काठमाडौं– नेपालले २०२६ एसियन गेम्स क्रिकेट छनोट प्रतियोगिताको उपाधि जितेको छ ।
सिंगापुरमा सोमबार भएको फाइनलमा हङकङलाई डिएलएस विधिअनुसार १९ रनले पराजित गर्दै नेपाल च्याम्पियन बनेको हो ।
यसअघि सेमिफाइनलमा पुगेका नेपाल, हङकङ, मलेसिया र ओमानले आगामी सेप्टेम्बरमा जापानमा हुने एसियन गेम्सका लागि स्थान सुरक्षित गरिसकेका थिए ।
हङकङले दिएको १८९ रनको लक्ष्य पछ्याइरहेको नेपाल वर्षाका कारण खेल रोकिँदा ११।३ ओभरमा २ विकेट गुमाएर ११४ रनको बलियो अवस्थामा थियो ।
कप्तान दीपेन्द्रसिंह ऐरी ९ तथा रोहितकुमार पौडेल ३५ रनमा अविजित थिए ।
ओपनर कुशल भुर्तेलले ६५ रनको उत्कृष्ट इनिङ्स खेलेका थिए ।
यसअघि टस जितेर फिल्डिङ रोजेको नेपालले हङकङलाई ७ विकेटमा १८८ रनमा सीमित गरेको थियो ।
हङकङका अंशुमन रथले ८० तथा शाहिद वासिफले ५५ रन बनाए ।
नेपालका लागि शेर मल्लले ४ विकेट लिए भने करण केसीले २ विकेट हात पारे ।
सन्दीप लामिछानेले १ विकेट लिए ।


विश्व खबर 


















