काठमाडौं– नेपाल चिया विकास निगम लिमिटेडसँग सम्बन्धित ५,२०० एकड राष्ट्रिय चिया बगान जग्गा प्रकरण सर्वोच्च अदालतमा पुगेको छ। अदालतले सरकारलगायत विपक्षी निकायसँग लिखित जवाफ माग गर्दै अन्तरिम आदेशसम्बन्धी छलफलका लागि दुवै पक्षलाई उपस्थित हुन आदेश दिएको छ।
न्यायाधीश मेघराज पोखरेलको एकल इजलासले प्रारम्भिक सुनुवाइपछि रिट निवेदनका विपक्षीहरूलाई १५ दिनभित्र जवाफ पेस गर्न आदेश दिएको हो। साथै, अन्तरिम आदेश जारी गर्ने वा नगर्ने विषयमा छलफलका लागि पेशी तोकिएको छ।
रिट निवेदन भेषराज लुइँटेलले दायर गरेका हुन्। यसमा नेपाल सरकार, अर्थ मन्त्रालय, नेपाल चिया विकास निगम लिमिटेड, महालेखा परीक्षकको कार्यालय, राजस्व अनुसन्धान विभाग, नेपाल धितोपत्र बोर्ड, अख्तियार दुरुपयोग अनुसन्धान आयोग, सूर्योदय नगरपालिका लगायत तत्कालीन अर्थमन्त्री डा. रामशरण महत र तत्कालीन अर्थसचिव द्यिालधर मल्लिकलाई विपक्षी बनाइएको छ।
रिटमा इलाम–झापा क्षेत्रमा फैलिएको करिब ५,२०० एकड चिया बगानको जग्गा निजी समूहलाई अत्यन्त न्यून भाडामा दिइएको, लामो समयसम्म भाडा नउठाइएको तथा पछि भाडा दर घटाइएको लगायत निर्णयलाई “नीतिगत भ्रष्टाचार”को रूपमा व्याख्या गरिएको छ।
रिट अनुसार सुरुमा वार्षिक करिब २ करोड ८० लाख रुपैयाँ भाडा तय गरिएकोमा पछि सो रकम घटाएर करिब ४० लाखमा झारिएको र विगत वर्षहरूमा ब्याज तथा जरिवाना समेत छुट दिइएको दाबी गरिएको छ।
निवेदनमा थप भनिएको छ कि करिब सात वर्षभन्दा बढी समय भाडा नउठाइएको अवस्थामा पनि सरकारी निकायहरूले कारबाही नगरेको, उल्टै निजी समूहलाई संरक्षण दिएको देखिन्छ। यसले राज्यलाई अर्बौँ रुपैयाँ राजस्व घाटा पुगेको आरोप लगाइएको छ।
त्यस्तै, चिया बगानको करिब २,००० एकड जमिनको वास्तविक अवस्था अस्पष्ट रहेको, कागजी हेरफेर तथा सम्भावित अतिक्रमण भएको आशंका पनि रिटमा उल्लेख छ।
रिटमा भ्रष्टाचार निवारण ऐन, २०५९ का प्रावधान उल्लङ्घन भएको भन्दै जिम्मेवार पदाधिकारीमाथि अनुसन्धान र क्षतिपूर्ति असुलीको माग गरिएको छ।
कानुनविद्हरूले यस प्रकरणलाई नेपालमा सार्वजनिक सम्पत्ति व्यवस्थापन र निजीकरण प्रक्रियासँग जोडिएको अत्यन्त गम्भीर विवादमध्ये एकका रूपमा टिप्पणी गरेका छन्।
सर्वोच्च अदालतले अब गर्ने अन्तरिम आदेशसम्बन्धी निर्णयलाई सार्वजनिक सम्पत्ति संरक्षण र नीतिगत निर्णयहरूको वैधतासँग जोडेर चासोका साथ हेरिएको छ।






















