काठमाडौं– राष्ट्रिय मानव अधिकार आयोगले भदौ २३ गतेको जेन–जी आन्दोलनमा सुरक्षाकर्मीले अत्यधिक बल प्रयोग गरेको र भदौ २४ गतेको देशव्यापी हिंसा पूर्वयोजनाअनुसार संगठित आपराधिक गतिविधि भएको निष्कर्ष निकालेको छ ।
आयोगको प्रतिवेदन अनुसार सामाजिक सञ्जालमाथिको प्रतिबन्ध नै आन्दोलन भड्किनुको मुख्य कारण बनेको र तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली, गृहमन्त्री रमेश लेखक र सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङ मानव अधिकार उल्लंघनमा जिम्मेवार देखिएका छन् ।
उनीहरूमाथि कारबाही सिफारिस गरिएको छ ।
भदौ २४ मा भएको आगजनी, तोडफोड र हिंसामा ठूलो जनधन क्षति भएको र केही प्रहरीसहित कैयौं व्यक्तिको मृत्यु भएको उल्लेख छ ।
घटनालाई आयोगले संगठित आपराधिक कार्यको रूपमा व्याख्या गरेको छ ।
त्यस्तै तत्कालीन प्रहरी र सशस्त्र नेतृत्वमाथि पनि कारबाही तथा भविष्यमा सरकारी जिम्मेवारी नदिन सिफारिस गरिएको छ ।
नेपाली सेनाको भूमिका, समयमा परिचालन नभएको विषय र समन्वय अभावबारे पनि प्रश्न उठाइएको छ ।
रास्वपा सभापति रवि लामिछानेको कारागारबाट बाहिरिने घटनालाई फौजदारी अपराध भनिँदै त्यसपछि देशभर कारागारहरूमा हिंसा फैलिएको आयोगको दाबी छ ।
लामिछानेसहित केही सांसद र नेताहरूमाथि सूक्ष्म अनुसन्धान गर्न पनि सिफारिस गरिएको छ ।
आयोगले टीओबी समूह, केही अभियन्ता, सेलिब्रेटी तथा अन्य व्यक्तिहरूको भूमिकाबारे पनि थप अनुसन्धान गर्न सुझाव दिएको छ ।






















