images
images
  • परम्पराका नाममा पुरानै ढर्रामा कैद भइरहन सकिँदैन

    स्वर्णिम वाग्ले

    नेपाली राजनीति र अर्थतन्त्र यतिबेला एउटा महत्वपूर्ण प्रस्थानविन्दुमा उभिएको छ । हालैका राजनीतिक उतारचढाव र आम निर्वाचनले मुलुकलाई नयाँ दिशा तर्फ डो¥याएको छ । जनअपेक्षा र राजनीतिक पुस्तान्तरणको यो घडीमा विगतका कमजोरीहरूको समीक्षा गर्दै आगामी यात्रा तय गर्नु अपरिहार्य भइसकेको छ । हाम्रा राजनीतिक बहसहरूमा अक्सर एउटा शाश्वत दर्शन स्मरण गरिन्छ— ‘वादे–वादे जायते तत्वबोध’ । अर्थात्, निरन्तरको विमर्श र छलफलबाट नै नयाँ ज्ञान वा बुझाइको जन्म हुन्छ । राष्ट्र निर्माणको साझा उद्देश्यमा हामी सबै बाँधिएका छौँ, तर अब हामीले साधन र साध्यलाई स्पष्ट रूपमा छुट्याउन सक्नुपर्छ ।

    हाम्रो साध्य वा गन्तव्यमा सायद कसैको विमति छैन । त्यो गन्तव्य हो— सुशासित, समुन्नत नेपाल । जहाँ अर्थतन्त्रको आकार बढोस्, सम्मानजनक रोजगारी सिर्जना होस्, र औसत प्रतिव्यक्ति आयमा वृद्धि होस् । राज्यले सामाजिक न्यायका पक्षमा लगानी गर्न सक्ने सामथ्र्य राखोस् र अन्तर्राष्ट्रिय मञ्चमा देशको प्रतिष्ठा एवं आत्म–सम्मान कायम होस् । तर, प्रश्न त्यो गन्तव्यसम्म पुग्ने ‘बाटो’ अर्थात् साधनको हो । विगत ३० वर्षकै नीति, शासकीय शैली र चरित्र ठिक हुन्थ्यो भने आज राजनीतिमा पुस्तान्तरण र आर्थिक–सामाजिक क्षेत्रमा यति व्यग्र रूपान्तरणको माग उठ्ने नै थिएन । पछिल्ला तीन दशकमा कुशासनका कारण मुलुकले गुमाएको आर्थिक अवसर, रोजगारी र सम्भावित आर्थिक वृद्धिको मूल्य अकल्पनीय छ । सुस्त निर्णय प्रक्रिया, मिलेमतो, नीतिगत अन्योल, बिचौलियातन्त्र र संस्थागत दोहनको यो चक्रलाई तोड्न अब परम्पराका नाममा पुरानै ढर्रामा कैद भइरहन सकिँदैन ।

    आर्थिक सोचः उत्पादनमुखी र उदार अर्थतन्त्र

    हाम्रो आर्थिक सोच लोकतान्त्रिक मूल्यमा आधारित, प्रतिस्पर्धात्मक, उत्पादनमुखी र सामाजिक न्यायसहितको उदार अर्थतन्त्र हो । राज्य सबै कुरा आफैँ गर्ने भद्दा संरचना बन्नु हुँदैन । यसको भूमिका त नागरिक, निजी क्षेत्र र समाजको क्षमता विस्तार गर्ने सक्षम र उत्तरदायी संस्थाका रूपमा हुनुपर्छ । सरकारको प्रभावकारी नियमन र सहजीकरणमा निजी क्षेत्रले उडान भर्ने अवधारणा नै हाम्रो आर्थिक दर्शन हो । उपभोगमुखी, आयात–निर्भर र सीमित अवसरमा आधारित अर्थतन्त्रलाई उत्पादन, नवप्रवर्तन र उद्यमशीलताद्वारा सञ्चालित गतिशील अर्थतन्त्रमा रूपान्तरण गर्नु आजको प्रमुख आवश्यकता हो ।

    कतिपयलाई लाग्न सक्छ, सरकारको प्राथमिकता के हो ? यसको स्पष्ट जवाफ हो— सुशासन । किनकि सुशासनबिना दिगो आर्थिक वृद्धि सम्भव नै हुँदैन । भ्रष्टाचार, ढिलासुस्ती र संस्थाहरूको अवैध कब्जाले राज्यको लागत मात्र बढाएको छैन, नागरिकको विश्वाससमेत कमजोर बनाएको छ । त्यसैले ‘सिस्टम सुधारमार्फत आर्थिक सुधार’ को बाटो समात्नुको विकल्प छैन । ई–गभर्नेन्स, डिजिटल डेलिभरी, ‘वान–टाइम डाटा सबमिसन’ र कार्यसम्पादन सम्झौता जस्ता प्रबन्धहरू प्रविधिका कुरा होइनन्, यी राज्य सञ्चालनको संस्कार परिवर्तन गर्ने आधार हुन् । अब मुलुकलाई ‘खर्च गर्ने राज्य’ होइन, ‘परिणाम दिने राज्य’ मा रूपान्तरण गर्नु पर्दछ ।

    निजी क्षेत्रको आत्मविश्वास र मध्यम वर्गको विस्तार

    बजारमा निजी क्षेत्र तर्सिने वा आत्मविश्वास घट्ने जुन चिन्ता व्यक्त हुने गरेको छ, त्यसमा स्पष्ट हुन जरुरी छ । इमानदार र लगानीमुखी निजी क्षेत्रले कत्ति पनि चिन्ता लिनु पर्दैन । सरकार उद्यम र उत्पादन विस्तारका लागि आवश्यक सहजीकरण, कानुनी सुधार र नीतिगत स्थायित्व दिन प्रतिबद्ध छ । तर, राज्य, नीति र सार्वजनिक संस्थालाई कब्जामा लिएर सीमित समूहको मिलेमतोमा देश दोहने ‘क्रोनी क्यापिटलिज्म’लाई अब संरक्षण गर्न सकिँदैन । आसेपासेको मिलेमतो र नीतिगत कब्जाको घनचक्करबाट राज्यलाई मुक्त गर्दै सुशासनको लाभ आम नागरिकसम्म पु¥याउनु नै मूल ध्येय हो ।

    त्यस्तै, ‘मध्यम वर्गको विस्तार’को अवधारणालाई लिएर पनि कतिपय असमझदारी देखिन्छन् । मध्यम वर्ग विस्तार गर्नु भनेको केही सीमित वर्गलाई सुविधा दिनु होइन । यसको मूल ध्येय गरिब, श्रमिक, किसान, भूमिहीन र अवसरबाट वञ्चित समुदायको आर्थिक हैसियत माथि उठाउनु हो । जब नागरिकको आय, सीप, उत्पादकता र अवसरमा पहुँच बढ्छ, तब मात्रै वास्तविक सामाजिक गतिशीलता सम्भव हुन्छ । यो अवधारणा सामाजिक न्यायलाई आर्थिक उन्नयनसँग जोड्ने कडी हो ।

    निरन्तरता र नवीनताको सन्तुलन

    नीति तथा कार्यक्रम वा बजेटका सिद्धान्तहरूमा ‘सबै पुरानै दोहोरियो’ वा ‘यसमा नयाँ केही छैन’भन्ने खालका टिप्पणीहरू पनि आउने गर्छन् । यहाँ बुझ्न पर्ने कुरा के हो भने, राज्य कुनै अस्थायी राजनीतिक संरचना होइन; यो एक अविच्छिन्न उत्तराधिकारी संस्था हो । सरकार परिवर्तन हुँदैमा संविधानका मूल मर्म, राष्ट्रिय योजना, दिगो विकास लक्ष्य वा राष्ट्रिय प्राथमिकताहरू पूर्ण रूपमा बदलिँदैनन् । कृषि, शिक्षा, ऊर्जा, पूर्वाधार, स्वास्थ्य र रोजगारी जस्ता विषय दशकौँ देखि राज्यको प्राथमिकतामा थिए र रहनेछन् ।

    मुख्य प्रश्न विषयको नाम मात्र होइन; दृष्टिकोण, कार्यान्वयनको शैली र अपेक्षित परिणाम हो । हामीले ती क्षेत्रलाई कुन सोचबाट हेर्छौँ, कसरी कार्यान्वयन गर्छौँ र नागरिकले कस्तो परिणाम प्राप्त गर्छन् भन्ने कुराले नै वास्तविक भिन्नता ल्याउँछ । सन् १३७९ मा स्थापित बेलायतको ‘न्यू कलेज’ आज पनि ‘न्यू’ नै रहे जस्तै, संस्थागत निरन्तरता भित्र नवप्रवर्तनको खोजी नै वास्तविक गतिशीलता हो ।

    हाम्रो ६६ खर्ब रुपैयाँ हाराहारीको अर्थतन्त्रमा हामी प्रायः अर्बौँको बजेटको मूल दिशाभन्दा पनि साना र टुक्रे आयोजनाहरूमा अल्झिने गरेका छौँ । ‘लेख्नु ठूलो कुरा होइन, कार्यान्वयन ठूलो कुरा हो’ भन्ने सत्यलाई स्वीकार गर्दै राम्रो कार्यान्वयनका लागि पहिले स्पष्ट सोच र मार्गचित्र चाहिन्छ । यसपटक कार्यान्वयनको खाका लाई विशेष जोड दिँदै ‘मिसन–मोड एक्जिक्युसन’ को अवधारणा अघि सारिएको छ । यो केवल शब्दको परिवर्तन होइन, शासकीय दर्शन र कार्यसम्पादन मोडेलकै स्पष्ट प्रस्थानबिन्दु हो ।

    मुलुकको समृद्धिका लागि प्रस्ताव गरिएका पाँच मार्गदर्शक सिद्धान्तहरू— सुशासनको लाभांश, अर्थतन्त्रको पुनर्संरचना, एकीकृत पूर्वाधार, सामाजिक लगानी, र बहुआयामिक अन्तर्राष्ट्रिय सम्बन्ध नै हाम्रा आगामी प्राथमिकताका आधार हुन् । यी प्राथमिकताले आर्थिक वृद्धि, रोजगारी, सामाजिक न्याय र नागरिकको जीवनस्तरमा गुणात्मक सुधार ल्याउनेछन् ।

    यो रूपान्तरणको यात्रामा प्रतिपक्ष लगायत सबै सरोकारवालाहरू अवरोधक होइन, रचनात्मक सहयात्री बन्नु पर्छ । सरकारले सीमा नाघ्दा सचेत गराउने तर नीतिगत दोहन गर्ने प्रवृत्तिलाई निरुत्साहित गर्ने कार्यमा सबैको साझा मत हुन जरुरी छ । संविधानका निर्देशक सिद्धान्त, राष्ट्रिय आकांक्षा र जनतासँग गरिएका प्रतिबद्धतालाई कार्यान्वयनमा रूपान्तरण गर्न दलगत स्वार्थभन्दा माथि उठेर राष्ट्र निर्माणको बहसलाई परिपक्व र परिणाममुखी बनाउनु नै आजको ऐतिहासिक आवश्यकता हो ।

    –कुराकानीमा आधारित

    प्रतिक्रिया दिनुहोस्
    images
    images