images
images
  • होमुर्जमा अमेरिकी सैन्य हेलिकप्टर दुर्घटना, इरानले खसालेको आशंका

    काठमाडौं– हर्मुज जलघाँटी नजिकै अमेरिकी सेनाको अपाचे लडाकु हेलिकप्टर दुर्घटनाग्रस्त भएपछि त्यसमा रहेका दुई पाइलट सुरक्षित रहेको राष्ट्रपति डोनाल्ड ट्रम्पले बताएका छन् ।

    मध्यपूर्वमा बढ्दो तनावबीच भएको यो दुर्घटनाको कारण भने अझै स्पष्ट भएको छैन ।

    मंगलबार बिहान भएको उक्त दुर्घटना इरान–इजरायलबीचको पछिल्लो तनावपछि उत्पन्न संवेदनशील परिस्थितिबीच भएको हो ।

    इरान र इजरायलबीच अघिल्लो दिन मात्र भएको गोलीबारीले क्षेत्रीय सुरक्षा अवस्था थप अस्थिर बनाएको थियो ।

    इरानको राज्य सञ्चारमाध्यमले पनि दुर्घटनाको पुष्टि गरेको भए पनि विस्तृत विवरण सार्वजनिक गरेको छैन ।

    यसअघि इजरायल र संयुक्त राज्य अमेरिकाले इरानविरुद्ध सैन्य कारबाही सुरु गरेयता मध्यपूर्वमा द्वन्द्व चर्किँदै गएको छ ।

    त्यसयता विश्व ऊर्जा आपूर्ति प्रभावित भएको, तेल तथा खाद्य वस्तुको मूल्य बढेको र अन्तर्राष्ट्रिय बजारमा अस्थिरता फैलिएको बताइन्छ ।

    यद्यपि पछिल्ला महिनामा घोषित युद्धविरामलाई दीर्घकालीन शान्ति सम्झौतामा रूपान्तरण गर्न भने सफल हुन सकेको छैन ।

    घटना भएको समयमा राष्ट्रपति डोनाल्ड ट्रम्प न्युयोर्कस्थित जोन एफ। केनेडी अन्तर्राष्ट्रिय विमानस्थलमा एनबीए फाइनल हेरेपछि सञ्चारकर्मीसँग कुरा गरिरहेका थिए ।

    उनले दुर्घटनाबारे प्रारम्भिक जानकारी दिँदै पाइलटहरू सुरक्षित रहेको पुष्टि गरेका हुन् ।

    उनले भने, “पाइलटहरू ठीक छन्, कोही घाइते छैनन् । हामी भोलि विस्तृत प्रतिवेदन सार्वजनिक गर्नेछौँ ।”

    घटनाबारे पहिलो पटक न्युयोर्क टाइम्सले अमेरिकी सेनाको अपाचे हेलिकप्टर अस्पष्ट परिस्थितिमा हर्मुज जलघाँटी नजिक खसेको रिपोर्ट गरेको थियो ।

    अमेरिकी सेनाको केन्द्रीय कमान्ड र रक्षा मन्त्रालयले भने यस विषयमा प्रतिक्रिया दिन तत्काल कुनै जानकारी दिएको छैन ।

    यस दुर्घटनाले संवेदनशील समुद्री मार्गमा सैन्य गतिविधि र क्षेत्रीय तनाव अझै उच्च अवस्थामा रहेको सङ्केत दिएको विश्लेषकहरूले बताएका छन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images