images
images
  • पात्र फेरिए, प्रवृत्ति पुरानै : छानबिनको ‘सुनपानी’पछि गुरुङको गृहमा पुनरागमन

    काठमाडौं– डेढ महिनाअघि सम्पत्ति विवरण र विवादास्पद व्यापारिक सम्बन्धबारे प्रश्न उठेपछि गृहमन्त्री पदबाट राजीनामा दिएका सुधन गुरुङ पुनः गृह मन्त्रालयको नेतृत्वमा फर्किएका छन् ।

    सरकारले गठन गरेको छानबिन समितिले उनलाई ‘क्लिनचिट’ दिएपछि शीतलनिवासमा उनले पुनः पद तथा गोपनीयताको शपथ लिएका हुन् ।

    तर समितिको प्रतिवेदन सार्वजनिक नगरिएकै अवस्थामा गरिएको पुनर्बहालीले सुशासन र पारदर्शितामाथि गम्भीर प्रश्न उठाएको छ ।

    गुरुङमाथि सम्पत्ति विवरण लुकाएको, जग्गा कारोबारमा राजस्व छलेको तथा केही विवादित व्यवसायीसँग आर्थिक सम्बन्ध रहेको आरोप लागेको थियो ।

    त्यसपछि उनले वैशाख २१ गते राजीनामा दिएका थिए ।

    पूर्वन्यायाधीश अच्युतरमण भण्डारी नेतृत्वको समितिले छानबिनपछि आरोप पुष्टि नभएको निष्कर्ष निकाले पनि प्रतिवेदन अझै सार्वजनिक गरिएको छैन ।

    यता राष्ट्रिय मानव अधिकार आयोगले ‘जेन–जी’ आन्दोलनका क्रममा गुरुङको भूमिकाबारे थप अनुसन्धान गर्न सिफारिस गरेको थियो ।

    आयोगको प्रतिवेदनले आन्दोलन हिंसात्मक बन्नुमा उनको भूमिकाबारे प्रश्न उठाएको थियो ।

    उता, म्याग्दीबाट निर्वाचित सांसद महावीर पुन विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री बनेका छन् ।

    विज्ञान र नवप्रवर्तनलाई अर्थतन्त्रको आधार मान्दै आएका पुनले नयाँ मन्त्रालयको नेतृत्व सम्हाल्दै तीन वर्षभित्रै महत्वपूर्ण काम सम्पन्न गर्ने दाबी गरेका छन् ।

    राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक तथा रोमन म्यागासेसे पुरस्कार विजेता पुनले मन्त्रालयको संस्थागत जग बलियो बनाएर युवालाई नेतृत्व हस्तान्तरण गर्ने लक्ष्य रहेको बताएका छन् ।

    पदभार ग्रहणसँगै गृहमन्त्री गुरुङले २०५८ सालको दरबार हत्याकाण्डको फाइल पुनः खोल्ने घोषणा गरेका छन् ।

    साथै, ‘जेन–जी’ आन्दोलनका क्रममा अभियोग लागेकाहरूको मुद्दा फिर्ता लिन अध्ययन कार्यदल गठन गर्ने र केन्द्रीय अनुसन्धान ब्युरोलाई थप सशक्त बनाउने योजना पनि सार्वजनिक गरेका छन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images