नेपालको संसदीय इतिहासमा २०८२ को आम निर्वाचन एउटा आवधिक निर्वाचन मात्र रहेन, यो दशकौँदेखि गुम्सिएको नागरिक आक्रोशको विष्फोट र शान्तिपूर्ण ‘ब्यालेट क्रान्ति’ का रूपमा दर्ता भएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्राप्त गरेको दुई–तिहाइको अभूतपूर्व जनमत र ३५ वर्षीय इन्जिनियर वालेन्द्र शाह (बालेन) को प्रधानमन्त्रीत्वमा हुने उदयले नेपाली राजनीतिमा एउटा बलियो सन्देश दिएको छ— ‘नागरिक अब रैती होइन, निर्णायक हुन् ।’
यो जित रास्वपाको राजनीतिक दर्शनको विजयभन्दा पनि परम्परागत दलहरू—नेपाली कांग्रेस, नेकपा (एमाले) र नेपाली कम्युनिष्ट पार्टी (नेकपा)प्रतिको सामूहिक दण्ड हो । वर्षौंसम्म ‘छोटे राजा’ शैलीमा शासन चलाएका, केन्द्रदेखि स्थानीय तहसम्म कार्यकर्ता पोस्ने संयन्त्र बनाएका र ‘सेटिङ’ को राजनीतिलाई संस्कार बनाएका दलहरूका लागि यो नतिजा अस्तित्व रक्षाको चेतावनी पनि हो । २०७९ को निर्वाचनले दिएको सानो संकेतलाई नजरअन्दाज गर्दै सुधारको सट्टा ‘सक्किने बाटो’ रोज्दा आज पुराना शक्तिहरू किनाराकृत भएका छन् ।
रास्वपाको यो अभूतपूर्व जितका पछाडि मुख्य रूपमा पाँचवटा आधारभूत कारणहरू देखिन्छन् । पहिलो, परिवर्तनको उत्कट आकांक्षा । नागरिकहरू सार्वजनिक संस्थाहरूको निकम्मापन, झन्झटिलो सेवा प्रवाह र उद्यमशीलतामा हुने बिचौलियाको बिगबिगीबाट यसरी आजित थिए कि उनीहरूले यो संरचनालाई पूर्ण रूपमा बदल्न चाहन्थे । दोस्रो, दलीय निरंकुशता विरुद्धको विद्रोह । पार्टीभित्र हिटलर शैलीको नेतृत्व र फरक मतलाई निषेध गर्ने प्रवृत्तिका कारण आम कार्यकर्ता र नागरिक दुवैले विकल्प खोजेका थिए ।
तेस्रो र सबैभन्दा पेचिलो मुद्दा भ्रष्टाचार बन्यो । भुटानी शरणार्थीदेखि गिरिबन्धु टी–इस्टेटसम्मका काण्डहरूमा ठूला दलको मौनता र ढाकछोपले नागरिकमा जुन आक्रोश पैदा गरेको थियो, त्यसको बदला उनीहरूले मतपेटिकामार्फत लिएका छन् । चौथो, ‘बालेन फ्याक्टर’ । काठमाडौं महानगरमा बालेनले देखाएको कार्यक्षमताले देशभर एउटा ‘भाष्य’ निर्माण ग¥यो— ‘काम गर्ने युवालाई शक्ति दियो भने परिवर्तन सम्भव छ ।’ नागरिकले रास्वपाको उम्मेदवार को हो भन्दा पनि बालेनलाई प्रधानमन्त्री बनाउने उद्देश्यले घण्टी चिह्नमा छाप लगाए । र पाँचौँ, प्रवासी नेपालीको प्रभाव । रेमिट्यान्स पठाउने हातहरूले यो पटक आफ्ना परिवारलाई परिवर्तनका लागि मतदान गर्न ‘इमोसनल’ दबाब मात्र दिएनन्, रास्वपाको नागरिकता सम्बन्धी स्पष्ट नीतिले उनीहरूलाई थप आकर्षित ग¥यो ।
दुई–तिहाइको यो भारी जनमतले जति ठूलो आशा जगाएको छ, त्यति नै ठूलो चुनौती पनि खडा गरेको छ । ३५ वर्षीय प्रधानमन्त्री वालेन्द्र शाह र रास्वपाका लागि यो जनमत केवल शासन गर्ने अधिकार होइन, बरु नागरिकको गुमेको भरोसा पुनस्र्थापित गर्ने अन्तिम अवसर हो । अब सिंहदरबारको रोग स्थानीय तहसम्म पुग्ने होइन, बरु स्थानीय तहको जाँगर सिंहदरबारसम्म पुग्नुपर्छ ।
यो निर्वाचनले प्रमाणित गरिदिएको छ कि नेपाली नागरिकले अब ‘इतिहास’ को ब्याज खाएर बस्ने दलहरूलाई होइन, ‘भविष्य’ को स्पष्ट मार्गचित्र कोर्ने नेतृत्वलाई पत्याउनेछन् । पुरानो पुस्ताले युवा पुस्ताको गति समात्न नसक्दाको परिणाम नै आजको शक्ति हस्तान्तरण हो । यो ‘जेन–जी’ र सचेत मतदाताको जित हो । परिवर्तनलाई संस्थागत गर्दै सुशासन र समृद्धिको यात्रा तय गर्नु नै अबको सरकारको पहिलो र अनिवार्य शर्त हुनुपर्छ ।
–संजीब कुमार दाहाल
अध्यक्ष






















