमतपछिकै पहिलो एकल बहुमत हो । वि.सं. २०१६ को नेपालको पहिलो आम निर्वाचनमा नेपाली कांग्रेसले दुई–तिहाइ बहुमत ल्याएयता चुनावी इतिहासमा यति निर्णायक नतिजा कहिल्यै आएको थिएन । नेपालको हालको मिश्रित निर्वाचन प्रणाली (पहिलो हुने निर्वाचित हुने र समानुपातिक) अन्तर्गत कुनै पनि एउटा दलले एकल बहुमत ल्याउन सक्छ भन्ने कुरामा धेरै विश्लेषकहरूले शंका व्यक्त गर्दै आएका थिए ।
रास्वपाको जितको परिणाम मात्र होइन, यसको मतान्तरको आयतन पनि उत्तिकै चकित पार्ने खालको थियो । प्रत्यक्षतर्फ रास्वपाका १२ जना उम्मेदवारहरूले ५० हजारभन्दा बढी मत प्राप्त गरे । दलका प्रधानमन्त्रीका उम्मेदवार एवं काठमाडौंका पूर्व मेयर बालेन शाहले झन्डै ७० हजार मत पाए— जुन नेपालको चुनावी इतिहासकै सर्वाधिक मत हो । यस क्रममा उनले नेकपा (एमाले) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीलाई उनकै गृहजिल्ला झापामा सहजै पराजित गरे, जहाँ ओलीले वि.सं. २०४८ यता एउटा चुनावबाहेक सबै जितेका थिए । कांग्रेस, एमाले र माओवादीका थुप्रै पुराना र शीर्ष नेताहरू रास्वपाका उम्मेदवारहरूसँग क्लिनस्वीप भए । ती पुराना दलका सुरक्षित भनिएका गढहरूमा रास्वपाको पक्षमा यस्तो उभार आयो कि काठमाडौं उपत्यकाका तीनवटै सहरका १५ वटै सिटमा रास्वपाले क्लिनस्वीप ग¥यो ।
चुनावी तथ्यांकले के देखाउँछ भने, इन्टरनेटको पहुँच भएका सहरी र अर्ध–सहरी क्षेत्रहरूमा रास्वपाले निकै उत्कृष्ट प्रदर्शन ग¥यो । पुराना दलहरू भने राज्यको पहुँच कम भएका र सेवा प्रवाहका लागि दलीय नेटवर्क आवश्यक पर्ने ग्रामीण क्षेत्रमा मात्रै सीमित हुन पुगे । तीव्र सहरीकरण, आन्तरिक बसाइँसराइ र युवा मतदाताको बाहुल्यताका कारण भक्तपुर–१ जस्ता पुराना राजनीतिक दलका गढहरू ढले । लोकप्रिय मतमा कम्युनिस्ट पार्टीहरूको दशकौँ लामो वर्चस्व करिब ४० प्रतिशतबाट खुम्चिएर २१ प्रतिशतमा झ¥यो । संसद्मा प्रवेश गर्ने नयाँ सांसदहरूमध्ये झन्डै एक–तिहाइ ४० वर्षमुतिका छन्, जब कि अघिल्लो संसद्मा यो संख्या १० प्रतिशत मात्र थियो ।
गत भदौमा भएको ‘जेनजी’ विद्रोहको रापतापपछि तत्कालीन ओली सरकारले राजीनामा दियो । त्यसपछि राष्ट्रपतिले संसद् विघटन गरी पूर्व प्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा अन्तरिम सरकार गठन गर्दै २०८२ फागुन÷चैत मा मध्यावधि निर्वाचन गराउने जिम्मेवारी सुम्पेका थिए । आन्दोलनका क्रममा प्रदर्शनकारीहरूको सामूहिक हत्या भएपछि भड्किएको आगजनी र दंगा नेपाली राजनीतिको यथास्थिति विरुद्धको गहिरो आक्रोश र छटपटीको प्रतीक थियो । पुराना सरकारहरूले प्रधानमन्त्रीहरू छिटो–छिटो फेर्ने खेल मात्र गरिरहे, भ्रष्टाचार र नातावाद फस्टायो, र आर्थिक सुधारका मुद्दाहरू ओझेलमा परे । उच्च युवा बेरोजगारीका कारण लाखौँ युवाहरू अवसरको खोजीमा बिदेसिन बाध्य भए । विद्रोहको त्यो आँधीबेहरीमा पुराना दल र नेताहरू जनताको नजरमा गिरे, र रास्वपाले अघि सारेको परिवर्तनको भाष्यको सामना गर्ने उनीहरूसँग कुनै जवाफ थिएन । यही भूकम्पीय राजनीतिक उलटफेरको केन्द्रमा उदाएका हुन् नयाँ प्रधानमन्त्री— वालेन्द्र शाह ।
शक्तिशाली शासन संयन्त्र
प्रतिनिधि सभामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को दुई तिहाइ बहुमतपछि प्रधानमन्त्री नियुक्त भएका वालेन्द्र शाहले मुलुकको प्रशासनिक संरचनामा आमूल परिवर्तन गर्दै आफूलाई झनै शक्तिशाली बनाएका छन् । ‘न्यूनतम सरकार, अधिकतम सुशासन’ को लक्ष्यसहित बालेन सरकारले ६ दशक देखिको प्रशासनिक परम्परालाई तोड्दै नेपाल सरकार (कार्य विभाजन) नियमावली, २०८३ जारी गरेको छ ।
नयाँ नियमावली अनुसार विगतको २२ वटा मन्त्रालयको संरचनालाई परिमार्जन गरी १८ वटामा कायम गरिएको छ । यससँगै प्रधानमन्त्रीले देशका सबैभन्दा शक्तिशाली र रणनीतिक महŒवका मन्त्रालयहरू आफ्नै मातहत राखेर ’सुपर प्राइममिनिस्टर’ को छवि बनाएका छन् ।
शक्तिशाली प्रधानमन्त्री र चुस्त मन्त्रिपरिषद्
प्रधानमन्त्री वालेन्द्र शाहले हाल १५ सदस्यीय सानो मन्त्रिपरिषद्मार्फत सरकार चलाइरहेका छन् । मन्त्रालयको संख्या घटाएर १८ पुर्याइए पनि शक्ति सञ्चालनको केन्द्र प्रधानमन्त्री कार्यालयलाई बनाइएको छ । प्रधानमन्त्रीले गृह, रक्षा र नयाँ गठन गरिएको विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालयको जिम्मेवारी आफैँले सम्हालेका छन् । नियमावलीको अनुसूची २ अनुसार प्रधानमन्त्री कार्यालयले अब राष्ट्रिय अनुसन्धान विभाग, लगानी बोर्ड, र सम्पत्ति शुद्धीकरणसहित ४८ वटा महŒवपूर्ण कार्यक्षेत्रको प्रत्यक्ष सुपरिवेक्षण गर्नेछ ।
प्रविधि र एआईमा नयाँ फड्को
बालेन सरकारले पहिलो पटक विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालयलाई उच्च प्राथमिकतामा राखेको छ । नियमावलीको नियम १४ अनुसार कृत्रिम बौद्धिकता (एआई) को नीति र नियमनको जिम्मेवारी प्रधानमन्त्रीकै कमाण्डमा रहनेछ । अब राष्ट्रिय सुरक्षा र कूटनीतिसँगै साइबर सुरक्षा र डाटा गभर्नेन्सलाई पनि प्रधानमन्त्री कार्यालयको मुख्य कार्यक्षेत्रमा समेटिएको छ ।
मन्त्रालयहरूको पुनर्संरचना र मर्जर
प्रशासनिक खर्च कटौती गर्न धेरै मन्त्रालयहरूलाई एक आपसमा गाभिएको छ । कृषि, वन तथा वातावरण मन्त्रालयले अब खाद्य सुरक्षा र कार्बन व्यापारलाई एकै ठाउँमा ल्याएको छ । त्यसैगरी भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले कर्मचारी प्रशासन र स्थानीय तहको समन्वयलाई एकीकृत गरेको छ । स्वास्थ्य सेवालाई खाद्य गुणस्तरसँग जोडेर स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय बनाइएको छ ।
१८ मन्त्रालयको नयाँ स्वरूप
नयाँ संरचनामा प्रधानमन्त्री कार्यालय सर्वोच्च निकायको रूपमा रहनेछ । अर्थ मन्त्रालयले बजेट र शेयर बजार हेर्नेछ भने उद्योग, वाणिज्य तथा आपूर्तिले वैदेशिक लगानी र उपभोक्ता हित हेर्नेछ । ऊर्जा, जलस्रोत तथा सिँचाइले नवीकरणीय ऊर्जामा जोड दिनेछ । कानुन, न्याय तथा संसदीय मामिलाले ऐन नियमको तर्जुमा गर्नेछ । परराष्ट्र मन्त्रालयले कूटनीतिक सम्बन्ध र पूर्वाधार विकास मन्त्रालयले राष्ट्रिय राजमार्ग तथा रेलमार्गको काम गर्नेछ ।
अन्य मन्त्रालयहरूमा महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा, युवा, श्रम तथा रोजगार, शिक्षा तथा खेलकुद, सूचना तथा सञ्चार, र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन रहेका छन् । यी सबै मन्त्रालयको कार्यक्षेत्रलाई चुस्त बनाइएको छ ।
मन्त्रालयको संख्या घटाउँदा राज्य कोषमा अर्बौँ रुपैयाँको भार कम हुने र सरकारी निर्णय प्रक्रिया प्रभावकारी हुने अपेक्षा गरिएको छ । दुई तिहाइको बलियो जनमत र प्रधानमन्त्री बालेनको कार्यशैलीले यो नयाँ प्रशासनिक मोडेललाई कसरी सफल बनाउँछ भन्ने विषय अबको कार्यान्वयनले स्पष्ट पार्नेछ ।
परिचय र पृष्ठभूमि
जन्मः २०४७ वैशाख १४, नरदेवी, काठमाडौं (पिताः डा. रामनारायण शाह, माताः ध्रुवदेवी शाह)
बहुमुखी प्रतिभाः पेसाले स्ट्रक्चरल इन्जिनियर (पीएचडी शोधार्थी) र चर्चित ¥यापर ।
राजनीतिक सुरुवातः सन् २०११ मा उज्ज्वल थापाको नेतृत्वको ‘नेपाल युनाइट्स’ अभियान र शान्तिपूर्ण धर्नाहरूबाट ।
जीवनका घुम्तीहरू :
२०४७ वैशाख १४ः काठमाडौँको नरदेवीमा जन्म ।
२०६४–२०६६ः भीएस निकेतनबाट विज्ञान विषयमा प्लस टू उत्तीर्ण ।
२०६६–२०६९ः हिमालयन व्हाइट हाउस कलेजबाट सिभिल इन्जिनियरिङमा स्नातक ।
२०७४ फागुनः मोरङको इटहरा निवासी सविना काफ्लेसँग प्रेम विवाह।
२०७९ः ‘रअ बार्ज’ ¥याम्प ब्याटलबाट थप चर्चा, स्ट्रक्चरल इन्जिनियरिङमा स्नातकोत्तर ।
२०७९ जेठः स्वतन्त्र उम्मेदवारीमार्फत काठमाडौं महानगरपालिकाको मेयरमा निर्वाचित ।
२०८२ पुस: काठमाडौं महानगरपालिकाको मेयरबाट राजीनामा ।
२०८२ पुस: रास्वपा प्रवेश ।
२०८२ फागुन: झापा क्षेत्र नं. ५ बाट निर्वाचित ।
२०८२ चैत: रास्वपा संसदीय दलको नेता चयन ।
२०८२ चैत: ३६ वर्षको उमेरमा नेपालको निर्वाचित सबैभन्दा कान्छो प्रधानमन्त्रीमा नियुक्त ।चुनावी परिणाम: दुई ऐतिहासिक जित
१. काठमाडौं महानगरपालिका मेयर निर्वाचन (२०७९)
वालेन्द्र शाह (स्वतन्त्र): ६१,७६७ मत (विजेता)
सिर्जना सिंह (नेपाली कांग्रेस): ३८,३४१ मत
केशव स्थापित (नेकपा एमाले): ३८,११७ मत
२. प्रतिनिधिसभा निर्वाचन – झापा ५ (२०८२ फागुन)
वालेन्द्र शाह (रास्वपा): ६६,३४८ मत (दोब्बर मतले विजेता)
केपी शर्मा ओली (नेकपा एमाले): १८,७३४ मत
समिर तामाङ (श्रम संस्कृति पार्टी): ९,२३३ मत
कुटनीतिक परिपक्वता
फागुन २०८२ मा सम्पन्न ऐतिहासिक आम निर्वाचनमा युवा पुस्ताको विद्रोह र ‘जेन जी’ को परिवर्तनकारी आकांक्षालाई आत्मसात् गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले दुई–तिहाइ सिटसहित अभूतपूर्व सफलता हासिल ग¥यो । प्रत्यक्ष र समानुपातिकको मिश्रित निर्वाचन प्रणालीबाट कुनै पनि दलले बहुमत ल्याउन सक्दैन भन्ने राजनीतिक पण्डित्याइँलाई गलत साबित गर्दै ३६ वर्षीय स्ट्रक्चरल इन्जिनियर एवं पूर्व¥यापर वालेन्द्र शाह ‘बालेन’ नेपालको ४७ औँ प्रधानमन्त्रीका रूपमा सत्तासीन भएका छन् ।
बालेन वंश राजनीतिबाहिरबाट निर्वाचित नेपालकै इतिहासमा सबैभन्दा कम उमेरका प्रधानमन्त्री हुन् । यस जनमतलाई २०१५ सालको आम निर्वाचनमा बीपी कोइरालाले प्राप्त गरेको ऐतिहासिक विजयसँग तुलना गर्न थालिएको छ । तर, प्रविधिमैत्री युवा पुस्ताबाट पाएको तालीको गडगडाहट अझै मत्थर भइसकेको छैन । प्रधानमन्त्री शाहसामु अन्तर्राष्ट्रिय कूटनीतिको जटिल र चुनौतीपूर्ण यथार्थ तेर्सिएको छ । स्पष्ट, निडर र प्रखर राष्ट्रवादिताको जगमा आफ्नो छवि बनाएका यी युवा नेताका लागि दक्षिण एसियाली भूराजनीतिको यो चेस–बोर्ड बिल्कुलै नयाँ र चुनौतीपूर्ण खेल मैदान हो ।
आक्रामक बन्दै गइरहेको चीन, ऐतिहासिक रूपमा गहिरो प्रभाव राख्ने भारत र सुरक्षा स्वार्थ बोकेको महाशक्ति अमेरिकाको त्रिकोणात्मक चासोबीच नेपाल उभिएको छ । नेपाली कांग्रेस, नेकपा एमाले र माओवादीजस्ता सत्तानुभवी पुराना शक्तिहरू सिटका दृष्टिकोणले कमजोर प्रतिपक्ष बनेका छन् भने संसद्मा हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीले नैतिक सामथ्र्यसहितको बलियो प्रतिपक्षी मोर्चा सम्हाल्दै छ । यस्तो घरेलु राजनीतिक परिदृश्यमा बालेन र रविको कप्तानीमा रहेको रास्वपाको सरकारलाई सुरक्षित अवतरण गराउने र नेपालको परराष्ट्र नीतिलाई नयाँ दिशा दिने गहन जिम्मेवारी शाहको काँधमा छ ।
रास्वपाले आफ्नो वाचा पत्रमा सन्तुलित कूटनीति अवलम्बन गर्दै नेपाललाई भाइब्रेन्ट ब्रिजका रूपमा स्थापित गर्ने सीमा सुरक्षा बल सुदृढ गर्ने र प्रविधियुक्त निगरानी प्रणाली लागू गर्ने वाचा गरेको थियो । साथै पार्टीले कूटनीतिक नियोग सुधार गर्ने र अनलाइन कन्सुलर सेवा विस्तार गर्ने घोषणा गरेको थियो । ‘भूराजनीति’ मा गम्भीर हुनुपर्छ काठमाडौंको मेयर हुँदा बालेन शाह सांकेतिक एवं चर्को भूराजनीतिक अभिव्यक्ति दिन कहिल्यै हच्किएनन् । उनले आफ्नो कार्यकक्षमा ‘ग्रेटर नेपाल’ को नक्सा राखेर चर्चा कमाए भने नक्सा विवादकै बीच भारतीय चलचित्र प्रदर्शनमा समेत रोक लगाएका थिए । यस्ता आक्रामक र भावनात्मक कदमहरूले निराश युवा पुस्ताको मन त जित्यो, तर परराष्ट्र मामिलाका विज्ञहरू भने सार्वभौम मुलुकको शासन सञ्चालनका लागि बिल्कुलै फरक र परिपक्व दृष्टिकोण आवश्यक पर्ने चेतावनी दिन्छन् । राजनीतिक विश्लेषक चन्द्रदेव भट्ट भन्छन्, ‘विगतका नेताहरूले अँगालेको जस्तो ‘भूराजनीतिक सक्रियतावाद’ यो सरकारका लागि प्रत्युत्पादक साबित हुन सक्छ । त्यसैले, नयाँ सरकारले यस प्रकारको सस्तो प्रचारबाजीबाट टाढै रहनु बुद्धिमानी हुनेछ ।’
शाहका सामु मतदाताले सुम्पेको सबैभन्दा ठूलो र पहिलो जिम्मेवारी आर्थिक पुनरुत्थान नै हो । रास्वपाले आफ्नो चुनावी घोषणापत्रमा नेपालको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) लाई ४५ अर्ब डलरबाट १०० अर्ब डलर पु¥याउने, प्रतिव्यक्ति आय दोब्बर बनाएर ३,००० डलरभन्दा माथि लैजाने र आगामी पाँच वर्षभित्र १५,००० मेगावाट विद्युत् उत्पादन गर्ने महŒवाकांक्षी योजना अघि सारेको छ । यी लक्ष्यहरू हासिल गर्न अर्बौँ डलरको वैदेशिक प्रत्यक्ष लगानी आवश्यक पर्छ । यसका लागि शाहले सडक वा सामाजिक सञ्जालको आन्दोलनकारी छविबाट बाहिर निस्केर चतुर आर्थिक व्यावहारिकतातर्फ कदम चाल्नै पर्छ ।
दिल्ली र बेइजिङबीच सन्तुलन
नेपालको निर्वाचन परिणाम आधिकारिक रूपमा घोषणा हुनुपूर्व नै रुझान हेरेर शक्तिराष्ट्रहरूबाट बधाई र सहकार्यको प्रस्ताव आउनुले नेपालको भूराजनीतिक संवेदनशीलतालाई स्पष्ट पार्छ । भारत र चीनले नेपालद्वारा दाबी गरिएको विवादित हिमाली क्षेत्र ‘लिपुलेक भञ्ज्याङ’ लाई प्रयोग गर्ने गरी गरेको द्विपक्षीय व्यापार सम्झौतापछि शाह प्रशासनको वास्तविक परीक्षा नयाँ दिल्ली र बेइजिङसँगको सम्बन्ध व्यवस्थापनमा हुनेछ ।
चीन (पूर्वाधार, बीआरआई, ऊर्जा परियोजनाहरू
नेपाल व्यापार, पारवहन, खुला सिमाना भारत
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले रास्वपा सभापति रवि लामिछाने र प्रधानमन्त्री शाह दुवैलाई छुट्टाछुट्टै फोन गरेर बधाई दिए । यो कूटनीतिक कदमले रास्वपाभित्रका दुई शक्तिशाली पात्रसँग बराबरीको सम्बन्ध राख्ने नयाँ दिल्लीको रणनीतिक सङ्केतलाई बुझाउँछ । परराष्ट्र मामिला विश्लेषक तथा पत्रकार भन्छन्, ‘नेपालको यो राजनीतिक परिवर्तनले भारतका लागि एक रणनीतिक अवसरको ढोका खोलेको छ, तर त्यसका लागि नयाँ दिल्लीले सूक्ष्म व्यवस्थापन गर्ने आफ्नो पुरानो बानी त्याग्नुपर्छ । शाह एउटा नयाँ पुस्ताको परिवर्तनको उपज हुन् । उनलाई परम्परागत राजनीतिक दलाल वा पर्दापछाडिका खेलाडीहरूमार्फत नियन्त्रण गर्न सम्भव छैन ।’
उत्तरी छिमेकी चीनको ‘बेल्ट एन्ड रोड इनिसिएटिभ’ अन्तर्गतका परियोजनाहरू विगत लामो समयदेखि प्रशासनिक ढिलासुस्तीका कारण अघि बढ्न सकेका छैनन् । विकास र स्थिरताको परम्परागत सद्भाव बोकेको बेइजिङले यो नयाँ मन्त्रिमण्डलबाट ती परियोजनाहरू कार्यान्वयनको स्पष्ट प्रतिबद्धता खोजेको छ । चीनलाई आफ्नो भरपर्दो साझेदार बनाइराख्नु र नेपाललाई ऋणको पासो मा पर्न नदिनु नै शाहको मुख्य चुनौती हुनेछ ।
घरेलु अपेक्षा र वैदेशिक सम्बन्धको व्यवस्थापन
विगतका शासकहरूले आफ्नो आन्तरिक सुशासनको असफलतालाई ढाकछोप गर्न अक्सर भारतविरोधी वा चीनमुखी कार्ड खेल्ने गर्थे । तर शाहका सामु त्यसो गर्ने छुट छैन; उनी तत्काल र ठोस परिणाम खोज्ने एउटा सचेत र आलोचनात्मक नागरिक समाजप्रति जवाफदेही छन् । अर्थशास्त्री निशान्त खनालले द हिन्दूसँग भनेका थिए, ‘मेरो विचारमा उनीसामु रहेको सबैभन्दा ठूलो चुनौती भनेको जनताको आकाशचुम्बी आकांक्षालाई व्यवस्थापन गर्नु हो । तर, हाम्रा डेलिभरी संयन्त्र र संस्थाहरू भने उही पुराना र जीर्ण छन् । सन् १९९० पछि बनेका हरेक नेपाली सरकारलाई निलेको संस्थागत असफलता र बेथितिबाट यो नयाँ प्रशासन कति जोगिन सक्छ, मुख्य परीक्षा यसैमा हुनेछ ।’
प्रशासनिक जडता नेपालको परराष्ट्र मन्त्रालयमा पनि उत्तिकै व्याप्त छ । यसबाहेक, अमेरिकी सरकारले आफ्नो बधाई सन्देशमा ‘आगामी सरकारसँग सुरक्षासम्बन्धी साझा लक्ष्यहरूमा सहकार्य गर्न उत्सुक छ’ भनी उल्लेख गर्नुले नयाँ सुरक्षा चुनौती थपेको छ । स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) र इन्डो–प्यासिफिक स्ट्राटेजी (आईपीएस) जस्ता रणनीतिक सैन्य मामिलामा नेपाल कुनै पनि गठबन्धनमा सामेल नहुने आफ्नो घोषित नीतिमा अडिग रहन आवश्यक छ । शाहले नेपालको कूटनीतिक नियोगहरूलाई राजनीतिक भागबन्डाबाट मुक्त गरी योग्यताका आधारमा व्यावसायिक बनाउनु अनिवार्य छ ।
आर्थिक कूटनीति र ‘जेनजी’ को जनादेश
शाहको परराष्ट्र नीतिको मुख्य मेरुदण्ड ‘विकास, डिजिटल कूटनीति र रणनीतिक स्वायत्तता’ हुनुपर्छ । आजको ट्रम्पकालीन विश्व व्यवस्थामा कमजोर राष्ट्रको अस्तित्वमाथि संकट देखा परिरहेको बेला नेपालले आफ्नो निर्णय गर्ने अधिकार सुरक्षित राख्दै रणनीतिक स्वायत्तताको अभ्यास गर्नुपर्छ । अन्तर्राष्ट्रिय सम्बन्ध टिप्पणीकार प्रतिभा रावल भन्छिन्, ‘शाहको परराष्ट्र नीति सीमा विवादमा मात्र अल्झिनु हुँदैन; यसको केन्द्रविन्दु श्रम कूटनीति, डिजिटल व्यापार र हरित ऋण आर्जनमा हुनुपर्छ । एक मिलेनियल नेताले विकासोन्मुख अर्थतन्त्रको उत्थानका लागि प्रविधिको प्रयोग कसरी गर्छन् भन्ने कुरामा सिंगो विश्वको नजर छ ।’
दैलेखमा पाइएको प्राकृतिक ग्यास र युरेनियमसहित नेपालका विभिन्न स्थानमा रहेका प्राकृतिक स्रोतका कारण शक्तिराष्ट्रहरूको चासो बढेको छ । यी चासोहरूले द्वन्द्वको रूप नलिन भन्नका लागि नेपालले घरेलु सामथ्र्यको विकास गर्नुपर्छ । डिजिटल सेवाहरूको निर्यात, भारत र बंगलादेशमा जलविद्युत् बिक्री र अन्तर्राष्ट्रिय जलवायु कोषको अधिकतम उपयोग गरेर शाहले नेपाललाई केवल दुई देशबीचको ‘बफर स्टेट’ मात्र नभई एक सक्रिय आर्थिक केन्द्रका रूपमा रूपान्तरण गर्न सक्छन् ।
बालेनको आर्थिक लेन
फागुन २१ को आमनिर्वाचन एउटा ऐतिहासिक मोडका रूपमा स्थापित भएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीले दुई तिहाइ मतसहित प्राप्त गरेको विजय र ३६ वर्षीय वालेन्द्र शाह (बालेन) को प्रधानमन्त्रीमा नियुक्ति सत्ता समीकरणको परिवर्तन मात्र होइन, दशकौंदेखि जनतामा थुप्रिएको असन्तोष, पुराना राजनीतिक संरचनाप्रतिको तीव्र निराशा र एउटा नयाँ सुरुआतको सामूहिक विस्फोट हो ।
भदौ २३ र २४ को ‘जेनजी आन्दोलन’ले स्थापित गरेको सुशासन र व्यवस्था परिवर्तनको मुद्दालाई संस्थागत गर्ने ऐतिहासिक जिम्मेवारी अहिले बालेनको काँधमा आएको छ । २०१५ सालमा नेपाली कांग्रेसले प्राप्त गरेको दुई तिहाइको बहुमतपछि मुलुकले पहिलोपटक यति स्पष्ट र बलियो जनादेश पाएको छ । तर, यो बहुमत लोकतन्त्रको रक्षाका लागि मात्र होइन, बरु ‘पुरानो राजनीति र विकृत अर्थतन्त्रको अन्त्य’ का लागि आएकाले प्रधानमन्त्री बालेनका अगाडि चुनौतीका चाङहरू छन् ।
बालेन शाह नेपाली राजनीतिको स्थापित जग वा संगठनबाट आएका व्यक्ति होइनन् । उनी न त कुनै राजनीतिक दलको कमान्ड सम्हाल्दै दशकौंसम्म जेलनेल भोगेर आएका नेता हुन्, न त नातावादको छहारीमा हुर्किएका अनुहार हुन् । उनी एक ¥यापर, स्ट्रक्चरल इन्जिनियर र सामाजिक विसंगतिविरुद्ध आवाज उठाउने युवा नागरिकका रूपमा सार्वजनिक जीवनमा आएका व्यक्ति हुन् । काठमाडौं महानगरपालिकाको मेयर बन्दा उनीमाथि जुन आशंकाहरू गरिएका थिए, उनले आफ्नो कार्यशैलीबाट ती सबैलाई गलत साबित गरिदिए । शक्तिशाली भूमाफिया र राजनीतिक पहुँच भएका व्यक्तिहरूसँग नडराई सार्वजनिक जग्गा फिर्ता गराउने, फोहोर व्यवस्थापनमा व्यावहारिक कदम चाल्ने, डिजिटल सेवाको विस्तार गर्ने र कार्यालय समयमा बसेर परिणाममुखी काम गर्ने उनको शैलीले देशभरी नयाँ तरंग पैदा ग¥यो । महानगरमा देखिएको यही कार्यकुशलताका कारण नै आम जनताले उनलाई देशको नेतृत्व सुम्पिने आँट गरे, जसको परीक्षा अब सिंहदरबारबाट सुरु भएको छ ।
महानगरबाट सिंहदरवार
एउटा सहरको सडक सफा गर्नु, अतिक्रमण हटाउनु वा स्थानीय कर प्रणालीलाई व्यवस्थित गर्नु र एउटा सिंगो राष्ट्रको अर्थतन्त्र चलाउनु पूर्ण रूपमा फरक विषय हुन् । महानगरपालिकामा सीमित स्रोत र साधनको परिचालन गरी प्रत्यक्ष नतिजा देखाउन सजिलो भए पनि राष्ट्र सञ्चालन गर्दा भूराजनीतिक जटिलता, समष्टिगत आर्थिक सूचकहरू, व्यापार घाटा र राष्ट्रिय सुरक्षा जस्ता बहुआयामिक विषयहरू अगाडि आउँछन् । बालेनले भदौ आन्दोलनबाट प्राप्त गरेको त्रिपक्षीय जनादेशलाई सम्बोधन गर्नु पर्नेछ, जसमा तत्कालको भ्रष्टाचार नियन्त्रण, युवा वर्गलाई स्वदेशमै रोजगारीको ग्यारेन्टी र आम नागरिकको जीवनस्तरमा ठोस सुधार ल्याउने दीर्घकालीन अपेक्षाहरू सामेल छन् । यी तीनै तहका मागलाई एकैसाथ सन्तुलनमा राखेर कार्यसम्पादन गर्नु नै बालेनको प्रधानमन्त्रीकालको सबैभन्दा ठूलो मापदण्ड बन्ने निश्चित छ ।
आर्थिक विश्वासको पुनस्र्थापना
नेपालको अर्थतन्त्र लामो समयदेखि अत्यधिक रूपमा रेमिट्यान्स र आयातमा मात्र निर्भर रहँदै आएको छ । देशभित्र उत्पादनको आधार कमजोर हुँदा र औद्योगिक गतिविधि न्यून हुँदा व्यापार घाटा प्रत्येक वर्ष आकाशिएको छ । यस्तो संक्रमणकालीन अवस्थामा नयाँ सरकारको पहिलो प्राथमिकता निजी क्षेत्र र बजारमा आर्थिक विश्वास पुनस्र्थापना गर्नु नै हुनुपर्छ । विगतका नीतिगत अनिश्चितता, प्रशासनिक ढिलासुस्ती र जटिल कर प्रणालीका कारण उद्योगी र लगानीकर्ताहरूले नेपालमा दीर्घकालीन लगानी गर्न हिचकिचाउने वातावरण बनेको थियो । बालेन सरकारले आफ्नो प्रारम्भिक कदमबाटै बजारलाई नीतिगत स्थिरता, पारदर्शिता र लगानीमैत्री वातावरणको स्पष्ट सन्देश दिनु आवश्यक छ ताकि निजी क्षेत्र र सरकार मिलेर आर्थिक गतिविधिलाई गति दिन सकून् ।
लाइसेन्स राजको अन्त्य
नेपालको आर्थिक विकासको एउटा ठूलो बाधक भनेको प्रशासनिक क्षेत्रमा जरा गाडेर बसेको ‘लाइसेन्स राज’ हो । यहाँ नयाँ व्यवसाय सुरु गर्न, नवीकरण गर्न, कर तिर्न वा आयात–निर्यात गर्नका लागि उद्यमीहरूले अनेकौं सरकारी झन्झट र बिचौलियाहरूको सामना गर्नुपर्छ । यो प्रणालीले इमानदार व्यवसायीलाई निरूत्साहित र दलालहरूलाई पुरस्कृत गर्ने काम गरेको छ । बालेन सरकारले समग्र अर्थव्यवस्थाको गतिशीलता फर्काउन व्यवसाय दर्ता र बन्दको सम्पूर्ण प्रक्रियालाई पूर्ण रूपमा डिजिटलाइज्ड गर्नुपर्छ । कुनै पनि उद्यम ७ दिनभित्र अनलाइनबाटै दर्ता हुन सक्ने व्यवस्था मिलाउन ठूलो बजेटभन्दा पनि बलियो राजनीतिक इच्छाशक्ति भए पुग्छ, जसले बजारमा नयाँ उत्साह थप्नेछ ।
अर्थतन्त्रको विकेन्द्रीकरण
नेपाल राष्ट्र बैंकको तथ्यांकले कुल कर्जाको ५९.५ प्रतिशत र कुल निक्षेपको ६५.८ प्रतिशत बागमती प्रदेश, विशेषगरी काठमाडौं उपत्यकामा मात्र केन्द्रित भएको देखाउँछ । यसले देशको अर्थतन्त्रको मुटु काठमाडौंमा मात्र धड्किरहेको र अन्य क्षेत्रहरू आर्थिक रूपमा उपनगरमा परिणत हुँदै गएको पुष्टि गर्छ । निर्वाचनमा गाउँ पुगेर भोट हाल्ने युवाहरू भोलिपल्टै रोजगारीको खोजीमा काठमाडौं फर्किनुपर्ने बाध्यता नेपालको विकास मोडलको सबैभन्दा ठूलो विफलता हो । बालेन सरकारले अब काठमाडौंभन्दा बाहिर हेरेर धनगढी, भैरहवा, विराटनगर, पोखरा, हेटौंडा र धरान जस्ता सहरहरूलाई वास्तविक आर्थिक र औद्योगिक केन्द्रको रूपमा विकास गर्ने राष्ट्रिय एजेन्डालाई अगाडि बढाउनै पर्छ ।
युवा स्वरोजगार
भौगोलिक विकेन्द्रीकरणका लागि सूचना प्रविधि क्षेत्र सबैभन्दा न्यूनतम लगानीमा अधिकतम प्रभाव पार्ने माध्यम हुन सक्छ । नेपालका हजारौं युवाहरू अहिले सफ्टवेयर डेभलपमेन्ट, ग्राफिक डिजाइन र डिजिटल मार्केटिङका माध्यमबाट विश्व बजारमा जोडिएका छन् । यो व्यवसायका लागि केवल ल्यापटप र उच्च गतिको इन्टरनेट भए पुग्छ । बालेन सरकारले काठमाडौंबाहिरका प्रमुख सहरहरूमा सरकारी सहयोगमा को–वर्किङ स्पेस, विजुलीको निरन्तरता र आईटी पार्कहरूको निर्माण गरिदिने हो भने काठमाडौंको चाप घट्ने मात्र होइन, गाउँगाउँमा आर्थिक क्रान्ति ल्याउन सकिन्छ । काठमाडौंको एउटा फ्लाईओभर बनाउने बजेटले देशका आधा दर्जन सहरमा आधुनिक आईटी पूर्वाधार खडा गर्न सम्भव छ ।
ऊर्जा र खाद्य क्षेत्रमा आत्मनिर्भरता
विगतका नाकाबन्दी र हालैका विश्वव्यापी संकटहरूले नेपाललाई परनिर्भरताको पाठ सिकाए पनि राज्यस्तरबाट ठोस सुधार हुन सकेको छैन । वार्षिक खर्बौं रुपैयाँ पेट्रोलियम पदार्थ, चामल र तरकारी आयातमा बाहिरिँदा देशको विदेशी मुद्रा सञ्चितिमा ठूलो दबाब परेको छ । बालेन सरकारले तीन स्तरमा आत्मनिर्भरताको नीति अवलम्बन गर्नु आवश्यक देखिन्छ । पहिलो, पेट्रोलियम आयात घटाउन विद्युतीय सार्वजनिक यातायात र सवारी साधनमा ठूलो मात्रामा कर छुट र अनुदान दिने । दोस्रो, तराईका क्षेत्रमा धान, गहुँ र मकैको उत्पादन बढाउन किसानलाई समयमै सस्तो मल, सुलभ ऋण र बाली बिमाको ग्यारेन्टी गर्ने । तेस्रो, संकटको समय देशलाई थेग्नका लागि कम्तीमा ६ महिना पुग्ने पेट्रोलियम र खाद्यान्नको रणनीतिक भण्डारण क्षमताको विकास गर्ने ।
भूराजनीतिको महाचक्रव्यूह
वर्तमान विश्व व्यवस्था दोस्रो विश्वयुद्धपछिकै सबैभन्दा अस्थिर र बहुध्रुवीय मोडमा छ । चीन र अमेरिकाबीचको बढ्दो प्राविधिक तथा सामरिक प्रतिस्पर्धा र छिमेकी भारतको विश्वव्यापी आर्थिक उदयको बीचमा नेपालको कूटनीति सधैं संवेदनशील मोडमा रहँदै आएको छ । नेपालको परम्परागत कूटनीति केवल ‘रक्षात्मक सन्तुलन’ मा आधारित थियो, जहाँ हामी कसैसँग विवाद गर्दैनथ्यौं तर आफ्नो हित पनि सक्रिय रूपमा खोज्दैनथ्यौं । प्रधानमन्त्री बालेनले अब यो परम्परा तोडेर ‘आक्रामक व्यावसायिक साझेदारी’ को कूटनीति अपनाउनुपर्छ । भारतसँग व्यापार असन्तुलन र बिजुली निर्यातमा भावनात्मक होइन, व्यावसायिक सम्झौता गरिनुपर्छ । चीनको बेल्ट एन्ड रोड इनिसियटिभ अन्तर्गतका केरुङ–काठमाडौं रेल जस्ता ठूला आयोजनाहरूमा अन्धो समर्थन वा पूर्ण अस्वीकार नगरी ठोस आर्थिक लाभको विश्लेषण गरेर मात्र निर्णय लिनुपर्छ ।
श्रम कूटनीति
मध्यपूर्वमा रहेका लाखौं नेपाली श्रमिकहरूको रेमिट्यान्सले नेपालको अर्थतन्त्र धानिरहेको भए पनि त्यो क्षेत्रको भूराजनीतिक र सामरिक अस्थिरताले नेपाललाई जुनसुकै बेला ठूलो संकटमा पार्न सक्छ । यदि मध्यपूर्वमा युद्ध भड्किएर आपूर्ति शृङ्खला अवरुद्ध भएमा नेपालको अर्थतन्त्र डगमगाउने निश्चित छ । यस जोखिमलाई कम गर्न बालेन सरकारले तत्कालै रेमिट्यान्सको विविधीकरण गर्ने रणनीति बनाउनुपर्छ । जापान, दक्षिण कोरिया, अस्ट्रेलिया, जर्मनी र क्यानडा जस्ता सुरक्षित र उच्च आम्दानी हुने देशहरूमा दक्ष नेपाली जनशक्ति पठाउनका लागि सरकारी तहमै सीप विकास केन्द्र, भाषा तालिम र पारदर्शी द्विपक्षीय श्रम सम्झौताहरू गरिनु अत्यन्त जरुरी छ ।
कर्मचारीतन्त्र सुधार
प्रधानमन्त्री बालेनका लागि बाहिरी चुनौतीहरू जतिसुकै कठिन भए पनि उनको सबैभन्दा ठूलो र जटिल युद्ध सिंहदरबारभित्रकै कर्मचारीतन्त्रसँग हुनेछ । नेपालको कर्मचारीतन्त्र दशकौंदेखिको राजनीतिक भर्ती, दलगत युनियनहरूको हालीमुहाली र जवाफदेहिताको पूर्ण अभावका कारण जर्जर बनेको छ । राम्रो नीति र योजना बनाउनु एउटा पाटो हो, तर त्यसलाई तल्लो तहसम्म कार्यान्वयन गराउने काम कर्मचारीकै हातमा हुन्छ । परिवर्तनप्रति उदासिन रहने यो संयन्त्रलाई ट्र्याकमा ल्याउन बालेनले डर वा त्रास मात्र होइन, नतिजामुखी कार्यसम्पादन मूल्यांकन प्रणाली लागू गर्नुपर्छ । भ्रष्टाचारमा संलग्न ठूला माछाहरूमाथि दृष्टान्तयोग्य कारबाही गर्दै इमानदार र दक्ष कर्मचारीलाई उचित प्रोत्साहन र पुरस्कार दिने परिपाटी बसाल्नु आवश्यक छ ।
सुशासन र नागरिक सेवा प्रवाह
आम नागरिकले राज्यको उपस्थिति ठूला भाषणमा होइन, दैनिक सेवा प्रवाहमा खोजिरहेका हुन्छन् । सवारी नामसारी, घरजग्गा कर, नागरिकता, पासपोर्ट र खानेपानीको बिल तिर्ने जस्ता आधारभूत कामका लागि सरकारी कार्यालयमा दिनभर लाइन बस्नुपर्ने बाध्यताले नागरिकको उत्पादकत्व शून्य बनाउँछ । बालेनले काठमाडौं महानगरमा सुरु गरेको डिजिटल र पारदर्शी सेवाको मोडललाई अब राष्ट्रिय स्तरमा लागू गर्नुपर्छ । यातायात, मालपोत र राहदानी जस्ता सेवाहरू पूर्ण रूपमा अनलाइन र सर्वसुलभ बनाइनुपर्छ । सेवा प्रवाहमा गरिने यो सुधार केवल नागरिकको सुविधा मात्र नभएर देशको आर्थिक उत्पादकत्व बढाउने र सुशासनको प्रत्यक्ष अनुभूति गराउने सबैभन्दा कसिलो हतियार हो ।
संवाद कूटनीति
बालेन शाहका लागि सबैभन्दा ठूलो पूँजी र जोखिम दुवै उनीमाथि गरिएको अत्यधिक जनअपेक्षा नै हो । आम जनताले उनलाई सम्पूर्ण राष्ट्रिय समस्याहरूको एकमुष्ट समाधान गर्ने जादुगरका रूपमा हेरिरहेका छन् । पाँच वर्षको कार्यकालमा दशकौंदेखिको भ्रष्टाचार निर्मूल हुने, अर्थतन्त्रले रातारात फड्को मार्ने र बेरोजगारी पूर्ण रूपमा अन्त्य हुने जस्ता अपेक्षाहरू यथार्थपरक हुँदैनन् । यो अपेक्षाको सही व्यवस्थापन गर्न नसके केही वर्षमै जनतामा निराशा पैदा हुन सक्छ । त्यसैले प्रधानमन्त्री बालेनले पहिलो दिनदेखि नै जनतासँग इमानदार संवाद गर्दै आफ्नो निश्चित समयतालिका सहितको रोडम्याप सार्वजनिक गर्नुपर्छ, ताकि जनताले छोटो अवधिमा देखिने परिणाम र दीर्घकालीन सुधारका कामहरू स्पष्ट रूपमा बुझ्न सकून् ।






















