images
images
  • ‘श्रम क्रान्ति’को जनअनुमोदन

    कृष्ण खतिवडा

    नेपाली राजनीतिको इतिहासमा केही यस्ता मोडहरू आउँछन्, जसले स्थापित परिभाषा र शक्ति सन्तुलनलाई पूर्ण रूपमा बदलिदिन्छन् । धरानको सडकमा ढुङ्गा बोक्दै, खानेपानीको मुहान सफा गर्दै र ‘पानी दे, पानी दे’ भन्दै संघर्षको राँको बालेका हर्कराज साम्पाङ राईको यात्रा अब देशको सर्वोच्च नीति निर्माण तह, संघीय संसद्मा पुगेको छ । प्रतिनिधिसभा सदस्य निर्वाचनमा सुनसरी निर्वाचन क्षेत्र नं १ बाट ३५ हजार ७४१ मतका साथ सानदार विजय हासिल गर्दै साम्पाङले आफ्नो राजनीतिक उचाइलाई स्थानीय नेतृत्वबाट राष्ट्रिय मञ्चमा स्थापित गरेका छन् ।

    अभियानको गर्भबाट जन्मिएका नेता

    हर्क साम्पाङको राजनीतिक उदय कुनै पार्टीको फेरो समातेर वा विरासतबाट भएको होइन । उनको उदय धरानको तिर्खा र बेथितिको गर्भबाट भएको हो । २०६८ सालतिर धरानमा भएको अस्वाभाविक कर वृद्धिका विरुद्ध सडकमा ओर्लँदा उनी एक सामान्य नागरिक थिए । जनसरोकार मञ्चमार्फत उनले उठाएका मुद्दाहरू भ्रष्टाचार, अव्यवस्थित खानेपानी, स्वास्थ्य सेवामा सुधार र सीमा अतिक्रमणले उनलाई आम सर्वसाधारणको अत्यन्तै नजिक पु¥यायो ।

    धरानको तिर्खा मेट्न उनले गरेको सङ्घर्ष कतिसम्म कठोर थियो भने, मुहान अनुगमनका क्रममा पाइप तोडफोडको आरोपमा उनी पक्राउ समेत परे । तर, ती हतकडीहरूले उनको जोसलाई कम होइन, झन् बलियो बनायो । अवैध ढुङ्गा–गिट्टी उत्खनन रोक्न खोलामै सुत्न जानेदेखि मदन भण्डारी राजमार्ग विस्तारका क्रममा हुने अन्यायविरुद्ध लड्नेसम्मका कामले उनलाई ‘धरानको पहरेदार’ को छवि दियो । उनले राजनीतिलाई पेशा होइन, एउटा निरन्तरको अभियानका रूपमा बुझे र बुझाए ।

    मेयरबाट ‘श्रमपिता’ सम्मको रुपान्तरण

    २०७९ को स्थानीय निर्वाचनमा ‘लौरो’ चुनाव चिन्ह लिएर स्वतन्त्र रूपमा मेयर जित्नु उनको ‘टर्निङ प्वाइन्ट’ थियो । तर वास्तविक परीक्षा भने त्यसपछि सुरु भयो । पदभार ग्रहण गरेपछि उनले सरकारी गाडी, महँगा औपचारिकता र प्रशासनिक तामझामलाई पूर्णतः त्यागे । उनले आफ्नो कार्यालय एसी जडान गरिएको कोठालाई होइन, धरानका पहाडी खोल्सा र सडकलाई बनाए ।

    कोकाहा खोलाको पानी धरान ल्याउने उनको अभियानले देशभरि नै एउटा नयाँ तरङ्ग पैदा ग¥योे । उनी आफैँले ढुङ्गा बोकेको, नाली सफा गरेको र गिट्टी कुटेको दृश्य सामाजिक सञ्जालमा भाइरल मात्र भएन, त्यसले नागरिकहरूलाई ‘हाम्रो सहर हामी आफैँ बनाउँछौँ’ भन्ने आत्मविश्वास पनि दियो । गितार बोकेर राजनीतिक व्यङ्ग्य गर्ने र “हर्क साम्पाङ रिभोलुसन” मार्फत जनतासँग प्रत्यक्ष संवाद गर्ने उनको शैलीले परम्परागत नेताहरूको ‘भाषण’ लाई ‘काम’ ले विस्थापित गरिदियो ।

    ‘श्रम संस्कृति पार्टी’ को उदय र राष्ट्रिय चुनौती

    नगर प्रमुखकै जिम्मेवारीमा रहँदा साम्पाङले आफ्नो अभियानलाई धरानमा मात्र सीमित राख्न नसकिने महसुस गरे । उनले महसुस गरे कि जबसम्म नीति निर्माणको केन्द्र (संसद्) मा श्रमको सम्मान हुँदैन, तबसम्म स्थानीय स्तरका साना प्रयासले मात्र देश बदलिँदैन ।

    गत असोज १२ गते उनले निर्वाचन आयोगमा ‘श्रम संस्कृति पार्टी’ दर्ताका लागि निवेदन दिए । कात्तिक १६ गते ‘माटो’ चुनाव चिन्ह लिएर आधिकारिक रूपमा दर्ता भएको यो दलले छोटो समयमै जनताको मन जित्न सफल भयो । माघ ४ गते मेयर पदबाट राजीनामा दिँदै गर्दा धेरैले यसलाई ‘राजनीतिक जोखिम’ भनेका थिए, तर साम्पाङका लागि यो ‘राष्ट्रिय दायित्व’ थियो । उनले स्पष्ट पारेका थिए— ‘मलाई पदको लोभ छैन, मलाई त श्रमलाई पूजा गर्ने संस्कृतिको विकास गर्नुछ ।’

    निर्वाचनको नतिजाः पाँचौँ ठूलो
    शक्तिको उदय

    प्रतिनिधिसभा निर्वाचनको नतिजाले सबै राजनीतिक विश्लेषकहरूको अनुमानलाई फेल खुवाइदिएको छ । देशभरका १६५ निर्वाचन क्षेत्रमध्ये १०९ क्षेत्रमा उम्मेदवार उठाएको यस पार्टीले विशेषगरी कोशी प्रदेशमा ठूला दलहरूको किल्ला ध्वस्त पारिदिएको छ ।

    प्रत्यक्षतर्फ ३ सिट जितेको पार्टीले समानुपातिकतर्फ समेत ३ लाख ८५ हजार ७४८ मत (३.५८%) प्राप्त गर्दै राष्ट्रिय दल को मान्यता पाएको छ । यो मत संख्याले श्रम संस्कृति पार्टीलाई संसदमा कुल ७ सिट (३ प्रत्यक्ष र ४ समानुपातिक) सहित पाँचौँ ठूलो दल बनाएको छ ।

    पूर्वी पहाडमा ‘हर्क प्रभाव’ र ठूला दलको पराजय

    हर्क साम्पाङको लोकप्रियता केवल धरान वा तराईमा मात्र सीमित रहेन । पूर्वी पहाडी जिल्लाहरू धनकुटा, तेह्रथुम, संखुवासभा, इलाम, पाँचथर र ताप्लेजुङमा उनले आफ्नो संगठनलाई यसरी फैलाए कि अन्य ठूला दलका कार्यकर्ता समेत उनलाई सुन्न र हेर्न हजारौँको संख्यामा ओइरिए ।

    हर्कको पार्टीले पूर्वी पहाडमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को विस्तारलाई मात्र रोकेन, नेकपा एमाले र माओवादी केन्द्र (हालः नेकपा)को ‘लालकिल्ला’ मानिने क्षेत्रहरूमा समेत भारी मत प्राप्त ग¥यो । भोजपुरमा ध्रुवराज राईले पूर्व मुख्यमन्त्री शेरधन राईलाई पराजित गर्नु र खोटाङमा युवा उम्मेदवार आरेन राईले जित्नु यसको ज्वलन्त उदाहरण हो ।

    साम्पाङको ‘जेन–जी’ कनेक्ट र सामाजिक सञ्जाल

    भदौ २३–२४ को ‘जेन–जी आन्दोलन’ पछि युवा पुस्तामा हर्क साम्पाङप्रति एउटा छुट्टै भरोसा पलाएको थियो । काठमाडौँको सत्ता राजनीति र मेयर बालेन साहसँगको रोचक द्वन्द्वले पनि उनलाई चर्चाको केन्द्रमा राखिरह्यो । सामाजिक सञ्जाललाई हतियार बनाएर भ्रष्टाचारविरुद्ध आवाज उठाउने उनको शैलीले ती मतदाताहरूलाई आकर्षित गर्यो्, जो पुराना दलहरूको कार्यशैलीबाट आजित भइसकेका थिए ।

    सडक र खोलाका मुहानबाट संसद् भवन छिर्दै गर्दा हर्क साम्पाङका अगाडि चुनौतीका पहाडहरू छन् । धरानको खानेपानी समस्या समाधानका लागि पाइप बोकेर हिँड्ने हर्क साम्पाङ अब देशको भाग्य र भविष्य कोर्ने ‘पाइपलाइन’ अर्थात् व्यवस्थापिकामा पुगेका छन् । उनको यो ‘सानदार प्रवेश’ नेपाली लोकतन्त्रको सुन्दर पक्ष हो, जहाँ एक सामान्य नागरिक आफ्नो कर्म र निरन्तरको संघर्षले देशको नेतृत्व तहमा पुग्न सक्छ ।

    कोकाहाको पानी धरान पु¥याए जस्तै, साम्पाङले नेपाली राजनीतिको धमिलो पानीलाई पनि श्रम र इमानदारिताको फिल्टरले सफा गर्छन् कि गर्दैनन् ? यो हेर्न भने बाँकी नै छ । तर, आजको दिनमा उनको यो विजयले यति पक्का गरिदिएको छ कि नेपालमा अब ‘श्रम’ गर्नेको दिन आएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images