सिन्धुली– सिन्धुलीको मरिण क्षेत्रमा सञ्चालनको तयारीमा रहेको चिनियाँ लगानीको भनिएको भैंसीको मासु प्रशोधन परियोजनाको लगानी संरचना, व्यवस्थापन र निर्णय प्रक्रियाबारे स्थानीय तहमा प्रश्न उठ्न थालेका छन्।
परियोजनामा अमर यादवको सक्रियता बढेको भन्दै स्थानीय स्तरमा चासो र आशंका व्यक्त गरिएको छ। परियोजनासँग सम्बन्धित जग्गा खरिद–बिक्री, स्थानीय समन्वय तथा प्रशासनिक काममा उनको भूमिका देखिएको दाबी गरिएको छ। यादव नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ की छोरी गंगा दाहालसँग निकट रहेर काम गरिरहेको भन्ने चर्चा पनि स्थानीय रूपमा छ।
यद्यपि परियोजनामा चिनियाँ लगानी रहेको बताइए पनि लगानीको स्रोत, स्वामित्व संरचना र साझेदारीका विस्तृत विवरण सार्वजनिक गरिएको छैन। यही कारण पारदर्शिताबारे प्रश्न उठेको हो।
स्रोतहरूका अनुसार परियोजनासँग सम्बन्धित चिनियाँ कम्पनीको सम्पर्क कार्यालय काठमाडौंको कुपण्डोल क्षेत्रमा रहेको बताइन्छ। साथै, परियोजनासँग जोडिएको भनिएको ‘नेम’ संस्थाका डा. नवीन शर्माको भूमिकाबारे पनि चर्चा भइरहेको छ। केही स्थानीयवासीले अमर यादव नेतृत्वको समूहसँग मिलेर काम भइरहेको भन्दै पारदर्शिताको माग गरेका छन्।
यसैबीच, परियोजनासँग सम्बन्धित व्यापारिक गतिविधिमा संलग्न व्यक्तिहरूको नाममा विभिन्न कम्पनी दर्ता भएको भन्ने दाबी पनि स्थानीय तहमा उठिरहेको छ। तर यी विवरणहरू स्वतन्त्र रूपमा पुष्टि भएका छैनन्।
परियोजनाले स्थानीय किसानलाई बजार, रोजगारी र आर्थिक अवसर दिने अपेक्षा गरिए पनि लगानी, स्वामित्व र व्यवस्थापनबारे स्पष्ट जानकारी नआएकाले शंका बढेको स्थानीयको भनाइ छ। केही दिनअघि मरिणका युवाहरूले परियोजनाको पारदर्शिता र विवरण सार्वजनिक गर्न माग गर्दै प्रदर्शनसमेत गरेका थिए।
यस्तै, केही व्यक्तिहरूको भूमिका र परियोजनाको सञ्चालन प्रक्रियाबारे उठेका प्रश्नहरूका बीच स्थानीय स्तरमा विभिन्न अड्कलबाजी पनि भइरहेका छन्। तर परियोजना पक्ष वा सम्बन्धित निकायले ती दाबीहरूबारे औपचारिक रूपमा स्पष्ट प्रतिक्रिया दिएको देखिएको छैन।






















