images
images
  • इजरायली सेनाको गोलीबाट ७ महिने शिशुको मृत्यु, आमाबुबा घाइते

    काठमाडौं– इजरायलको सैन्य नियन्त्रणमा रहेको प्यालेस्टिनी भू–भाग पश्चिमी किनाराको हेब्रोन क्षेत्र नजिक इजरायली सेनाले एक सवारीसाधनमाथि गोली चलाउँदा ७ महिनाका एक प्यालेस्टिनी शिशुको मृत्यु भएको छ भने उनका आमाबुबा घाइते भएका छन् ।

    घटनाबारे प्यालेस्टिनी स्वास्थ्य मन्त्रालयले जानकारी दिएको हो ।

    मन्त्रालयका अनुसार शिशुको अनुहारमा गोली लागेका कारण घटनास्थलमै मृत्यु भएको थियो ।

    घाइते भएका उनका पिता र आमाको उपचार भइरहेको छ ।

    आमाको अवस्था गम्भीर रहेको बताइएको छ ।

    इजरायली सेनाले भने आफ्ना सैनिकहरूले आफूहरूतर्फ तीव्र गतिमा आइरहेको जस्तो देखिएको एक सवारीसाधनलाई लक्षित गरी गोली चलाएको जनाएको छ ।

    सेनाको प्रारम्भिक अनुसन्धानले घाइते भएका तीनै जना सर्वसाधारण रहेको र उनीहरूको कुनै संलग्नता नरहेको देखाएको बताइएको छ ।

    शिशुका पिता, जो एक विश्वविद्यालयका प्राध्यापक समेत हुन्, का अनुसार परिवारका सदस्यहरू सवारीसाधनमा यात्रा गरिरहेका बेला अचानक गोलीबारी भएको थियो ।

    उनका अनुसार एउटा गोली अगाडिको सिसा छेड्दै उनको हातमा लागेर पछाडिको सिटमा रहेका शिशुसम्म पुगेको थियो ।

    सोही क्रममा शिशुको अनुहारमा गम्भीर चोट लागेको थियो ।

    घटनामा शिशुकी आमालाई पनि चोट लागेको छ ।

    चिकित्सकहरूका अनुसार उनको मुटुनजिक छर्रा अड्किएको छ र अवस्था चिन्ताजनक रहेको छ ।

    परिवारका सदस्यहरूका अनुसार उनीहरू सैन्य जाँचचौकी नजिक पुग्दा टाढाबाट सैनिक र सैन्य सवारीसाधन देखेपछि गाडी रोकेका थिए ।

    सुरुमा सुनिएको गोलीको आवाज चेतावनीका लागि चलाइएको हो भन्ने लागेको भए पनि केही क्षणमै गम्भीर दुर्घटना भएको उनीहरूको भनाइ छ ।

    शिशुको मृत्युले स्थानीय समुदायमा शोक छाएको छ ।

    अन्त्येष्टिका क्रममा उनको शवलाई प्यालेस्टिनी झन्डाले बेरिएको थियो ।

    परिवारले घटनाको निष्पक्ष छानबिन र न्यायको माग गरेको छ ।

    सन् २०२३ अक्टोबरमा गाजामा युद्ध सुरु भएयता पश्चिमी किनारामा इजरायली सैन्य कारबाही तथा प्यालेस्टिनीहरूविरुद्ध हुने हिंसात्मक घटनामा उल्लेख्य वृद्धि भएको विभिन्न मानवअधिकार संस्थाहरूले जनाउँदै आएका छन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images
    Bishwokhar.com: News from Nepal
    images