images
images
  • कांग्रेसमा पुस्तान्तरण : गगनको उदय

    नरेश राना

    नेपाली कांग्रेसको इतिहासमा वि.सं. २०८२ एक यस्तो मोड बनेर आएको छ, जसले परम्परागत राजनीतिको पर्खाल भत्काउँदै नयाँ पुस्तालाई नेतृत्वको केन्द्रमा स्थापित गरिदिएको छ । ‘म डराएर भाग्ने काँतर होइन’ भन्दै सडकबाट राजतन्त्रलाई ललकार्ने गगन थापा आज मुलुकको सबैभन्दा पुरानो लोकतान्त्रिक पार्टीको सभापति बनेका छन् । निर्वाचन आयोगले गगन थापा नेतृत्वको ‘विशेष महाधिवेशन’ लाई आधिकारिकता दिएसँगै नेपाली कांग्रेसमा शेरबहादुर देउवाको लामो विरासतमा पूर्णविराम लागेको छ भने ‘नवीन कांग्रेस’ को नयाँ अध्याय सुरु भएको छ ।

    कांग्रेसको राजनीतिमा गगन थापाको उदय आकस्मिक घटना होइन, यो दशकौँदेखिको संघर्ष र पार्टीभित्रको आन्तरिक लोकतन्त्रका लागि गरिएको विद्रोहको परिणाम हो । वृद्ध नेतृत्वले नियमित महाधिवेशन टार्ने र पार्टीलाई विधानसम्मत नचलाउने प्रवृत्ति देखाएपछि युवा नेताहरू गगन थापा र विश्वप्रकाश शर्माले जोखिमपूर्ण कदम चालेका थिए ।

    पार्टी विधानको धारा १७ (२) ले व्यवस्था गरेको ‘४० प्रतिशत महाधिवेशन प्रतिनिधिको हस्ताक्षर’ को अस्त्र प्रयोग गर्दै उनीहरूले विशेष महाधिवेशनको आह्वान गरे । यसलाई सफल बनाउन भदौ २३ र २४ को ‘जेन–जी’ आन्दोलनले उत्प्रेरकको काम ग¥यो । नयाँ पुस्ताले सडकबाट ‘नो नट अगेन’ र ‘पुस्तान्तरण’ को जुन हुंकार ग¥यो, त्यसैको दबाबमा पार्टीभित्रका युवा प्रतिनिधिहरू एकढिक्का भए । देउवा पक्षको कडा अवरोध र ‘दरबारिया एजेन्ट’ जस्ता गम्भीर आक्षेपका बाबजुद गगनले आफ्नो अडान त्यागेनन् । अन्ततः विशेष महाधिवेशनले उनलाई निर्विरोध सभापति चयन ग¥यो ।

    कांग्रेसको आधिकारिकताका लागि भएको यो लडाइँ निकै रोचक रह्यो । एकातिर संस्थापन पक्ष (देउवा) ले विशेष महाधिवेशनलाई अवैध भन्दै आयोग पुग्यो भने अर्कोतिर गगन पक्षले विधानको धारा र बहुमतको प्रमाण पेस ग¥यो । निर्वाचन आयोगले राजनीतिक दलसम्बन्धी ऐनको दफा ५१ र कांग्रेसको आफ्नै विधानलाई मुख्य आधार बनायो ।

    आयोगले “पार्टीको महाधिवेशन नै सर्वोच्च निकाय हो र ४० प्रतिशत प्रतिनिधिको मागलाई इन्कार गर्न मिल्दैन” भन्ने तर्क गर्दै गगन पक्षको कार्यसमितिलाई अद्यावधिक गर्ने निर्णय ग¥यो । यस निर्णयले नेपालको दलगत राजनीतिमा एउटा बलियो नजिर स्थापित गरेको छ— यदि नेतृत्वले विधान मिच्छ भने कार्यकर्ता र प्रतिनिधिले त्यसलाई सच्याउन सक्छन् ।

    देउवाको बहिर्गमनः इतिहासको पुनरावृत्ति यो घटनाक्रमले शेरबहादुर देउवाको राजनीतिक जीवनमा एउटा दुखद संयोग थपिदिएको छ । २०५९ सालमा गिरिजाप्रसाद कोइरालाको विरुद्ध विद्रोह गरेर पार्टी फुटाएका देउवा २३ वर्षपछि आफैँ आफ्नै कार्यकर्ताको विद्रोहको सिकार भएका छन् । आयोगको निर्णयपछि उनी ‘मूल कांग्रेस’ बाट अलगभएका छन् ।

    सारथिहरूको भूमिका र सामूहिक नेतृत्व गगन थापाको यो सफलतामा उनी एक्ला पात्र मात्र होइनन् । विश्वप्रकाश शर्मा, प्रदीप पौडेल र पुष्पा भुसालजस्ता नेताहरूको अडिग साथले यो सम्भव भएको हो । विशेष गरी विश्वप्रकाश शर्माले ‘बदलिँदो कांग्रेस’ को एजेन्डालाई जुन बौद्धिक र संयमित ढंगले अघि बढाए, त्यसले मध्यममार्गी कार्यकर्तालाई गगनको पक्षमा उभिन मद्दत ग¥यो । प्रदीप पौडेलको रणनीतिक कौशल र युवा विद्यार्थीहरूको साथले सडक र पार्टी संरचना दुवै ठाउँमा दबाब सिर्जना ग¥यो । थापाको अपिल र ‘रिफर्म’ को मार्गचित्र सभापति चुनिए लगत्तै गगन थापाले परिपक्व राजनीतिक चरित्र प्रदर्शन गरेका छन् । उनले आफ्नो विजयलाई ‘अहंकार’ को रूपमा नभई ‘जिम्मेवारी’ को रूपमा व्याख्या गरेका छन् । उनले भनेका छन्, “यो जित वा हारको विषय होइन, यो त विधिलाई ट्रयाकमा ल्याउने प्रयास हो ।”

    उनले आगामी वैशाखमा पार्टीको नियमित महाधिवेशन गर्ने स्पष्ट पारेर आफू पदको भोको नभएको सन्देश दिएका छन् । उनको मुख्य एजेन्डा अब ‘पार्टी रिफर्म’ (सुधार) नै हो । कांग्रेसले अघि सारेको उदारवादी अर्थतन्त्रलाई समयसापेक्ष परिमार्जन गर्ने, पार्टीमा योगदानको आधारमा मूल्यांकन गर्ने र ‘टिकट वितरण’ प्रणालीलाई पारदर्शी बनाउने उनको योजना छ ।

    नेपाली कांग्रेसमा भएको यो परिवर्तनले केवल एउटा पार्टीको नेतृत्व मात्र बदलेको छैन, यसले नेपालको समग्र राजनीतिलाई नै नयाँ दिशा दिएको छ । अब अन्य राजनीतिक दलहरू— एमाले, माओवादी वा रास्वपा— माथि पनि पुस्तान्तरणको ठूलो नैतिक दबाब सिर्जना भएको छ ।

    गगन थापाको उदयलाई ‘खरानीबाट उठ्ने प्रयत्न’ का रूपमा हेर्न सकिन्छ । ध्वस्त भएको संगठनलाई पुनर्जीवन दिनु र जनतामा हराएको भरोसा फिर्ता ल्याउनु उनको मुख्य कार्यभार हुनेछ । देउवा युगको अन्त्य र थापा युगको सुरुवातले कांग्रेसलाई अब कस्तो ‘रङ’ दिन्छ, त्यो त आगामी निर्वाचन र उनले गर्ने नीतिगत निर्णयले नै तय गर्नेछ । तर, एउटा कुरा निश्चित छ— नेपाली कांग्रेस अब पुरानो ढर्रामा चल्ने छैन । ‘रिफर्म’ को यात्रा सुरु भइसकेको छ ।

    बदलिएन एमाले, दम्भ र अहंकारले निम्त्याएको ऐतिहासिक पराजय

    जेनजी आन्दोलनको रापतापपछि मुलुकको राजनीतिले नयाँ मोड लियो । नेपाली कांग्रेस जस्तो पुरातनवादी दलले समेत विशेष महाधिवेशनमार्फत नेतृत्वमा पुस्तान्तरणको सङ्केत दियो । तर, मुलुकको अर्को ठूलो शक्ति नेकपा एमाले भने कति पनि बदलिएन । एमालेको यही जडता, अध्यक्ष केपी शर्मा ओलीको अटुट दम्भ र परिवर्तनलाई आत्मसात् गर्न नसक्ने प्रवृत्ति नै निर्वाचनमा उसको लज्जास्पद हारको मुख्य कडी बन्यो ।

    एमालेको इतिहासमै यतिबेला सबैभन्दा कमजोर र रक्षात्मक अवस्थामा पुग्नुको प्रमुख कारकतत्व अध्यक्ष ओली नै हुन् । पार्टीभित्र ‘एकमाना शैली’ र फरक मतलाई निषेध गर्ने उनको स्वभावले एमालेलाई एउटा जीवन्त राजनीतिक दलभन्दा पनि व्यक्तिकेन्द्रित गुटमा परिणत ग¥यो । जेनजी आन्दोलनपछि देशभर नेतृत्व परिवर्तनको हुटहुटी चल्दा एमालेले पनि विशेष महाधिवेशन त ग¥यो, तर त्यो केवल ओलीको नेतृत्वलाई पुनः अनुमोदन गर्ने एउटा कर्मकाण्ड मात्र बन्यो । ओलीले आफू अझै उत्तिकै लोकप्रिय रहेको भ्रम पाले र पार्टीभित्र कुनै पनि नयाँ अनुहार वा विचारलाई स्पेस दिएनन् ।

    जेनजी आन्दोलनका क्रममा सडकमा युवाहरूको रगत बग्दा प्रधानमन्त्रीको कुर्सीमा रहेका ओलीले पर्याप्त संवेदनशीलता देखाउन सकेनन् । राज्यको तर्फबाट भएको दमन र युवाहरूको मृत्युप्रति सहानुभूति प्रकट गर्नुको सट्टा उनी ‘आक्रामक तेवर’ मा प्रस्तुत भए । यसले गर्दा विशेष गरी महिला र युवा मतदातामा एमालेप्रति चरम वितृष्णा पैदा भयो । ओलीको तुच्छ र कटाक्षपूर्ण अभिव्यक्तिका कारण एमाले समर्थकहरू समाजमा शिर निहुँराएर हिँड्नुपर्ने अवस्था आयो । निर्वाचनका क्रममा एमालेका उम्मेदवारहरूले आफ्नो प्रचार सामग्रीमा ओलीको तस्बिर राख्न डराउनु नै एमालेभित्र आएको पहिरोको ज्वलन्त नमुना थियो ।

    निर्वाचनको परिणामले एमालेको लामो राजनीतिक विरासतलाई भत्काएको छ । ‘बालेन’ र ‘रवि’ को लहरले एमालेका गढहरू बालुवाको महलझैँ ढलेका छन् । ओलीले बालेन शाह र नयाँ पुस्तालाई होच्याएर दिएका अभिव्यक्तिले उल्टै उनकै निर्वाचन क्षेत्र झापा ५ मा उनलाई पराजयको मुखमा पु¥यायो । एमाले अहिले ‘राष्ट्रिय पार्टी’ को हैसियत जोगाउन सङ्घर्ष गर्नुपर्ने अवस्थामा पुग्नु आफैँमा एउटा ठूलो राजनीतिक पराकम्प हो ।

    लोकतान्त्रिक पद्धतिमा यति ठूलो पराजय व्यहोरेपछि नेतृत्वले नैतिकताको आधारमा राजीनामा दिनुपर्ने हो । तर, एमाले नेतृत्वमा त्यो संस्कार देखिएको छैन । चुनावी नतिजालाई ‘हाहाहुहुको परिणाम’ भन्दै पन्छाउने र आफ्नो गल्ती स्वीकार नगर्ने ओलीको प्रवृत्तिले एमाले अझै केही समय अन्धकारमै रहने सङ्केत गर्छ ।

    एमाले बदलिएको समयसँगै हिँड्न नसक्दाको परिणाम हो यो हार । जनताले ‘विकास’ का नाममा केवल सडक र बिजुली मात्र खोजेका थिएनन्, उनीहरूले नेतृत्वमा शालीनता, युवाप्रतिको भरोसा र भविष्यको सुनिश्चितता खोजेका थिए । एमालेले आफूलाई समयसापेक्ष रूपान्तरण नगर्ने हो भने यो ऐतिहासिक हार एमालेको अन्त्यको सुरुवातसमेत बन्न सक्छ । अब एमाले कार्यकर्ताले नेतृत्वलाई प्रश्न गर्ने कि दम्भको भारी बोकेरै बस्ने ? निर्णय गर्ने बेला आएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images