काठमाडौं– विराटनगरमा नेपाली कांग्रेसको संस्थापन इतर पक्षले जेठ ३१ गते बृहत् एकता भेला आयोजना गर्ने तयारी गरेको छ ।
होटल मनास्लुमा हुने भेलामा डा.शेखर कोइरालाको प्रमुख आतिथ्य रहनेछ भने डा.शशांक कोइराला, कृष्ण सिटौला, विजयकुमार गच्छदारलगायत नेताहरू सहभागी हुने बताइएको छ ।
आयोजकहरूले पार्टीभित्रको विभाजन अन्त्य गरी एकता कायम गर्ने उद्देश्य रहेको बताएका छन् ।
यद्यपि, संस्थापन पक्षले कार्यक्रमबारे आफूहरूलाई औपचारिक जानकारी नभएको जनाएको छ ।
इतर पक्षले यस भेलामार्फत आफूहरू एकताबद्ध रहेको सन्देश दिनुका साथै क्रियाशील सदस्यता नवीकरणलगायत विषयमा नेतृत्वमाथि दबाब सिर्जना गर्ने रणनीति बनाएको छ ।
पार्टीलाई एकलौटी ढंगले अघि बढाउन खोजिएको आरोप लगाउँदै असन्तुष्ट पक्षले विराटनगरबाटै नेतृत्वलाई राजनीतिक सन्देश दिने तयारी गरेको जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्






















