काठमाडौं– सम्पत्ति शुद्धीकरण विभाग र केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)को अनुसन्धानमा रहेका दीपक भट्ट, सुलभ अग्रवाल र शेखर गोल्छासहितका व्यक्तिविरुद्धको अनुसन्धान प्रतिवेदन अभियोजनका लागि सरकारी वकिल कार्यालयमा पुगेको छ ।
सम्पत्ति शुद्धीकरण विभागले गत साता विशेष सरकारी वकिलको कार्यालयमा प्रतिवेदन बुझाएको हो ।
हाल उक्त प्रतिवेदन अध्ययन तथा अभियोजन प्रक्रियामा रहेको सरकारी वकिल कार्यालयले जनाएको छ ।
सिआइबीले पनि बीमा ऐन, धितोपत्र सम्बन्धी ऐन तथा बैंकिङ कसुरसँग सम्बन्धित चारवटा मुद्दाको अनुसन्धान प्रतिवेदन सरकारी वकिल कार्यालयमा बुझाइसकेको छ ।
प्रहरीका अनुसार बीमा कसुरमा ४० जनाविरुद्ध ४ अर्ब रुपैयाँभन्दा बढी, धितोपत्र कसुरमा ७५ जनाविरुद्ध १ अर्ब रुपैयाँभन्दा बढी तथा बैंकिङ कसुरमा ५४ करोड रुपैयाँभन्दा बढी बिगो कायम गरिएको छ ।
यी सबै कसुरमा भट्ट, अग्रवाल र गोल्छासहितका व्यक्तिहरू प्रतिवादी रहेका छन् ।
विभिन्न कसुरमा कुल बिगो रकम साढे ५ अर्ब रुपैयाँभन्दा बढी पुग्न सक्ने देखिएको छ ।
सम्पत्ति शुद्धीकरण अनुसन्धानका क्रममा दीपक भट्ट चैत १९, सुलभ अग्रवाल चैत २२ र शेखर गोल्छा वैशाख १० गते पक्राउ परेका थिए ।
गोल्छालाई भने पछि सर्वोच्च अदालतले हिरासतमुक्त गर्न आदेश दिएको थियो ।






















