काठमाडौं– १५औं महाधिवेशनपछि नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति ‘जम्बो’ बन्ने भएको छ ।
संशोधित विधानअनुसार अब कांग्रेसको केन्द्रीय समिति २४० सदस्यीय हुनेछ ।
महाधिवेशनबाट १७१ जना निर्वाचित हुनेछन् भने सभापतिले ६१ जना मनोनयन गर्न पाउने व्यवस्था गरिएको छ ।
नयाँ विधानले सहमहामन्त्रीको संख्या ८ बाट बढाएर ११ पुर्याएको छ ।
जसमध्ये ३ जना सहमहामन्त्री सभापतिले मनोनयन गर्न पाउनेछन् ।
साथै ३५ वर्षमुनिका २१ युवा, ‘लेट्रल इन्ट्री’मार्फत आएका ७ जना र जनसम्पर्क समितिबाट ६ जना केन्द्रीय सदस्य निर्वाचित हुने व्यवस्था गरिएको छ ।
संशोधित विधानमा प्रत्येक प्रदेशबाट कम्तीमा एक जना युवा महिला केन्द्रीय सदस्य निर्वाचित हुने सुनिश्चित गरिएको छ ।
सभापतिले गर्ने मनोनयनमा महिला, युवा, समावेशी तथा अल्पसंख्यक समुदायको प्रतिनिधित्वलाई ध्यान दिनुपर्ने प्रावधान पनि राखिएको छ ।
यसअघि १४औं महाधिवेशनसम्म कांग्रेसको केन्द्रीय समिति १६८ सदस्यीय थियो ।






















