मुमाराम खनाल
राज्यको सेवा प्रवाहप्रति चरम असन्तुष्ट नवयुवाहरूको कार्यक्रममा नृशंस दमन गरेपछि नेपालमा जुन राजनीतिक परिस्थिति पैदा भयो, त्यसबाट सबैभन्दा ठूलो क्षति नेपाली कम्युनिस्ट आन्दोलनले बेहोरेको छ । खासगरी, २०४६ सालको राजनीतिक परिवर्तनपछिका घटनाक्रमबाट नै नेपालका कम्युनिस्ट घटकहरूले सान्दर्भिकता गुमाउन थालेका हुन् । र, कम्युनिस्ट आन्दोलन पूर्ण रूपमा विसर्जन भएको प्रमाणित गर्न यस परिघटनाले महत्वपूर्ण भूमिका निर्वाह ग¥यो ।
कम्युनिस्ट नामधारी दलको नेतृत्वमा रहेको सरकार र प्रमुख प्रतिपक्ष पनि कम्युनिस्ट पार्टी रहेकै बेला उनीहरूको विरोधमा नवयुवाहरू आन्दोलित हुनु र अकल्पनीय परिस्थितिका साथ सत्ताच्युत हुनुले उक्त विसर्जन व्यावहारिक र सैद्धान्तिक दुवै रूपमा पुष्टि भएको छ । वैचारिक आस्थामा आधारित कम्युनिस्टहरूलाई यो कुरा नमीठो लागे पनि नेपाली समाजका लागि भने यो खुसीकै राजनीतिक परिघटना हो । किनभने, २०४६ सालको राजनीतिक परिवर्तनपछि खासमा नेपाललाई कम्युनिस्ट पार्टी चाहिएकै थिएन ।
मौलिक होइन नेकपा
ऐतिहासिक, राजनीतिक र सामाजिक कारणले नेपालमा कम्युनिस्ट पार्टी स्थापना भए पनि यसले नेपालमा मौलिक आन्दोलनको विकास गर्न सकेन । यहाँ कम्युनिस्ट पार्टी स्थापना हुनुमा तात्कालिक सोभियत संघ र चिनियाँ साहित्यले ठूलो भूमिका खेलेको थियो । समाजमा शैक्षिक चेतना जागृत हुँदै गरेको समयमा आइपुगेका चिनियाँ र रसियन कम्युनिस्ट पार्टीको विचार प्रवाह गर्ने साहित्यको प्रभावका आधारमा नेपालमा कम्युनिस्ट पार्टीहरू स्थापना भएका हुन् । रुस र चीनमा त्यहाँको वस्तुगत परिस्थितिका आधारमा प्राङ्गारिक रूपले कम्युनिस्ट आन्दोलनको प्रादुर्भाव भएको थियो ।
सन् १८४८ मा कार्ल माक्र्सले लेखेको ’कम्युनिस्ट मेनिफेस्टो’ को प्रभावका कारण तत्कालीन सोभियत संघ अर्थात् रसियामा कम्युनिस्ट पार्टी बन्यो । सोभियत संघको विघटनपछि चिनियाँ कम्युनिस्ट पार्टी नै विश्व र खासगरी दक्षिण एसियाका लागि मुख्य वैचारिक आधार बन्यो । पूर्व सोभियत संघ र चीनमा उनीहरूको मौलिक विशेषताका आधारमा कम्युनिस्ट पार्टी बनेकाले त्यहाँ उनीहरूले आफ्नै देशकाल र परिस्थितिअनुसार रणनीति बनाए । तर, नेपालमा चाहिँ उनीहरूकै नक्कल र देखासिकीमा कम्युनिस्ट पार्टीहरू बनेका हुन् । त्यसैले यसमा पहिले रसियन कम्युनिस्ट आन्दोलनको सामान्य प्रभाव थियो, पछि उक्त प्रभाव कमजोर हुँदै गयो । त्यसपछि माओत्सेतुङ नेतृत्वको चिनियाँ कम्युनिस्ट पार्टीको प्रभाव प्रबल देखियो । त्यो पछिल्लो कालदेखि वर्तमान समयसम्म पनि हाबी रहिरह्यो ।
राणाशासनको अन्त्यतिर स्थापना भएका र पञ्चायतकालमा जुट र फुटसहित विस्तार भएका नेपाली कम्युनिस्ट पार्टीहरूले सुरुमा आफूलाई राजतन्त्रविरोधी दाबी गरे । निरङ्कुश राजतन्त्र भएका बेला आफूहरूले लोकतन्त्रका लागि सङ्घर्ष गरिरहेको भ्रम छरे । खासमा त्यो सत्य थिएन । उनीहरू राज्यसत्तामा पुगेर त्यसको दोहन गर्ने प्रमुख हिस्सा बन्न चाहन्थे । किनभने, उनीहरूको सोच पनि राजतन्त्र जस्तै अधिनायकवादी नै हो । र, सङ्गठनको संरचना पनि व्यक्तिवादी अधिनायकवादी नै हो, भलै उनीहरूले यसलाई कथित ’सर्वहारा वर्गको अधिनायकत्व’ किन नभनून् । यस्तो सत्तास्वार्थमा व्यक्तिपिच्छे महत्वाकाङ्क्षा प्रकट हुन्थ्यो । त्यसै आधारमा विभाजन भएर टुक्रा–टुक्रा भइरहेका थिए ।
कांग्रेसको बलमा आन्दोलन
नेपाली कांग्रेसले सञ्चालन गरिरहेको
निरङ्कुशताविरोधी आन्दोलनमा मिसिएपछि मात्रै उनीहरू लोकतान्त्रिक आन्दोलनको हिस्सा भएका थिए । त्यसलाई उनीहरूले कम्युनिस्ट आन्दोलनको नाम दिए र कतिपय सन्दर्भमा कांग्रेस नै कम्युनिस्टसँग मिलेको हो कि भन्ने भ्रम पनि पर्यो । खासमा, कम्युनिस्ट पार्टीहरू राजतन्त्रको अन्त्यपछि कम्युनिस्ट अधिनायकवाद चाहन्थे, जो राजतन्त्रभन्दा पनि खतरनाक हो । त्यो नेपालमा लागू हुन सक्दैनथ्यो र सकेन पनि । तर, अधिनायकवादी चिन्तनलाई सङ्गठनमा चाहिँ जोगाइराखे । त्यस्तै, बाहिर चाहिँ राज्यको परिवेशअनुकूल आफूलाई लोकतान्त्रिक हौँ भन्ने भ्रम पनि दिइरहे । त्यसकारण कम्युनिस्ट पार्टीमा लोकतन्त्र सङ्क्रमण हुन सकेन ।
तर, नेपाललाई ‘लेफ्ट टिल्टेड एजेन्डा’ नै नचाहिएको होइन । शिक्षा, स्वास्थ्य, आवास, सार्वजनिक यातायात, सामाजिक सुरक्षालगायत क्षेत्रमा वाम झुकाव भएका एजेन्डा नै नेपाली समाजका लागि उपयुक्त हुन् । नेपालका कम्युनिस्ट पार्टीहरूले भने त्यस्ता एजेन्डामा काम नै गरेनन् । यिनीहरू ‘क्रोनी क्यापिटलिज्म’ को हिस्सा भए । कम्युनिस्ट सिद्धान्त भन्न पनि छोडेनन्, व्यवहारमा चाहिँ नवउदारवादको एउटा हिस्सा बनेर पैसा कमाउनतिर लागे । त्यसैले यो क्रमशः कमजोर हुँदै गएको थियो । जेन–जी आन्दोलनपछि चाहिँ करिब–करिब समाप्त भएर गयो । २१ फागुन २०८२ को चुनावले पनि त्यसलाई पुष्टि ग¥यो । यो समाप्त हुनुपर्ने नै थियो । यसो हुनु नेपालका लागि राम्रो कुरा पनि हो ।
वास्तवमा, नेपालमा वामपन्थी अवधारणा जन्मिनै पाएन । वाम अवधारणालाई प्रचारको आधार बनाए पनि कम्युनिस्ट आन्दोलनको वैचारिक कठोरताले यसलाई अभ्यासमा ल्याउनै दिएन । आधारबाट बरालिए पनि कम्युनिस्ट आन्दोलनले २०४६ सालको परिवर्तनअघि कांग्रेससँग मिलेर पञ्चायतविरोधी आन्दोलनका रूपमा आफूलाई उभ्याउने प्रयत्न भने गरेको थियो, जो सकारात्मक पक्ष थियो ।
आन्दोलनबाट जे–जस्तो प्रकृतिको प्रजातन्त्र आयो, त्यसपछि पनि समावेशिता, राष्ट्र निर्माण, सेवा प्रवाह र राज्यका संस्थाहरूको स्थायित्व जस्ता मुद्दाहरू बाँकी नै थिए । मुलुकको विकासको अवधारणा र अवयवमा कमसेकम वामपन्थी एजेन्डाको सान्दर्भिकता थियो । २०४८ सालबाट नेपालमा निजीकरणको सुरुआत भयो । त्यसमा निश्चित वर्गस्वार्थ थियो । त्यस्तो बेला कम्युनिस्ट पार्टीहरूले सार्वजनिक यातायातमा राज्यको बढी लगानी होस्, शिक्षा र स्वास्थ्यमा सरकारको मनग्य लगानी होस् र त्यसको प्रतिफललाई दिगो बनाइयोस् भन्ने जस्ता मुद्दा उठाउन सक्थे । नेपालको शिक्षामा आधारित जनशक्ति कमजोर बनेको बेला राम्रो नीति बनाउन उनीहरूले भूमिका खेल्न सक्थे । तर, आफूलाई कम्युनिस्ट चाहिँ भन्ने अनि सरकारमा जान जुनसुकै शक्तिसँग मिल्ने चरित्र कम्युनिस्ट पार्टीहरूमा सबैभन्दा बढी हाबी बनेको देखियो ।
सरकारमा गइसकेपछि भने वाम एजेन्डा बिर्सिए र नवउदारवादी अर्थनीति लागू गर्ने भूमिकामै प्रस्तुत भए । निजीकरणको सवालमा पनि उदारवादी अवधारणालाई नै प्रवद्र्धन गरे । वितरण प्रणालीमा पूर्णतः कम्युनिस्ट जस्तो देखिन खोज्ने, सङ्गठनमा अनुदार कम्युनिस्ट बन्ने अनि विकास एवं सरकारी दायित्वको कुरामा नवउदारवादी हुने प्रवृत्ति कम्युनिस्टमा देखियो । सारतः राज्य दोहनमा आफ्नो भूमिका खोज्नेबाहेक कुनै पनि गतिलो काम गर्न उनीहरूले सकेनन् ।
यसरी प्रजातन्त्रको पुनःस्थापनापछि छिट्टै आफ्नो सान्दर्भिकता गुमाउँदै गर्दा २०५१ सालमा कम्युनिस्ट पार्टीले कम्युनिस्ट पार्टीकै विरोध गर्ने परिस्थिति बन्यो । त्यसकै एउटा परिणति थियो– तत्कालीन नेकपा (माओवादी) ले सुरु गरेको हिंसात्मक आन्दोलन । उसले एमालेलाई नक्कली कम्युनिस्ट र आफूलाई असली कम्युनिस्ट हो भन्ने भाष्य सिर्जना गरेर समाजमा आतङ्क मच्चायो । निकै ठूलो सामाजिक विध्वंसपछि अन्त्यमा माओवादीले एमालेको ठाउँ लियो । माओवादीले गरेको आन्दोलन पनि राज्य दोहनकै निम्ति सत्तामा जानका लागि थियो । त्यतिबेला अहिले जस्तो ‘४८ घण्टामै सत्तारोहण गर्न’ सम्भव हुने सामाजिक सञ्जालको बाटो बनिसकेको थिएन । राजनीतिक, सामाजिक र आर्थिक जीवन पनि एकदमै पिछडिएको थियो । त्यसैले उनीहरूले हिंसात्मक बाटो अपनाए । हिंसात्मक सङ्घर्ष गर्नुपर्छ भन्ने साहित्य कम्युनिस्टहरूमा सदैव स्थापित थियो । त्यसकै मनोविज्ञानलाई उपयोग गर्दै समाजको एउटा वर्गलाई लिएर माओवादीले समाजमा आतङ्क मच्चायो । ठूलो सामाजिक विध्वंस मच्चाएर सत्तामा गयो । सत्तामा गएको केही समयपछि नै पतन भएर सकियो पनि ।
कम्युनिस्ट पार्टी, सङ्गठन, नेता र यिनका परिवारले राज्यका लोकतान्त्रिक संस्थाहरू सिध्याउन समय लगाएनन् । त्यसबारे अध्ययन गर्न २०५१ सालपछि एमाले र २०६४ सालपछि माओवादीले गरेका प्रयत्नहरू नै काफी छन् । उनीहरूले राज्यलाई संस्थागत रूपमा विकास हुन नदिन र भएका संस्थाहरू कब्जा गर्न पार्टीका कार्यकर्ता, नातेदार र आसेपासेहरूलाई उपयोग गरे । त्यस्ता संस्थामा एकाधिकार र व्यक्तिगत वर्चस्व कायम गर्न प्रतिस्पर्धा नै भयो । माओवादीमा प्रचण्डको परिवारले नै कब्जा शृङ्खला चलायो । एमालेमा केपी शर्मा ओलीका आसेपासेहरूको वर्चस्व कायम गरियो । त्यही वर्चस्व कायम गर्न उनीहरूले राज्य संयन्त्रलाई निकम्मा बनाए । त्यो राजनीतिक संस्कारकै रूपमा विकास भयो र त्यसको छाया प्रभाव अहिलेको गैरकम्युनिस्ट सरकारमा समेत देखिएकै छ । गृहमन्त्रीको राजीनामा प्रकरण त्यसकै परिणति हो ।
कांग्रेसको कार्यभार
अब नेपाललाई कम्युनिस्ट पार्टी चाहिँदैन । बरु धेरै समय नचाहिएको कम्युनिस्ट पार्टी हाबी रहनु नेपालका लागि अभिशाप बन्यो । कम्युनिस्टहरूले व्यावहारिक रूपमा कहिल्यै नगर्ने तर सैद्धान्तिक रूपमा आफ्नो भनेर दाबी गरिरहने वाम झुकावका एजेन्डाको कार्यभार कांग्रेसले पूरा गर्नुपर्छ । किनकि, कांग्रेस सामाजिक लोकतान्त्रिक पार्टी हो । कांग्रेसमा ‘सेन्टर–लेफ्ट’ र ‘सेन्टर–राइट’ दुवै प्रवृत्तिको सम्मिलन पनि छ, जसले एउटा राजनीतिक सन्तुलनका लागि सकारात्मक भूमिका खेल्न सक्छ । कांग्रेसले समाजवाद पनि भन्छ, तर नेपालमा समाजवादलाई कम्युनिस्टहरूले धेरै बदनाम गरिसकेका छन् । नेपाली कांग्रेसमा गगन थापाको नेतृत्व आइसकेपछि दस्तावेजमा ’सामाजिक न्यायसहितको सामाजिक लोकतन्त्र’ लाई जोड दिइएको छ । यद्यपि, त्यसको विहङ्गम व्याख्या पढ्न पाइएको छैन । कम्युनिस्टले आफ्नो भनेर दाबी गर्ने समाजवादका सबै अभिभाराहरू त्यसअन्तर्गत पूरा गर्न सकिन्छ ।
कम्युनिस्ट विचारमा आस्थावान् साथीहरूलाई चाहिँ ‘वाम एजेन्डा’ पूरा गर्न बाँकी नै भएकाले भएकामध्ये कुनै कम्युनिस्ट पार्टी नै सुध्रिएर वा नयाँ कम्युनिस्ट पार्टी बनेर आउनुपर्छ भन्ने पनि लाग्न सक्छ । तर, नेपालमा त्यो सम्भव छैन भन्ने प्रमाणित नै भइसक्यो । एमालेले त्यो कोसिस गरेको हो । एमालेमा एउटा मध्यमार्गी समूह थियो । जसले ओलीको सर्वसत्तावादको पनि विरोध गथ्र्यो र माधव नेपालको अकर्मण्यतावादको पनि विरोध गथ्र्यो । नेपालका अनेकन् समस्या तथा विकासका योजनालाई वामपन्थी आँखाबाट हेरेर हल गर्नुपर्छ भन्ने विचार राख्थ्यो । तर, त्यो सुसंगठित बन्न सकेन, एउटा विचारधारात्मक र सङ्गठनात्मक शक्ति बन्नै सकेन । त्यसले अलिक लामो समयसम्म माझिन पाएको र शक्ति आर्जन गर्ने ठाउँमा जान पाएको भए चाहिँ वाम झुकावसहितका एजेन्डाहरूलाई अगाडि लिएर जाने शक्ति नेकपा (एमाले) बन्न सक्थ्यो । तर, केपी ओली नेतृत्वमा आएपछि त्यसलाई छिन्नभिन्न पारिदिए । उनले पार्टीलाई सम्पूर्ण रूपमा भत्काए र व्यक्तिवाद अगाडि सारे । त्यसैले त्यो झिनो सम्भावनाको पनि अन्त्य भयो ।
रास्वपाको बाटो
अहिले विश्वभरि नै निर्वाचित तानाशाहहरू आउने प्रवृत्ति देखिएको छ । नेपालमा पनि यसअघि ओली, प्रचण्ड वा शेरबहादुर देउवाको नेतृत्व करिब–करिब राजतन्त्रकै नयाँ संस्करण थियो । अहिले आएका वालेन्द्र शाह पनि करिब त्यस्तै देखिएका छन् । उनी पनि प्रश्नबाट भाग्छन् । उत्तरदायी र पारदर्शी देखिँदैनन् । उनी कसरी काम गरिरहेका छन् भन्ने कुरा धेरै मान्छेलाई थाहा छैन । उनले बोलेका कुरा सुनाइँदैन, भिडिओमा ‘ब्याकग्राउन्ड म्युजिक’ दिइन्छ । अहिले पनि यस्ता खालका ‘नाटक’ मञ्चन भइरहेकै छन् । ओलीले पनि यस्तै नाटक धेरै गरेका हुन् । उनी बढी बोल्थे, वालेन्द्र बोल्दैनन् । त्यति मात्रै फरक छ ।
हामीलाई अहिले ‘डेलिभरी’ मात्र चाहिएको होइन, लोकतन्त्रसहितको ‘डेलिभरी’ चाहिएको हो । हामीलाई चीनमा जस्तो विकास पनि चाहिएको हो र नेपालमा जस्तै लोकतन्त्र पनि चाहिएको हो । विकास र लोकतन्त्र परिपूरक हुने व्यवस्था नै हाम्रा लागि उपयुक्त हो । हामीलाई वाक्–स्वतन्त्रता, प्रेस स्वतन्त्रता र मानवअधिकारको प्रत्याभूतिसहितको डेलिभरी चाहिएको हो । त्यसका लागि मुख्य बाधा कम्युनिस्ट पार्टीहरू थिए । तिनको अवसानसँगै नयाँ आशा पैदा भएको छ । तर, अहिलेको सरकारमा पनि त्यस सन्दर्भमा धेरै स्पष्टता देखिँदैन । भर्खरै आएको शक्ति हुनाले केही समय हेरेर मात्रै निष्कर्षमा पुग्नु उपयुक्त हुन्छ ।
अझ भन्ने हो भने अहिले सरकारमा आएको शक्ति राजनीतिक शक्ति बनिसकेको छैन । यो न त राजनीतिक आन्दोलनबाट आएको शक्ति हो न सामाजिक आन्दोलनबाट । त्यसैले यसलाई राजनीतिक शक्ति बन्न लामो समय लाग्छ । यसरी अकस्मात् सबै शक्ति राजनीतिक शक्ति बन्छन् नै भन्ने पनि हुँदैन । १० वर्षसम्म हिंसात्मक राजनीतिक आन्दोलनबाट आएको माओवादी जस्तो शक्ति त राजनीतिक शक्ति बन्न सकेन । उसले एउटा आन्दोलनको नेतृत्व ग¥यो, आफूलाई राजनीतिक शक्तिमा रूपान्तरण गर्न पर्याप्त समय पनि पायो । तर, जब सरकारमा पुग्यो, राज्य दोहनमा यसरी लिप्त भयो कि ’राज्यसत्ताबाहेक सबै भ्रम हो’ भन्ने शास्त्रीय कम्युनिस्ट मान्यताको विकृत अभ्यास गरिरह्यो । नेपालमा बिग्रे–भत्केकै भए पनि औपचारिक रूपमा लोकतान्त्रिक संस्थाहरू छन्, तिनले ‘चेक एन्ड ब्यालेन्स’ गरिरहँदा समेत कम्युनिस्टहरू त्यस्ता संस्थाहरूलाई नै निकम्मा बनाउने प्रयत्न गरिरहे । अझ पार्टीले नै राज्यसत्ता चलाउन पाएको भए कस्तो बनाउँथे होला! यस्तै हर्कतले माओवादी पार्टी राजनीतिक शक्ति बन्न सकेन ।
अहिले राष्ट्रिय स्वतन्त्र पार्टी एउटा बिजुली गतिको राजनीतिक घटनाक्रमको बलमा झन्डै दुई–तिहाइसहितको बलियो बहुमत पाएर सरकारमा पुगेको छ । अहिलेको चालढाल हेर्दा यो पनि फरक तरिकाले राज्यका स्रोतमा आफ्नो कब्जा जमाउनेतिर लागेको देखिन्छ । अब अहिले नै बिग्रिसक्यो भन्न त सकिन्न, किनकि ज्यादै धेरै बिग्रिसकेको ठाउँमा थप बिग्रिँदा हामीलाई थाहा पनि हुन्न । त्यसैले यसले बिगार्छ कि सपार्छ भन्ने हेर्नै बाँकी छ । त्यसै आधारमा राजनीतिक शक्ति बन्छ कि बन्दैन भन्ने निर्धारण हुन्छ ।
यसका लागि समय लाग्छ । तर, यो शक्तिमा रूपान्तरणको सम्भावना पनि छ । यसले कुनै दर्शनको भार बोकेको छैन, सुशासनको कुरा गरिरहेको छ । हाम्रो राज्यको लोकतान्त्रिक प्रणालीप्रति अविश्वास गरेको पनि छैन । त्यसैले यसमा रूपान्तरणको गुन्जायस छ र भोलि राजनीतिक शक्तिका रूपमा विकास पनि हुन सक्छ । कम्युनिस्टहरूको चाहिँ प्रणालीप्रति नै अविश्वास हो । त्यसैले अब उनीहरूमा चाहिँ रूपान्तरणको गुन्जायस छैन । त्यसैले राजनीतिक शक्तिका रूपमा पुरानो अनुभव र नयाँ नेतृत्वसहित आएको नेपाली कांग्रेसले जिम्मेवार भूमिका निर्वाह गर्नु नेपालको आजको आवश्यकता बनेको छ ।






















