काठमाडौं– नेपाली कांग्रेसभित्र देखिएको विवाद अन्त्य गरी पार्टीलाई एकताबद्ध बनाउने प्रयासस्वरूप संस्थापन र इतर पक्षले आ–आफ्ना प्रस्ताव प्रस्तुत गरेका छन् ।
दुवै प्रस्तावमाथि सहमति खोज्न नेताहरूबीच निरन्तर संवाद भइरहेको छ ।
सर्वोच्च अदालतले कांग्रेसको आधिकारिकतासम्बन्धी विवाद टुंग्याएपछि सभापति गगन थापाले इतर पक्षका नेताहरूसँग संवाद अघि बढाएका थिए ।
विभिन्न चरणका छलफलपछि सहमतिका आधार खोज्ने उद्देश्यले दुवै पक्षले प्रस्ताव तयार गरी वार्तालाई औपचारिक रूप दिएका हुन् ।
नेता रमेश लेखकका अनुसार गगन थापा पार्टीलाई एकताबद्ध बनाएर लैजान सकारात्मक देखिएका छन् ।
उनले मुलुक र पार्टी दुवै चुनौतीपूर्ण अवस्थामा रहेकाले एकताको विकल्प नभएको सन्देश आफूले नेतृत्व तहलाई दिएको बताए ।
हाल उपसभापति विश्वप्रकाश शर्मा र पूर्णबहादुर खड्काबीच दुवै पक्षका प्रस्तावलाई आधार बनाएर संवाद चलिरहेको छ ।
नेताहरूका अनुसार अधिकांश विषयमा सहमति जुट्न सक्ने अवस्था देखिएको छ ।
यद्यपि इतर पक्षका नेता मीन विश्वकर्माले पार्टी एकताको विषयमा गगन थापा लचक देखिए पनि विश्वप्रकाश शर्मामा त्यति उत्साह नदेखिएको टिप्पणी गरेका छन् ।
उनका अनुसार सहमति गर्नुपर्ने विषय धेरै जटिल छैनन् र राजनीतिक इच्छाशक्ति भए छिट्टै समाधान सम्भव छ ।
दुवै पक्षका प्रस्तावमा विशेष महाधिवेशनमा छुटेका नेताहरूलाई समेट्ने, विभिन्न समितिको पुनर्गठन गर्ने तथा क्रियाशील सदस्यतासम्बन्धी विषयलाई सहमतिका आधारमा टुंग्याउने कुरा समावेश छन् ।
नेताहरूका अनुसार मुख्य विवादभन्दा पनि शब्द र प्रक्रियागत विषयमा छलफल केन्द्रित छ ।
कांग्रेसभित्रको लामो विवाद अन्त्य गरी साझा समझदारी कायम गर्न दुवै पक्ष सक्रिय रहेकाले निकट भविष्यमा सहमति हुन सक्ने अपेक्षा गरिएको छ ।






















