काठमाडौं– राजधानीको प्रमुख व्यापारिक क्षेत्र दरबारमार्गस्थित याक एन्ड यति होटलले प्रयोग गर्दै आएको करिब ३० आना जग्गासम्बन्धी पुरानो विवाद पुनः चर्चामा आएको छ। राज्यको बहुमूल्य सम्पत्ति न्यून दरमा निजी क्षेत्रलाई दिइएको विषयले फेरि कानुनी तथा राजनीतिक वृत्तमा प्रश्न उठाएको छ।
प्राप्त कागजात र अदालती अभिलेखअनुसार तत्कालीन नेपाल औद्योगिक विकास निगम (एनआईडीसी) ले २०३१ सालमा उक्त जग्गा होटललाई २५ वर्षका लागि वार्षिक मात्र १० हजार रुपैयाँ भाडामा उपलब्ध गराएको थियो।
सम्झौतामा भाडा पुनरावलोकन वा वृद्धि गर्ने कुनै व्यवस्था समेत नरहेको देखिन्छ। दरबारमार्गजस्तो अत्यन्त महँगो क्षेत्रको जग्गा यति न्यून दरमा दिइनु सामान्य निर्णय थियो कि पहुँच र प्रभावको परिणाम भन्ने प्रश्न पुनः उठेको छ।
त्यसबेला होटलका प्रमुख लगानीकर्ता स्वर्गीय राधेश्याम सराफको तत्कालीन राजपरिवारसँग निकट सम्बन्ध रहेको चर्चा समेत व्यापक रूपमा उठ्ने गरेको थियो।
यही सम्बन्धका कारण राज्य सम्पत्ति अस्वाभाविक रूपमा अनुकूल सर्तमा उपलब्ध गराइएको हुन सक्ने आशंका विभिन्न कानुनी तथा प्रशासनिक वृत्तमा व्यक्त हुँदै आएको छ। साथै, सम्झौतासम्बन्धी कागजात लामो समयसम्म सार्वजनिक नभई सूचना अधिकारमार्फत मात्र बाहिर आउनुले पनि प्रकरणलाई थप विवादित बनाएको छ।
विवादको अर्को चरण २०५६ सालपछि देखिएको थियो। एनआईडीसीले आफ्नो स्वामित्वमा रहेको दाबी गरिएको जग्गा संरक्षण गर्न पर्खाल निर्माण गरेपछि माओवादी कार्यकर्ताहरू उक्त क्षेत्रमा प्रवेश गरी बसोबास गर्न थालेका थिए। त्यसपछि होटल पक्षले उक्त क्षेत्र सार्वजनिक बाटो भएको दाबी गर्दै अदालतमा मुद्दा दायर गरेको थियो।
मुद्दाको सुनुवाइपछि जिल्ला अदालत र पुनरावेदन अदालत दुवैले विवादित क्षेत्र एनआईडीसीकै स्वामित्वमा रहेको ठहर गरेका थिए। तर सर्वोच्च अदालतले भने अन्ततः उक्त क्षेत्रलाई सार्वजनिक बाटोको रूपमा व्याख्या गर्दै फरक निर्णय दिएको देखिन्छ।
तर सबैभन्दा गम्भीर प्रश्न सर्वोच्च अदालतको निर्णयपछि उत्पन्न भएको हो। एनआईडीसी पछि राष्ट्रिय वाणिज्य बैंकमा गाभिएसँगै त्यसका सम्पूर्ण सम्पत्ति तथा दायित्व बैंकमा हस्तान्तरण भइसकेको अवस्थामा बैंकले सर्वोच्चको निर्णयविरुद्ध पुनरवलोकन वा अन्य कानुनी उपचार किन नलिएको भन्ने प्रश्न उठाइएको छ।
तल्ला अदालतहरूले राज्यको स्वामित्व पुष्टि गरिसकेको अवस्थामा अन्तिम निर्णयपछि बैंकको मौनता रहनुमा प्रभाव, मिलेमतो वा लापरबाही भएको आशंका कानुन व्यवसायीहरूले व्यक्त गरेका छन्। स्रोतहरूका अनुसार यो प्रकरण पुनः अदालतमा लैजाने तयारीसमेत भइरहेको छ।
न्याय प्रशासन ऐनअन्तर्गत सरकारको विशेष स्वीकृति लिएर राज्यको स्वामित्व दाबी गर्दै नयाँ कानुनी प्रक्रिया अघि बढाउने गृहकार्य भइरहेको बताइन्छ। यदि सरकारले स्वीकृति दिएर मुद्दा पुनर्जीवित भई जग्गा पुनः राज्य वा बैंकको स्वामित्वमा फर्कियो भने त्यसको प्रत्यक्ष असर याक एन्ड यति होटलको सञ्चालनमा पर्नेछ।
होटलको मुख्य प्रवेश मार्ग प्रभावित हुने, ठूला पर्यटक बसहरूको आवागमनमा समस्या आउने र व्यावसायिक मूल्य घट्ने अनुमान गरिएको छ। दरबारमार्ग क्षेत्रमा हाल एक आनाको मूल्य करिब पाँच करोड रुपैयाँ हाराहारी पुगेको मानिन्छ। त्यस आधारमा विवादित ३० आना जग्गाको मूल्य करिब डेढ अर्ब रुपैयाँ पुग्छ।
यसरी हेर्दा यो विवाद केवल बाटो वा सीमासम्बन्धी सामान्य मुद्दा नभई राज्यको अर्बौँ रुपैयाँ मूल्यको सम्पत्ति कसरी लामो समयदेखि निजी उपयोगमा रह्यो भन्ने गम्भीर सार्वजनिक सरोकारको विषय बनेको छ। निष्पक्ष कानुनी छानबिन अघि बढेमा यो प्रकरण नेपालको चर्चित राज्य सम्पत्ति विवादमध्ये एक बन्ने देखिन्छ।






















