तेहरान– इरानले आफ्नो ऊर्जा पूर्वाधारमाथि आक्रमण जारी रहे पश्चिम एसियाका अन्य ऊर्जा केन्द्रहरू पनि निशानामा पर्न सक्ने चेतावनी दिएको छ ।
अर्धसरकारी समाचार संस्था फार्स न्युजका अनुसार इरानले अमेरिकी वा इजरायली स्वामित्व तथा लगानी रहेका क्षेत्रीय तेल–ग्यास संरचनालाई वैध सैन्य लक्ष्य मान्ने जनाएको छ ।
इरानी ऊर्जा केन्द्रहरूमा थप आक्रमण भए अमेरिका र इजरायलसँग सम्बन्धित ऊर्जा पूर्वाधारमाथि कारबाही गरिने चेतावनी दिइएको छ ।
इरानको इस्लामिक रिभोलुसनरी गार्ड कर्प्स (आईआरजीसी)ले इजरायलले महशहरस्थित पेट्रोकेमिकल केन्द्रमा गरेको आक्रमणको जवाफस्वरूप हाइफा क्षेत्रको ऊर्जा पूर्वाधारमा क्षेप्यास्त्र प्रहार गरिएको दाबी गरेको छ ।
इरानले द्वन्द्वको दायरा क्षेत्रीय ऊर्जा संरचनासम्म फैलिन सक्ने संकेत दिएको छ ।
महशहरस्थित कारुन पेट्रोकेमिकल कम्पनी आक्रमणको चपेटामा परेको भए पनि मानवीय क्षति नभएको बताइएको छ ।
यसअघि पनि इरानले अमेरिकासँग निकट खाडी राष्ट्रहरूको ऊर्जा पूर्वाधारलाई निशाना बनाउँदा अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य तीव्र रूपमा बढेको थियो ।


विश्व खबर 




















