काठमाडौं– कुलमान घिसिङले राष्ट्रिय स्वतन्त्र पार्टीले अघि सारेको ‘निलो क्रान्ति’ दीर्घकालीन रूपमा टिकाउ नहुने बताएका छन् ।
नेपालको दिगो विकास, आर्थिक समृद्धि र राजनीतिक स्थायित्वका लागि ‘हरित क्रान्ति’ नै एकमात्र भरपर्दो विकल्प रहेको उनको भनाइ छ ।
शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उज्यालो नेपाल पार्टीका अध्यक्ष घिसिङले नेपालमा विभिन्न कालखण्डमा भएका राजनीतिक परिवर्तनलाई विभिन्न रङका क्रान्तिसँग तुलना गरे ।
उनले १० वर्षे जनयुद्धपछिको राजनीतिक परिवर्तनलाई ‘रातो क्रान्ति’ र राष्ट्रिय स्वतन्त्र पार्टीले अघि सारेको अभियानलाई ‘निलो क्रान्ति’का रूपमा चित्रण गर्दै अबको आवश्यकता भने ‘हरित क्रान्ति’ भएको बताए ।
उनले निलो क्रान्तिको प्रभाव लामो समयसम्म कायम नहुने दाबी गर्दै हरित क्रान्तिले मात्रै नेपाललाई दिगो विकासको मार्गमा अघि बढाउने र राजनीतिक स्थायित्व सुनिश्चित गर्ने बताए ।
“नेपालको दिगो विकास र दिगो राजनीतिक स्थायित्वका लागि अब आवश्यक क्रान्ति हरित क्रान्ति हो, र यसको नेतृत्व उज्यालो नेपाल पार्टीले गर्छ,” उनले भने ।
घिसिङका अनुसार उज्यालो नेपाल पार्टीको मूल दर्शन नै हरित क्रान्तिमा आधारित छ ।
पार्टीको हरियो झण्डा र चुनाव चिह्न ‘चिम’ले ऊर्जा, शक्ति र समृद्धिको सन्देश दिने उनको भनाइ थियो ।
हरित क्रान्तिको अवधारणा स्पष्ट पार्दै उनले यसको केन्द्रबिन्दु सुशासन रहेको बताए ।
सुशासनसँगै प्राकृतिक स्रोतको प्रभावकारी उपयोग, विशेषगरी जलस्रोतको अधिकतम सदुपयोगमार्फत आर्थिक रूपान्तरण गर्ने पार्टीको योजना रहेको उनले जानकारी दिए ।
नेपालको जलस्रोतबाट जलविद्युत् उत्पादनका साथै हरित हाइड्रोजन र हरित युरिया उत्पादनको ठूलो सम्भावना रहेको उल्लेख गर्दै उनले यी विषयलाई उज्यालो नेपाल पार्टीले आफ्नो घोषणापत्रमै प्राथमिकताका साथ समेटेको बताए ।
हालै सार्वजनिक भएको सरकारी बजेटमा समेत हरित हाइड्रोजन र हरित युरियासम्बन्धी कार्यक्रम समावेश भएकोप्रति उनले सकारात्मक प्रतिक्रिया जनाउँदै सम्बन्धित पक्षलाई धन्यवाद दिए ।
उनले हरित ऊर्जा, सुशासन र उत्पादनमुखी अर्थतन्त्रको आधारमा नेपाललाई आत्मनिर्भर र समृद्ध राष्ट्र बनाउने लक्ष्यसहित उज्यालो नेपाल पार्टीले हरित क्रान्तिको अभियान अघि बढाइरहेको बताए ।






















