काठमाडौं– पूर्वगृहमन्त्री सुधन गुरुङविरुद्ध गठित सम्पत्ति छानबिन समितिको प्रतिवेदन सार्वजनिक नभए पनि त्यसका केही विवरण बाहिरिएपछि राजनीतिक वृत्तमा नयाँ बहस सुरु भएको छ ।
विवादपछि पदबाट राजीनामा दिन बाध्य भएका गुरुङमाथि बनेको प्रतिवेदनले केही आर्थिक अनियमितताका शंकास्पद पक्ष औँल्याए पनि अन्ततः जिम्मेवारी व्यक्तिभन्दा ‘प्रणालीगत कमजोरी’ मा केन्द्रित गरेको भन्दै आलोचना भइरहेको छ ।
उच्च अदालतका पूर्वन्यायाधीश अच्युतप्रसाद भण्डारीको अध्यक्षतामा गठित तीन सदस्यीय समितिले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा ४५ पृष्ठ लामो प्रतिवेदन बुझाएको हो ।
तर प्रतिवेदन हालसम्म सार्वजनिक गरिएको छैन ।
जग्गा कारोबारमा राजश्व छलीको आशंका
प्रतिवेदनमा धनकुटाको साँगुरीगढी गाउँपालिकास्थित करिब १९ रोपनी १५ आना जग्गा कारोबारलाई विशेष रूपमा उल्लेख गरिएको स्रोतहरूको दाबी छ ।
स्थानीय बजार मूल्यभन्दा निकै कम मूल्य देखाएर मालपोत कार्यालयमा पास गरिएको उक्त कारोबारमा वास्तविक मूल्य करोड रुपैयाँभन्दा बढी हुनसक्ने अनुमान गरिए पनि कागजी रूपमा मात्र ६ लाख ९० हजार रुपैयाँ देखाइएको उल्लेख छ ।
यसले राज्यलाई उल्लेखनीय राजश्व क्षति भएको हुनसक्ने प्रश्न उठाइएको छ ।
तर समितिले यो विषयलाई व्यक्तिको नियतभन्दा पनि देशभरको जग्गा मूल्यांकन प्रणाली र मालपोत अभिलेख प्रक्रियाको कमजोरीसँग जोडेर व्याख्या गरेको बताइएको छ ।
सम्पत्ति विवरणमा असंगति
गुरुङले निर्वाचन आयोगमा बुझाएको सम्पत्ति विवरण र मन्त्री बनेपछि सार्वजनिक गरिएको विवरणबीच केही अन्तर देखिएको विषय पनि प्रतिवेदनमा समेटिएको छ ।
तर समितिले यसलाई नियतजन्य त्रुटि भन्दा पनि अभिलेखीकरण र तथ्य व्यवस्थापनको कमजोरीका रूपमा व्याख्या गर्दै थप कानुनी कारबाही सिफारिस नगरेको स्रोतहरूको भनाइ छ ।
८९ तोला सुन प्रकरण
गृहमन्त्रीको कार्यकालमा सार्वजनिक भएको करिब ८९ तोला सुनको स्रोतबारे उठेका प्रश्नहरू पनि छानबिनमा समेटिएका थिए ।
समितिले उक्त सुनलाई पैतृक सम्पत्तिको रूपमा स्वीकार गरेको देखिए पनि सुनको अभिलेख, स्वामित्व हस्तान्तरण र पारदर्शिताको स्पष्ट कानुनी व्यवस्था नहुँदा यस्ता विवाद दोहोरिने निष्कर्ष निकालेको बताइएको छ ।
विदेशबाट आएको ५० लाख रुपैयाँ
जेन–जी आन्दोलनको अवधिमा गुरुङको नाममा विदेशबाट आएको भनिएको करिब ५० लाख रुपैयाँ पनि छानबिनको दायरामा परेको थियो ।
समितिले यसलाई वैध रेमिट्यान्स वा वैदेशिक आम्दानीसँग सम्बन्धित भुक्तानीको रूपमा व्याख्या गरेको भए पनि रकम पठाउने व्यक्ति, उद्देश्य र कानुनी आधारबारे पर्याप्त गहिरो अनुसन्धान नभएको भन्दै आलोचकहरूले प्रश्न उठाएका छन् ।
‘क्लिन चिट’ कि प्रणाली सुधार ?
समितिका निष्कर्षहरू अनुसार विभिन्न शंकास्पद पक्षहरू औँल्याइए पनि पूर्वमन्त्री गुरुङलाई प्रत्यक्ष रूपमा दोषी ठहर गरिएको छैन ।
बरु प्रतिवेदनले सम्पत्ति अभिलेख प्रणाली, जग्गा मूल्यांकन प्रक्रिया, सुनको निगरानी र वैदेशिक रकमको पारदर्शितामा सुधार आवश्यक रहेको सुझाव दिएको छ ।
यसैबीच, प्रतिवेदन सार्वजनिक नहुँदै गुरुङको सम्भावित राजनीतिक पुनरागमनबारे अड्कलबाजी सुरु भएको छ ।
प्रधानमन्त्री बालेन्द्र शाहले गृह मन्त्रालय आफैंसँग राखेको परिस्थितिमा नयाँ गृहमन्त्रीको नामबारे औपचारिक निर्णय नहुँदा राजनीतिक वृत्तमा विभिन्न चर्चा तीव्र बनेका छन् ।
प्रतिवेदन सार्वजनिक भएपछि मात्र यसको पूर्ण निष्कर्ष र कानुनी प्रभाव स्पष्ट हुने भए पनि अहिले नै यसले राज्यको जवाफदेहिता, प्रणालीगत कमजोरी र राजनीतिक नैतिकतामाथि गम्भीर बहस सुरु गरिदिएको छ ।






















