काठमाडौं– राष्ट्रिय मानव अधिकार आयोगले गत २३ र २४ भदौमा भएको नवयुवा ‘जेनजी’ आन्दोलनका क्रममा गम्भीर मानवअधिकार उल्लंघन भएको निष्कर्ष निकालेको छ ।
आयोगले आन्दोलनको छानबिनका लागि सदस्य लिली थापाको संयोजकत्वमा गठन गरेको समितिको प्रतिवेदन बुधबार सरकारलाई बुझाउँदै तत्कालीन राजनीतिक नेतृत्व, सुरक्षा अधिकारी, अभियन्ता तथा सामाजिक सञ्जालमार्फत आन्दोलनलाई प्रभावित पार्ने व्यक्तिहरूमाथि कारबाही सिफारिस गरेको हो ।
आयोगले प्रतिवेदनमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली, गृहमन्त्री रमेश लेखक तथा सञ्चारमन्त्री पृथ्वी सुब्बा गुरुङलाई आन्दोलन दमनको जिम्मेवार ठहर गर्दै कानुन बनाएर कारबाही गर्न सरकारलाई सिफारिस गरेको छ ।
आयोगले यस्ता घटनामा संलग्न व्यक्तिलाई बढीमा ६ महिना कैद वा ३ लाख रुपैयाँसम्म जरिवाना गर्न सकिने कानुनी व्यवस्था गर्नुपर्ने सुझाव दिएको छ ।
साथै दोषी ठहर भएकालाई कम्तीमा पाँच वर्षसम्म राजनीतिक नियुक्ति वा निर्वाचनमा उम्मेदवार हुन रोक लगाउने र तीन वर्षसम्म विदेश भ्रमण तथा प्रशासनिक जिम्मेवारीमा प्रतिबन्ध लगाउने प्रावधान बनाउनुपर्ने उल्लेख गरिएको छ ।
प्रतिवेदनमा तत्कालीन नेपाल प्रहरी महानिरीक्षक चन्द्रकुबेर खापुङ, सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल तथा राष्ट्रिय अनुसन्धान विभागका प्रमुख हुतराज थापालाई भविष्यमा कुनै पनि सरकारी सेवामा नियुक्त हुन नपाउने गरी कारबाही गर्न सिफारिस गरिएको छ ।
आयोगले आन्दोलन दमनमा सुरक्षा नेतृत्वको प्रत्यक्ष भूमिका रहेको निष्कर्ष निकालेको हो ।
त्यस्तै वर्तमान प्रहरी महानिरीक्षक दानबहादुर कार्की र सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलमाथि विभागीय कारबाही गर्न सिफारिस गरिएको छ ।
आयोगले २३ भदौमा बानेश्वर र संसद् भवन क्षेत्रमा खटिएका प्रहरी, सशस्त्र प्रहरी तथा अनुसन्धान विभागका फिल्ड कमान्डरहरूले अत्यधिक बल प्रयोग गरेको उल्लेख गरेको छ ।
आयोगले अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्की, पूर्वगृहमन्त्री ओमप्रकाश अर्याल र सुधन गुरुङ तथा जाँचबुझ आयोगका अध्यक्ष गौरीबहादुर कार्कीमाथि आन्दोलनलाई उत्तेजित बनाएको आरोपमा थप अनुसन्धान गर्न सरकारलाई सिफारिस गरेको छ ।
प्रतिवेदनमा उनीहरूले दिएका अभिव्यक्ति र गतिविधिले आन्दोलनलाई थप भड्काउन भूमिका खेलेको उल्लेख गरिएको छ ।
आयोगले आन्दोलन आयोजक पुरुषोत्तम यादव, सबल गौतम, अंकित मल्ल र खेमराज साउदमाथि पनि थप अनुसन्धान गर्न सिफारिस गरेको छ ।
साथै आन्दोलन हिंसात्मक बन्न भूमिका खेलेको आरोपमा विभिन्न अभियन्ता, सामाजिक सञ्जाल प्रयोगकर्ता तथा कन्टेन्ट क्रियटरहरूलाई समेत अनुसन्धानको दायरामा ल्याउन भनिएको छ ।
प्रतिवेदनमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसहित १७ जना सांसद तथा कुल ४९ जनामाथि थप अनुसन्धान गर्न सिफारिस गरिएको छ ।
अनुसन्धान सिफारिस हुनेमा गणेश कार्की, सुलभ खरेल, सोम शर्मा, बब्लु गुप्ता, कृष्ण कार्की, डा. तोसिमा कार्की, राजीव खत्री, केपी खनाल, दीपक बोहरा, मनिष झा, ज्वाला संग्रौला, शिव यादव, हरि ढकाल, आशिका तामाङ र पुरुषोत्तम यादवलगायत रहेका छन् ।
यस्तै आयोगले रक्षा बम, हेमराज थापा, विमल पन्त, खेमराज साउदलगायत जेनजी अभियन्तामाथि अनुसन्धान गर्न सिफारिस गरेको छ ।
सामाजिक सञ्जाल तथा युट्युबमार्फत आन्दोलनलाई उत्तेजित बनाएको आरोपमा विवेक थपलिया, सिसन बानियाँ, असिममान बस्नेत, अमनप्रताप अधिकारी, भाग्य न्यौपाने, टंक दाहाल र भिक्टर पौडेललगायत कन्टेन्ट क्रियटरमाथि पनि अनुसन्धान गर्न भनिएको छ ।
आयोगले विवादित मेडिकल व्यवसायी दुर्गा प्रसाईंदेखि पूर्वसचिव भीम उपाध्यायसम्मलाई अनुसन्धानको दायरामा ल्याउन सिफारिस गरेको छ ।
साथै उमेश बोहरा, विनोद देउवा, सरु सुनुवार, रविकिरण हमाल, निश्चल बस्नेत, पशुपति खड्का, ऊर्जा बराल, जेरी ताम्राकार, हेमसागर विद्रोही, बुद्ध छिरिङ, सन्तोष राजावादी, अमित खनाल, दीपक देवकोटा, गौरव बराल, हिमानी राज्यलक्ष्मी सिंह र निशान मैनालीमाथि समेत अनुसन्धान गर्नुपर्ने आयोगको निष्कर्ष छ ।
आयोगले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेलाई फौजदारी अभियोगमा कारबाही गर्न पनि सिफारिस गरेको छ ।
प्रतिवेदनमा जेनजी आन्दोलनका क्रममा नख्खु कारागारबाट कैदीबन्दी बाहिर पठाउने कार्यमा लामिछानेको संलग्नता रहेको दाबी गरिएको छ ।
आयोगले उक्त कार्य कारागार ऐन, २०७९ को दफा ४९ विपरीत भएको उल्लेख गर्दै कारागार प्रशासक सत्यराज जोशी तथा सांसद मनिष झा र हरि ढकालमाथि समेत अनुसन्धान गर्नुपर्ने जनाएको छ ।
प्रतिवेदनमा रवि लामिछाने र जेल प्रशासनका अधिकारीबीचको बयान बाझिएको उल्लेख गर्दै घटनामा योजनाबद्ध संलग्नताको आशंका गरिएको छ ।
आयोगले आफ्नो प्रतिवेदन कार्यान्वयन गर्न सरकार बाध्य रहेको पनि स्मरण गराएको छ ।
नेपालको संविधानको धारा २४९(२)(ङ) तथा राष्ट्रिय मानव अधिकार आयोग ऐन, २०६८ अनुसार आयोगले दिएको सिफारिस तीन महिनाभित्र कार्यान्वयन गर्नुपर्ने व्यवस्था रहेको उल्लेख गरिएको छ ।
आयोगले संयुक्त राष्ट्रसंघ, अन्तर्राष्ट्रिय दातृ निकाय तथा मानवअधिकार संस्थाहरूले नेपालका मानवअधिकार अवस्थाको मूल्यांकन गर्दा आयोगका प्रतिवेदनलाई आधार मान्ने भएकाले पनि प्रतिवेदन कार्यान्वयन महत्वपूर्ण रहेको जनाएको छ ।
साथै भविष्यमा संक्रमणकालीन न्याय, सत्य निरूपण तथा अदालत प्रक्रियामा समेत यो प्रतिवेदन महत्वपूर्ण प्रमाणका रूपमा प्रयोग हुन सक्ने आयोगको भनाइ छ।






















