काठमाडौं– प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि खटाइएका निर्वाचन प्रहरीको पोशाक तथा बन्दोबस्तीका सामग्री खरिद प्रक्रियामा ठूलो आर्थिक अनियमितता भएको आरोपपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन तीव्र बनाएको छ ।
आयोगमा परेको उजुरीअनुसार पोशाक तथा अन्य सामग्री खरिदमा ६० करोड रुपैयाँभन्दा बढी रकम हिनामिना भएको दाबी गरिएको छ ।
गत निर्वाचनका लागि नेपाल प्रहरीले १ लाख ३३ हजार ९ सय ८० जना निर्वाचन प्रहरी भर्ना गरेको थियो ।
उनीहरूका लागि आवश्यक पोशाक, जुत्ता, मोजा, बेल्ट, स्वेटर तथा लाठीलगायत सामग्री खरिदका क्रममा बजार मूल्यभन्दा निकै बढी रकम भुक्तानी गरिएको आरोप उजुरीमा उल्लेख छ ।
अख्तियार स्रोतका अनुसार आयोगले सोमबार काठमाडौं, ललितपुर र भक्तपुरका लेखापालहरूसँग बयान लिएको छ ।
यसअघि सामग्री आपूर्तिको ठेक्का पाएका व्यवसायी राजमान मिश्रसँग समेत बयान लिइसकिएको छ ।
प्रारम्भिक अनुसन्धानका क्रममा खरिद प्रक्रियामा विभिन्न तहका अधिकारीहरूको संलग्नता हुनसक्ने संकेत देखिएको स्रोतको दाबी छ ।
उजुरीमा सामान्यतया करिब ३ हजार ५ सय रुपैयाँमा उपलब्ध हुने सामग्रीको सेट प्रतिव्यक्ति ६ हजार रुपैयाँभन्दा बढीमा खरिद गरिएको उल्लेख गरिएको छ ।
यसबाट राज्यलाई ठूलो आर्थिक क्षति पुगेको दाबी गरिएको छ ।
विशेषगरी जुत्ता खरिद प्रक्रियामा कम्पनी नै तोकेर सामान खरिद गरिएको आरोप छ ।
निर्वाचन प्रहरीका लागि १ लाख ३३ हजार ९ सय ८० जोर जुत्ता खरिद गरिएको र यस क्रममा मात्र करिब १० करोड रुपैयाँ बराबरको अनियमितता भएको दाबी उजुरीकर्ताले गरेका छन् ।
छानबिनमा संलग्न स्रोतहरूका अनुसार खरिद प्रक्रियामा कमिसनको व्यापक चलखेल भएको आरोप पनि अनुसन्धानको दायरामा परेको छ ।
प्रतिव्यक्ति निश्चित रकम कमिसनका रूपमा छुट्याएर विभिन्न तहमा बाँडफाँट गरिएको दाबी उजुरीमा गरिएको छ ।
यद्यपि, यी आरोपहरू अनुसन्धानकै क्रममा रहेकाले आधिकारिक रूपमा पुष्टि भइसकेका छैनन् ।
अनुसन्धानको घेरामा तत्कालीन गृह मन्त्रालयका अधिकारीहरू, प्रहरी प्रधान कार्यालयका जिम्मेवार पदाधिकारीहरू तथा खरिद प्रक्रियामा संलग्न समितिका सदस्यहरू समेत पर्न सक्ने स्रोतको भनाइ छ ।
तत्कालीन गृहमन्त्री ओमप्रकाश अर्याल, प्रहरी महानिरीक्षक दानबहादुर कार्की तथा आर्थिक तथा प्रबन्ध निर्देशनालयका प्रमुख रहेका डीआईजी विश्व अधिकारीको भूमिकाबारे समेत अख्तियारले अध्ययन गरिरहेको बताइएको छ ।
स्रोतका अनुसार आयोगले आवश्यक परे सम्बन्धित उच्च अधिकारीहरूसँग पनि बयान लिन सक्ने तयारी गरेको छ ।
निर्वाचन प्रहरीका लागि खरिद गरिएका सामग्री उनीहरूले आफैंले खरिद गरेको भन्ने दाबी भए पनि बजेट विनियोजन, खरिद प्रक्रिया तथा जिल्लास्तरीय समितिहरूको भूमिकालाई आधार बनाएर अख्तियारले अनुसन्धान अघि बढाइरहेको जनाइएको छ ।
यस विषयमा प्रतिक्रिया माग्दा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता सुरेश न्यौपानेले आफूलाई तत्काल विस्तृत जानकारी नभएको भन्दै बुझेर मात्र प्रतिक्रिया दिन सकिने बताएका छन् ।
आयोगको अनुसन्धान जारी रहेकाले आरोपहरूको अन्तिम सत्यता भने छानबिन प्रतिवेदन र सम्भावित कानुनी प्रक्रियाबाट मात्र स्पष्ट हुने देखिएको छ ।
बीसी र अग्रवाललाई मात्रै ठेक्का
सशस्त्र प्रहरी बलमा निर्वाचन सुरक्षाका लागि भर्ना गरिने निर्वाचन प्रहरीको पोसाक तथा अन्य सामग्री खरिद प्रक्रियामा सीमित ठेकेदारलाई लाभ पुग्ने गरी सेटिङ गरिएको आरोप सार्वजनिक भएको छ ।
स्रोतका अनुसार निर्वाचन प्रहरीका लागि आवश्यक अधिकांश लत्ताकपडा, स्वेटर तथा अन्य सामग्रीको आपूर्ति ठेकेदार टोपेन्द्र बीसी र श्रवण अग्रवालको समूहले मात्रै प्राप्त गरेको थियो ।
निर्वाचनको तयारीका लागि समय अभाव देखाउँदै सशस्त्र प्रहरीले खुला प्रतिस्पर्धात्मक बोलपत्र (टेन्डर) प्रक्रिया अवलम्बन नगरी सोझै खरिद प्रक्रिया अघि बढाएको थियो ।
यही प्रक्रियामार्फत अधिकांश आपूर्ति कार्य बीसी र अग्रवाल समूहलाई दिइएको स्रोतको दाबी छ ।
स्रोतका अनुसार आर्थिक प्रशासन प्रमुख एसएसपी विकास घिमिरे र हाल लुम्बिनी प्रदेशमा कार्यरत डीआईजी दीपेन्द्र कुँवरको समन्वयमा उक्त खरिद प्रक्रिया अघि बढाइएको थियो ।
निर्वाचन प्रहरीका लागि जुत्ताबाहेकका अधिकांश सामग्रीको आपूर्ति बीसी र अग्रवाल समूहले गरेको बताइएको छ ।
यसअघि गत भदौमा नेपाल प्रहरीको लत्ताकपडा खरिदसम्बन्धी ठेक्का प्रक्रिया विवादमा परेपछि तत्कालीन गृहमन्त्रीको निर्देशनमा रद्द गरिएको थियो ।
त्यसपछि सशस्त्र प्रहरीले नियमित पोसाक खरिदका केही ठेक्कामा प्रतिस्पर्धात्मक प्रक्रिया अपनाउँदा कम दर प्रस्ताव गर्ने कम्पनीहरू छनोट भएका थिए। त्यसक्रममा बीसी र अग्रवाल समूहले अपेक्षित ठेक्का प्राप्त गर्न नसकेको बताइन्छ ।
स्रोतका अनुसार नियमित खरिद प्रक्रियामा सफलता हासिल गर्न नसकेपछि उक्त समूहले उच्च तहमा पहल गर्दै निर्वाचन प्रहरीका लागि आवश्यक सामग्री खरिदको काम आफ्नो पक्षमा पार्न सफल भएको थियो ।
निर्वाचन प्रहरीका लागि आवश्यक सामग्री खरिद व्यवस्थापनमा डीआईजी कुँवरको प्रभाव रहेको आरोपसमेत लाग्दै आएको छ ।
कुँवर लामो समयसम्म सशस्त्र प्रहरीको प्रबन्ध शाखामा कार्यरत रहेकाले खरिद प्रक्रियामा उनको प्रभाव कायम रहेको स्रोतहरूको दाबी छ ।
आर्थिक प्रशासन प्रमुखका रूपमा एसएसपी विकास घिमिरेको सरुवासमेत उनकै सिफारिसमा भएको चर्चा सशस्त्र प्रहरीभित्र हुने गरेको बताइन्छ ।
सशस्त्र प्रहरी बलले आगामी निर्वाचनको सुरक्षाका लागि १५ हजार ३ सय जना निर्वाचन प्रहरी भर्ना गर्ने जिम्मेवारी प्राप्त गरेको थियो ।
उक्त कोटा प्राप्त गर्न कानुन समूहका एसएसपी युवराज अर्यालमार्फत गृह मन्त्रालयसम्म पहल गरिएको स्रोतहरूको भनाइ छ ।
स्रोतका अनुसार गृहमन्त्री ओमप्रकाश अर्याल र एसएसपी युवराज अर्यालबीच पारिवारिक सम्बन्ध रहेको चर्चा हुने गरेको छ ।
यही पहुँचका आधारमा सशस्त्र प्रहरी नेतृत्वले निर्वाचन प्रहरी भर्नाको जिम्मेवारी प्राप्त गर्न सफल भएको दाबीसमेत विभिन्न वृत्तमा गरिँदै आएको छ ।
यद्यपि, यस विषयमा सम्बन्धित अधिकारीहरूको आधिकारिक प्रतिक्रिया भने सार्वजनिक भएको छैन ।






















